झापा । झापाको दमक नगरपालिका–८ बाट अवैध कपडा सहित २ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो साढे एक बजे बिषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक सहितको टोलीले दमकको पशुहाट डाँडाबाट पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा सामानसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रदेश १–०१–००१ ज ३४३८ नम्वर र मे. १ ज २८०४ नम्वरको पिकअप गाडीमा भन्सार छलेर अवैधरुपमा ल्याएका कपडाहरु बरामद गरेको हो । बरामद गरिएको करिव २२ लाख ६ हजार मुल्य बरावरको कपडा सहित २ वटा पिकप गाडी र दुवै सवारी चालकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरि सोही दिन दिउसो साढे २ बजे इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–३ राजगढ बजारको पशुहाटकोा खाली सार्वजनिक स्थानमा भन्सार छलेर अवैधरुपमा भारतबाट नेपालमा ल्याएर राखेको २ हजार किलोग्राम (४० बोरा) चिनी बरामद गरेको छ । बरामद गरेको चिनी आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
