प्रा.डा. आनन्द प्रसाद आचार्य
केही बर्ष अगाडि धरानको सैनिक भवनमा भएको नेपाली काँग्रेसको एक कार्यक्रममा आउनु हुँदा प्रदीप गिरीले भन्नुभएको थियो ‘नेपालका सांसद, मन्त्रीहरु पजेरो किनेर पतन भएका होइनन् पतन भएर पजेरो किनेका हुन ।’ त्यसबेला हालका प्रधानामन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए । देउवाले नै राज्यकोषको दुरुपयोग गरी मन्त्री, सांसदहरुलाई विना भन्सार पजेरो, प्राडो किन्ने सँस्कृति भिœयाएका थिए । ती पजेरो र प्राडो मन्त्री, सांसदले विभिन्न एनजिओ, आइएनजिओ, व्यापारिक घरानाहरुलाई भाडामा दिएर करोडौ कुम्ल्याएका थिए । गिरीले त्यसलाई लिएर व्याङ्ग्य गर्नुभएको थियो ।
नेपाली राजनीतिका दुर्लभ व्यक्तित्व प्रदीप गिरी अब हाम्रा माझ रहनु भएन । समकालीन नेपालको राजनीतिमा प्रदीप गिरी जस्तो व्यक्तित्व अब पाउन सकिँदैन । उहाँको नश्वर शरीरले भाद्र ४ गते शनिवारदेखि विश्राम लिएको छ । झण्डै चार दशक भन्दा अधिक समयदेखि म प्रदीप दाइको सानिध्यतामा थिएँ । उहाँ स्वतन्त्र रुपमा बस्न रुचाउने स्वभावको हुनुहुन्थ्यो । कसैको नियन्त्रण उहाँलाई स्वीकार्य हुँदैन थियो । उहाँ आफ्नो विचार र स्वभाव दुवैमा स्वतन्त्र हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसभित्र पठन र लेखनको संस्कृति कमजोर छ । तर गिरी पढ्न थालेपछि ६÷७ घण्टा वितेको पत्तै पाउनुहुन्थेन ।, कहिलेकाही उहाँ रातभरि पढेर जागै बस्नुहुथ्यो । त्यो उहाँको विशेषता थियो । उहाँलाई राजनीति मात्र होइन हरेक पक्षको ज्ञान थियो । उहाँ नेपालका कम्युनिस्टहरुलाई समेत थाहा नभएको माक्र्सवादी राजनीतिको व्याख्खामा निपूर्ण हुनुुहुन्थ्यो । माक्र्स एक अध्ययन, समाजवादी एक चिन्तन जस्ता पुस्तक पनि उहाँले प्रकाशित गर्नुभएको छ । उहाँका अन्य दर्जनौ पुस्तकहरु छन् र सबै ओजपूर्ण रहेका छन् । नेपालका हरेक बामपन्थीहरुले प्रदीप गिरीलाई गुरु नै मान्थे । अन्य राजनैतिक पार्टीहरुले पनि अत्यन्तै सम्मान गर्थे, उहाँको वाकपटुता पनि विचित्र खालको थियो, तत्कालै उदाहरण दिएर बोल्न सक्ने । फण्डामेन्टल कुरा त के छ भने उहाँ सदैव ग्रासरुटका कार्यकर्ताहरुसँग बस्न रुचाउनु हुन्थ्यो । उहाँलाई धेरै पटक मन्त्रीको अफर गरियो तर उहाँले त्यसलाई बहिष्कार गर्नुभयो । मन्त्री भएपछि नियम, फर्मालिटी, औपचारिकतामा बस्नुपर्छ, स्वतन्त्र जीवन गुम्छ भन्ने उहाँको धारणा थियो । अक्सर उहाँ बसेका ठाउँमा गाउँ (देहात) बाट धोति, कछाड, मैलो लुगा लगाएका, पसिना गन्हाएका मानिसहरुको भीड हुन्थ्यो । उहाँ ती सबैसँग निकट रहेर सौहार्दपूर्ण रुपले मैथिली भाषामा बोल्नुहुन्थ्यो । उहाँको त्यस जनमुखी चरित्रबाट म औधी प्रभावित भएको थिएँ ।

प्रदीप दाइसँग मेरो पहिलो भेट २०३० साल वैसाखमा बनारसमा भएको थियो । म त्यसबेला बनारस आउने जाने गरिरहन्थे । त्यसबेला म दौतरी साहित्यिक पत्रिका निकाल्न बनारस गएको थिएँ । उहाँको नाम मैले पहिलादेखि नै सुन्दै आएको थिएँ । उहाँ आनन्द इश्वर मुद्रणालय (प्रेस) खोलेर बस्नु भएको थियो । मेरो साहित्यिक पत्रिका छाप्ने जिम्मा उहाँले नै लिनुभयो । सात दिनमा सकिने काम भएपनि उहाँको राजनैतिक प्रभावले म एक महिनै बनारस बसेँ । पत्रिका प्रकाशित भएपछि बनारसका विद्वान जोधनाथ सिंहबाट विमोचन गराई आजतक लगायतका पत्रपत्रिकामा समाचार समेत प्रकाशित गराउन लगाइ दिनुभयो । नेपालके दौतरी पत्रिकाकाके विमोचन भनेर्रै उहाँले विमोेचन गराइदिनु भएको थियो । हामीबीच सम्बन्ध अत्यन्तै गाढा थियो । २०३६ सालमा उहाँ काठमाण्डौ आएर पुतली सडकमा डेरा लिएर बस्नुभयो । उहाँको डेरा पार्टीका समाजवादी कार्यकर्ताहरुको भेटघाटको थलो थियो । त्यही क्रममा उहाँले आफ्नै सम्पादनमा समता भन्ने पत्रिका प्रकाशन गर्नुभयो । म लगायत अन्य साथीहरु त्यही पत्रिकामा काम गर्न थाल्यौं । पार्टीभित्र मूल्य मान्यताको राजनीति हुनुपर्छ भनेर उहाँ जहिल्यै जोड दिनुहुन्थ्यो । गिरीको निकटता गणेशमान सिह, कृष्णप्रसाद भट्टराईसँग थियो जसका कारण म लगायत अन्य साथीहरु जो गिरीसँग् सम्कर्पमा हुनुहुन्थ्यो उहाँहरुको सम्बन्ध पनि भट्टराई र सिंहसँगै भयो । पछि उहाँ थापाथली सर्नुभयो । श्रीमति भारती सिलवालले थापाथलीमा मिडिया वल्र्ड भन्ने संस्था चलाउनु
हुन्थ्यो । विचार चिन्तनको राजनीति गर्ने लेखपढमा रुची राख्ने, साहित्यमा अभिरुचि राख्ने देशभरिका काँग्रेस कार्यकर्ता उहाँसँग नजिक थिए । (नेपाल काँग्रेसका प्रवुद्ध व्यक्तित्व, बीपी चिन्तन प्रतिष्ठान सुनसरीका अध्यक्ष प्रा.डा. आनन्द प्रसाद आचार्यसँगको कुराकानीका आधारमा)

