धरान । चारधाम मध्ये नेपालमा पर्ने हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र बराहक्षेत्र धाममा निर्माण भइरहेको अनुष्ठान तथा प्रवचन गर्न सक्ने स्टेज तथा बाथरुम र १४ कोठाको आवासीय प्रवचन हल निर्माण सहयोगका लागि धरानमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धरानको गीता मन्दिरमा शुरु भएको छ ।

भदौ १८ गतेबाट शुरु भएको सो महायज्ञको पहिलो दिन हिजो शनिवार शान्ति शोभायात्रा र मण्डप पूजा सम्पन्न भएको छ । भाद्र २९ गतेसम्पन्न हुने महायज्ञको उद्देश्य नै बराहक्षेत्रमा निर्माण भइरहेको भौतिक संरचनालाई सहयोग गर्ने रहेको महायज्ञ आयोजकका मुल संयोजक पितरुमल अग्रवालले बताउनुभयो । धार्मिक अनुष्ठानमा सहयोग पुगोस् भन्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको संयोजक अग्रवालले जानकारी दिनुभयो ।
एक हप्ते महायज्ञमा पण्डित योगेश भण्डारी, पण्डित श्याम पौडेलबाट कथावाचन र पाठपरायण हुने छ । नेपालकै प्रसिद्ध धार्मिक स्थल सुनसरीको बराहक्षेत्रमा रहेको बराहक्षेत्रधाममा अझै पनि भौतिक पूर्वाधार नहुदा त्यहाँ धार्मिक अनुष्ठान लगायत आउने भक्तजनहरुलाई असुविधा रहेकोले यो महायज्ञबाट केही सहयोग पुग्ने अपेक्षा पण्डित योगेश भण्डारीले बताउनुभयो । कोकाहा कौशिकी संगम स्थलमा रहेको यो धामसम्म पुग्न विगतमा अप्ठेरो भएपनि अहिले सडक निर्माणका कारण सहज भएको छ । तर अझै पनि त्यहा भौतिक पूर्वाधारको कमी भएकै कारण निर्माण हुन लागेको् भवनको सहयोगार्थ महायज्ञ लगाउन शुरु गरिएको हो । कलशयात्राको पहिलो दिन पण्डित पुरुषोत्तम भट्टराईलाई सम्मान समेत गरिएको छ । महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समितिहरु समेत गठन गरिएको छ ।
