गठबन्धनप्रति का“गेसका कार्यकर्ताको आक्रोस

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भएसँगै नेपाली काँग्रेसका कार्यकर्तामा उदासीनता, हिनताबोध, नेतृत्वप्रति आक्रोसँगै मतदान प्रक्रियामा भागै नलिने, भाग लिएपनि गठबन्धन भन्दा बाहेकका दललाई मतदान गर्ने प्रवृत्ति बढ्न थालेको छ ।
आम नेपाली काँग्रेसका कार्यकर्ताहरुले काँग्रेस नेतृत्वलाइ गठबन्धनको औचित्य पुष्टि गर्न चुनौति दिन थालेका छन् । तर आफ्नै कार्यकर्ताको यो मनोभाव वर्तमान काँग्रेसको नेतृत्वले मनन् गर्न सकेको छैन । कार्यकर्ताको मनोभाव बुझ्ने दिशामा नेतृत्व जाने संकेत पनि छैन । खास गरेर पार्टी सभापतिमा निरन्तर सत्ता प्राप्तिको भूत सवारले नेपाली काँग्रेस पतनोन्मुख भइरहेको छ ।
हुन त सभापतिको विगत पनि सम्झने लायक र प्रशंसा गर्ने लायकको कहाँ छ र ? सत्तामोहकै कारण उनले प्रजातन्त्र दरबारमा बुझाएकै हुन्, निर्वाचन गराउन नसकी म्याद थप्दै प्रधानमन्त्रीको आयु बढाउन खोज्दा अक्षम घोषित भएकै हुन्, पार्टीभित्र ४० प्रतिशत भागबण्डा नपाउँदा नेपाली काँग्रेस टुक्र्याएर अलग पार्टी गठन गरेकै हुन्, उनले गठन गरेको पार्टीले मुलुकभरि कहीँ कतै एक स्थान पनि जित्न नसक्ने भएपछि रातारात गिरिजाप्रसाद कोइरालाका अगाडि त्वम् शरणम् गरेर भित्रिएकै हुन्, आफू अनुकूलको फैसला नभएपछि प्रजातान्त्रिक आन्दोलननको शिखर, महिला पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीकै विरुद्धमा अविस्वासको प्रस्ताव ल्याएकै हुन्, परमादेशबाट आफूलाई प्रधानमन्त्रीमा स्थापित गराउने प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जबराका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याएकै हुन्, प्रधानमन्त्रीमा साथ दिएको गुण तिर्न रातारात माधवकुमार नेपाललाई बालुवाार जग्गा भ्रष्टाचार प्रकरणबाट चोख्याएकै हुन् । सविधानले स्पष्टसँग पार्टी विभाजन हुने ४० प्रतिशत संख्यालाई अध्यादेश ल्याएर २० प्रतिशतमा पार्टी विभाजनको घिनलाग्दो खेल खेलेर माधव नेपालको पार्टीलाई निर्वाचन आयोगमा दार्ता गराएपछि अध्यादेश निस्कृय बनाएकै हुन् । भ्रष्टाचारलाई प्रश्रय दिएकै हुन्, भएका उद्योग कलकारखाना बन्द गराएर युवा पलायन गराएकै हुन् ।
आम नेपाली काँग्रेसका कार्यकर्ताले यी यावत कुरालाई विर्सिएर पनि काँग्रेसको संगठनमा पसिना बगाउँदै आएका छन् । यसको प्रमुख कारण नेपाली काँग्रेस ऐतिहासिक, प्रजातान्त्रिक पार्टी हो र भालिका दिनमा नेतृत्वले सुधार गर्ला भनेर नै हो । तर कुकुरको पुच्छर १२ बर्षसम्म ढुंग्रोमा हाल्दा पनि बाँगाको बाँगै । न नेतृत्वले आफ्नो चरित्र सुधा¥यो न मुलुकको समृद्धिमा कुनै ठोस कदम चाल्यो । देशभरिका आम नेपाली काँग्रेसका कार्यकर्ताले यति छिटो विर्सेका छैनन् कि हिजो कथित जनयुद्धको नाममा हजारौ काँग्रेसकै कार्यकर्ताको हत्या गर्नेसँग नेतृत्व लम्पसार पर्छ र त्यो केवल पद प्रतिष्ठा आर्जनकै लागि मात्र हुन्छ भने सधै चूप लागेर बस्ने कुरा पनि आउँदैन । संसारमा अन्य देशमा पनि फरक दलबीच गठबन्धन हुन्छ तर त्यो सत्ताको लागि मात्र हुँदैन । यहाँ त निर्वाचन क्षेत्र बाँडफाँडमै भागबण्डा गरेपछि काँग्रेस भएर अरुलाई मतदान गर्नुको औचित्य के रहन्छ ?

तपाईको प्रतिक्रिया