धरान । धरानका मेयर हर्क साम्पाङले धरानलाई सफा र सुग्घर धरान बनाउने अभियानमा लागे पनि नागरिक स्तरबाट जनचेतना नभएकै कारण पूरा गर्न कठिन भएको छ ।
निर्वाचित भएवित्तिकै धरानको मुटु भानुचौकमा आफै सरिक भएर सरसफाई गरेका साम्पाङले त्यसपछिका दिनमा पनि निरन्तर सरसफाइमा जुट्नुभएको छ । साम्पाङ मेयर भएको १ सय दिन कतिसक्दा समेत समस्या समाधान भएको छैन ।

धरानमा मेयर साम्पाङमात्र हैन यहाका सामाजिक अभियन्ताहरुले पनि सरसफाई निरन्तर गरिरहका छन् । यसै क्रममा हरेक सोमबार सेवक अभियानले धरानमा शुरु गरेको पदयात्रासँगै फोहोर पनि संकलन गर्ने अभियान वाकिङ विथ क्लिनिङ एक सय हप्ता पुगेको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा मेयर साम्पाङले नागरिक चेतना नबढेसम्म स्वच्छ धरान, सफा धरान असम्भव भएको बताउनुभयो । उहाले गुट्का खाने, चाउचाउ खाने तर डस्विनमा नफाली सडकमै फाल्ने प्रवृत्ति अझै भएको बताउदै धरानलाई सफा सहर बनाउन नागरिक आफै सचेत नभएसम्म सम्भव नहुने बताउनुभयो ।
सेवक अभियान एक सय हप्ता पुगेको अवसरमा धरानको सिंहदेवी चौधदेखि दन्तकली मन्दिरसम्म सरसफाई गरिएको थियो । धर्मिक क्षेत्रमा समेत जताततै फोहोर फालिएको पाइएको थियो । धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले ठाउँठाउँमा डस्विन र फालिएको फोहोर व्यवस्थापन गर्न दीर्घकालीन डम्पिन नभएसम्म केही नहुने बताउनुभयो । सरसफाईमा सहभागी नेपाली काँग्रेसका पूर्व नगर सभापति किशोर राईले फोहोर व्यवस्थापना अब नगरपालिकाले नीति नै बनाएर लानुपर्ने बताउनुभयो ।
कार्यक्रममा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, पुर्वमेयर तिलक राई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, मितेरी बैंकमा सिईओ तुलसीप्रसाद वस्ती लगायतको सहभागिता रहेको थियो ।
