दमक । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक निर्वाचन क्षेत्रमा ६४ अर्ब चिनियाँ लगानीमा बन्ने भनिएको औद्योगिक पार्क अन्यौलमा परेको छ । पूर्व प्रधानमन्त्री ओलीले नेपाल–चीन औद्योगिक पार्क (दमक औद्योगिक पार्क) को २०७७ साल फागुनमा बडो तामझामका साथ शिलान्यास समेत गरेका थिए । तर ओली २०७८ असारमा बहिर्गमन भएसँगै दमक स्थित औद्योगिक पार्क व्यवस्थापन कार्यालय बन्द हुन पुगेको छ भने अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका लागि सरकारले बजेट नै नछुट्याएपछि औद्योगिक पार्क निर्माण कार्य अन्यौलमा परेको हो ।
नेपाल सरकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नेपाल चीन इण्डष्ट्रियल पार्कका लागि २२ सय विगाहा जमिन प्रस्ताव गरेकोमा १९ सय विगाहा जग्गा लिमिटेडको नाममा आएपनि थप अधिग्रहण गरिएको जग्गाको मुआब्जा विवाद, एक सय घर दलित, सुकुम्बासी, आदिवासी धिमालको रहेकोले उनीहरुलाई हँटाउन तथा जग्गाको सट्टाभर्ना, मुआब्जा वितरणमा वर्तमान गठबन्धन सरकारले कुनै पहल नगरेको, असमान मुआब्जा वितरण विरुद्ध संघर्ष गर्दै न्यायालय पुग्नु भएका करणसिंह बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो यतिबेला नेपाल चीन इण्डष्ट्रियल पार्कका सम्बन्धमा दमकमा चर्चा नै हुन छाडेको छ । उहाँले भन्नुभयो दमकमा औद्योगिक पार्क बन्नु पर्छ भन्ने कुरामा काँग्रेस, एमाले सकारात्मक भएपनि आगामी मंसिर ४ गते हुने निर्वाचनपछि मात्र कामलाई अगाडि बढाउने मनस्थितिमा छन् । उहाँले भन्नुभयो चार बर्ष अगाडि जग्गाको असमान मुआब्जा वितरणलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि मुद्दाको पेशी कहिल्यै चढ्दैन र चढिहाले पनि हेर्न नमिल्नेमा
राखिदन्छन् । उहाँले भन्नुभयो अहिले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सबै कर्मचारी सरुवा भएर गइसकेका छन्, व्यवस्थापन समितिको कार्यालय नै छैन । उहाँले भन्नुभयो, औद्योगिक पार्कका नाममा दुई चार जनाले करोडौ कमाए । एमालेहरु भन्छन्, हाम्रो सरकार हुँदा मुआब्जा वितरणका लागि बजेट ल्याएका थियौ अहिले हाम्रो सरकार नभएकोले ल्याउन सकेनौं । यस सम्बन्धमा दमक औद्योगिक पार्क व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापासँग बारम्बर सम्पर्क राख्दा पनि सम्पर्क हुन सकेन ।
मेयर सहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझायो
दमक औद्योगिक पार्कले अधिग्रहण गरेको जग्गाको हालसम्म एकसय भन्दा बढी परिवारले मुआब्जा नपाएपछि दमक नगरपालिकाका प्रमुख राम थापाको नेतृत्वमा श्रावण १९ गते काठमाण्डौ गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएको छ ।
आफ्नो थोरै जग्गा जमिनमा आश्रित परिवारले विगत चार बर्षदेखि खनजोत गरी बालीनाली लगाउन नपाउँदा त्यस्ता परिवारले दैनिक गुजारा चलाउन मुस्किल परेको भन्दै अधिग्रहण गरिएको जग्गाको चाँडै न्यायोचित ढंगले, मालपोतले गरेको मूल्यांकनका आधारमा मुआब्जा दिनुपर्ने वा उनीहरुलाई जग्गाको सट्टाभर्ना दिनुपर्ने प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको प्रमुख थापाले जानकारी दिनुभयो । प्रस्तावित दमक नगरपालिका वडा न. १०, कमल गाउँपालिका वडा नं. ८ र गौरादह नगरपालिका वडा नं. ६ को सीमानामा बन्ने भनिएको दमक औद्योगिक पार्क बन्छ त भन्ने सवालमा प्रमुख थापाले भन्नुभयो खै हल्लामात्र बढी भएको छ । काम केही पनि भएको छैन । पहिला ओली प्रधानमन्त्री हुँदा चिनियाँ टोलीको आइजाई भएको देखिन्थ्यो । तर पछिल्लो एक बर्ष यता त्यस्ता चिनियाँ टोली कोही पनि आएका छै्रनन् । उहाँले भन्नुभयो औद्योगिक पार्कको नाममा एकथरिले कुस्त कमाए । अब अहिले चर्चा पनि छैन ।
पहिलो चरणमा ६४ अर्ब लगानी
दमक औद्योगिक पार्कका लागि पहिलो चरणमा ६४ अर्ब लगानी गर्न लगानी बोर्डले स्विकृत दिएको थियो । चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जीन पिङ्ग ज्वाइन्ट क्रिएसन कस्ट्रक्सन प्रोजेक्टले उक्त रकम लगानी गर्ने भएका थिए ।
औद्योगिक पार्क निर्माण भएपछि चीनमा रहेका वहुराष्ट्रिय कम्पनीहरु औद्योगिक क्षेत्रमा ल्याउने योजना रहेको थियो । चीनमा भएका सवारी साधन, मोवाइल फोन, विद्युतीय सामाग्री नेपालको दमक औद्योगिक पार्कमा ल्याउने भएको थियो । एक किमी चौडाई र नौ किमी लम्बाईमा बन्ने औद्योगिक पार्कबाट उत्पादित सामान भारतको नजिक रहेको कोलकोत्ता बन्दरगाहबाट अन्य मुलुक निर्यात गर्ने योजना बनेको थियो । पार्क बनेको ४० बर्ष सम्म चिनियाँले चलाउने र नेपाललाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।


