मध्यपहाडी लोकमार्गको पाँचथर चिवा भन्ज्याङ्ग सडक खण्डको ६० किमीमध्ये ९ किमी कालोपत्रे गणेशचौक भोजपुर चखेवा भन्ज्या· ३५६ किमीमध्ये १५८ किमी कालोपत्रेसँगै १७ पुल निर्माण

पाँचथर । मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु भारतको सिक्किम राज्यसँग सीमा जोडिएको पाँचथरको चिवा भन्ज्याङ्ग सामरिक दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण रहेको छ । पाँचथरको गणेशचौक चिवा भन्ज्याङ्गको दूरी ६० किमी रहेको छ । मध्यपहाडी लोकमार्ग फिदिम भोजपुर सडक खण्डका प्रमुख इन्जिनियर दानकुमार शाक्यका अनुसार ६० किमीमध्ये गणेश चौकबाट थर्पु दोरिम्बासम्मको ९ किमी सडकको कालोपत्रे भइसकेको छ भने ५१ किमी सडकको कालोपत्रे हुन बाँकी रहेको छ ।


गणेशचौक टिप्तला भन्ज्याङ्ग सडक कालोपत्रेका लागि तीन प्याकेजमा काम भइरहेको छ । एउटै व्यक्तिले तीनवटै प्याकेजको ठेक्का लिएको हो । जसमा दुई वटा रोशन त्रिशक्ति जेभी र अर्को सन्तोषी जेभी रहेको छ । प्रमुख शाक्यका अनुसार यतिबेला गणेशचौकबाट चिवा भन्ज्याङ्गसम्म फोर ह्वीलका गाडीहरु जान्छन् । बर्षाको समयमा केही स्थानमा पहिरोले बाटो भत्काएको छ । गणेशचौकबाट शुरु भएको सडक चिवाभन्ज्याङ्गमा सिक्किमसँगको जिरो प्वाइन्टमा जोडिन्छ । नेपालतर्फबाट चिवाभन्ज्याङ्ग सम्मको ट्रयाक २०७० मै खनेको थियो । तर भारतले २०७७ माघमा मात्र सडकको ट्रयाक खोलेको हो । तर उनीहरुले आफ्ना तर्फ कही कतै पिच गरेका छैनन् । सिक्किमतर्फ कान्जीरोवामा नेशनल पार्क छ । जंगल भन्दा केही पर भारतीय सेना बस्ने क्याम्प बनेको छ । नेपाल भारतको दशगजाभित्रै चिवा भन्ज्याङ्ग भन्दा केही माथि भारतीय सेनाले संरचना बनाएको छ । त्यस ठाउँमा संरचना बनाउन नपाउने भएपनि उनीहरुले संरचना बनाएको प्रमख शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो उनीहरुले धेरै बर्ष अगाडि नै ती संरचना बनाएका हुन् । नेपालतर्फबाट त्यस ठाउँसम्म कोही पुग्दैनन थिए । भेडी गोठाला, याक चौरी गोठालाहरु मात्र पुग्थे । अत्यन्तै विकट र चिसोका कारण पनि त्यस ठाउँसम्म पुग्न सहज थिएन । त्यस ठाउँमा भएका सीमा पिल्लरहरु समेत अत्यन्तै जीर्ण अवस्थामा रहेका छन् । एक बर्ष अगाडि सशस्त्र प्रहरी बलले चिवाभन्ज्याङ्गमा बोर्डर आउट पोस्ट
(विओपी) राखेको छ । तर उनीहरुका लागि चाहिने पूर्वाधार केही छैन । राशन लगायतका सामाग्रीका लागि सिक्किमको उत्तरे बजार पुग्नुपर्छ । चिवाभन्ज्याङ्गबाट सिक्किमको उत्तरे बजार पुग्न पैदल ४ घण्टा लाग्छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) को शुरुवाती विन्दु चिवाभन्ज्याङ्गदेखि भोजपुरको चखेवा भन्ज्याङ्गसम्मको सडक फिदिम सेक्टरले हेर्दै आएको छ । पाँचथरको गणेशचौकबाट जोरसालसम्म ४० किमी, जोरसालबाट तमोर ११ किमी, तमोरबाट सक्रान्ति २५ किमी, संक्रान्तिबाट म्याङलुङ ७८ किमी, म्याङ्गलुङ्गबाट बसन्तपुर २६ किमी, बसन्तपुरबाट हिले २२ किमी, हिलेबाट लेगुवा २६ किमी, लेगुवाबाट भोजपुरको देउराली ६६ किमी र देउरालीबाट चखेवा भन्ज्याङ्ग ४२ किमी रहेको प्रमुख इन्जिनियर दानकुमार शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरको चखेवा भन्ज्याङ्गदेखि देउरालीसम्म को ४२ किमी सडक पिच भइसकेको छ । बीचमा ६६ किमी सडक एडिवीले बनाएको थियो । लेगुवाघाटदेखि हिलेसम्मको १६ किमी कालोपत्रे भइसकेको छ । बसन्तपुर–म्याङलुङसम्मको २५ किमी पनि पिच भएको छ भने अरु ग्राभेल स्तरमा रहेको छ । यसैगरी जोरसालदेखि तमोरसम्म ११ किमी र गणेशचौकबाट अगाडि १० किमी समेत कालोपत्रे भइसकेको छ । गणेशचौकदखि भाजेपुरको चखेवा भन्ज्याङ्गसम्मको ९७ किमी कालोपत्रे सडक सडक डिभिजनलाई बुझाउने तयारी भएको छ । यद्यपि ३५६ किमी सडकमध्ये १४७ किमी सडक कालोपत्रे भइसकेको छ । आयोजनाका इन्जिनियर हिमाल काफ्लेका अनुसार यो सडक अन्तर्गत १९ वटा पुल मध्ये १७ वटा तयार भइसकेका छन् भने दुईवटा निर्माणाधीन अवस्थामा रहेका छन् ।

तपाईको प्रतिक्रिया