लहान । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको सिराहाको लहानस्थित लहान अस्पताल भ्रष्टाचार र कमिशनको अखडा बनेको छ । एक बर्ष अगाडि खरिद गरिएका स्वास्थ्य सामाग्री प्रयोग नै नगरी पुन ः तिनै सामान खरिदका लागि बोलपत्र आव्हान गरिएपछि भ्रष्टाचार र कमिशनको खेल उदांगो भएको हो ।

लहान अस्पतालले एक बर्ष अगाडि आइसियुका लागि प्रयोग हुने एपिजी मेसिन खरिदका लागि टेन्डर आव्हान गरेको छ । मेडिकल सप्लायर्सहरुले भाद्र २२ गते मंगलबार दररेट सहित टेन्डर हालेका छन् । अस्पतालका एक कर्मचरीले दिएको जानकारी अनुसार आइसियुका लागि प्रयोग गरिने एपिजी मेसिन गत बर्ष नै खरिद गरिएको थियो । तर त्यसलाई प्रयोग नै नगरी स्टोरमा लगेर थन्क्याइएको छ । पुन ः सोही प्रकृतिको मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको छ, उनले भने । गत बर्ष लहान अस्पतालले दुई थान एपिजी मेसिन खरिद गरेको थियो । किन प्रयोग नगरी थन्क्याइयो थाहा भएन । हामी साना कर्मचारीलाई सबै कुरा थाहा हँुँदैन तर भ्रष्टाचार र कमिशनकै खेलमा पुन ः एपिजी मेशिन खरिद गर्न लागेको कर्मचरीहरु बीचमै चर्चा चलेको ती कर्मचारीले बताए । एउटै प्रयोजनका लागि गत बर्ष मेसिन खरिद गरिए पनि पुन ः खरिद गर्न लाग्नु भयो त भन्ने सवालमा जिज्ञासा राख्न अस्पताल निर्देशक वीरेन्द्रकुमार मण्डलसँग सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमै आउन चाहनु भएन । अर्का एक कर्मचारीले दिएको जानकारी अनुसार लहान अस्पतालमा चरम भ्रष्टाचार रहेको छ । प्रदेश सरकारले नै भ्रष्टलाई काखी च्यापेर हिँडेको अवस्थामा कस्ले कार्वाही गर्ने ? उनको प्रश्न थियो ।
यतिमात्र हैन लहान अस्पतालको दुर्गन्धले उपचारार्थ आउने विरामीहरु थप विरामी हुने अवस्था छ । अस्पतालको अगाडि जोसुकै पनि निर्धक्क दिशा पिसाब गर्छन् । अस्पतालको कम्पाउन्डभित्र रहेको ट्वाइलेट अस्पताल प्रशासनले बन्द गरिदिएको छ । ट्वाइलेट बन्द भएपछि विरामी तथा विरामीका आफन्तले विकल्पको रुपमा अगाडिको पर्खाल प्रयोग गर्नु नौलो होइन लहानका स्थानीय दिनेश यादवले भने । अस्पतालको चर्पी पूरै भरिएको छ, चर्पीबाट आएको गन्धले विरामीहरु नाक थुनेर अस्पताल छिर्न बाध्य छन् उनले भने । ट्वाइलेट मात्र होइन अस्पतालभित्रको अवस्था पनि दुर्गन्धित रहेको छ । अस्पतालका भित्ताहरु पान, गुट्खा खाएर थुकेर हेरिनसक्नु छ, अस्पताल परिषरमा खानेपानीको लागि गाडिएको चापाकल महिनौदेखि बिग्रिएको छ । अर्का स्थानीय जयदेव मण्डलले भने यो अस्पताल हो कि भ्रष्टाचार र कमिशन खाने अखडा हो ? महिनौदेखि अस्पतालजन्य फोहोर अस्पताल परिषरमा थुप्रिएको छ, प्रयोग भएका स्लाइनपानीका बोतलहरु जथाभावि फालिएका छन् । अस्पताल प्रशासन यस्तो दुर्गन्धित फोहोरप्रति वेवास्ता गरेर बसेको छ उनले भने । एकातिर चरम आर्थिक अनियमितता छ भने अर्कोतर्फ फोहोरको दुर्गन्धले अस्पताल परिषरमा छिरिसक्नु छैन । केही समय अगाडि अस्पतालभित्रको फोहोरलाई लिएर लहान नगरपालिकामा स्थानीयले गुनासो गरेपछि नगर प्रमुख महेश चौधरीको नेतृत्वमा अस्पतालको अनुगमन भएको थियो । उनले अस्पतालभित्रको फोहोर व्यवस्थापन, ट्वाइलेटको उचित प्रबन्ध गर्न निर्देशन दिएपनि अस्पताल प्रशासनले हालसम्म कुनै वास्ता नगरेको मण्डलले बताए । मधेश प्रदेशको सुविधा सम्पन्न अस्पतालको रुपमा विकसित गरिएको ढ्वाङ फुकेपनि लहान अस्पतालमा सम्बन्धित रोगका डाक्टरहरु नै नरहेको स्वयम् अस्पताल प्रशासनले स्वीकारेको छ । रात्रीकालीन उपचारका लागि वा इमरजेन्सीमा आएका विरामीहरुलाई इन्टर्न सीपमा विभिन्न ठाउँबाट आएका विद्यार्थीहरुले उपचार गर्नुपरेको छ । यतिमात्र होइन सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको ७० प्रकारका कुनै पनि औषधि अस्पतालले हालसम्म विरामीहरुलाई उपलब्ध गराएको छैन, अस्पतालकै एक कर्मचारीले बताए ।
