धरान । नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित भारत सरकारको २ करोड ५० लाखको आर्थिक सहयोगमा त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको नव निर्मित भवनको श्रावण १७ गते मंगलबार उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका सभापति राजिन्द्रविक्रम सिंह ठकुरीले नव निर्मित भवनको संयुक्त रुपले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात जिल्ला समन्वय समितिले उक्त नवनिर्मित भवन विदुर नगरपालिकालाई स्वामित्व हन्तारण गरेको थियो ।

सो अवसरमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, स्थानीय राजनैतिक पार्टीका नेताहरु, शिक्षाविद्, नेपाल सरकारका विभिन्न तह र तप्काका कर्मचारी, नागरिक समाजका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयहरुको उपस्थिति रहेको थियो । भारत नेपाल सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा सामुदायिक विकास परियोजनाको रुपमा विद्यालय भवन निर्माण भएको हो । यो परियोनजा भारत सरकारको सहयोगमा बनेका अन्य परियोजना झै भारत स्वतन्त्र भएको ७५ औँ बर्ष उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस बर्ष नेपालमा उद्घाटन गरिर्ने ७५ परियोजना मध्येको एक हो । विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जल विद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के आइ सिंहले विद्यालयको डिजाइन गरेका थिए । उक्त विद्यालयमा हाल १३४३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् जसमा ६० प्रतिशत छात्राहरुको संख्या रहेको छ । भारत सरकारको सहयोगमा निर्माण भएको उक्त संरचनाले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास जिल्ला समन्वय समिति नुवाकोटका सभापति ठकुरीले विश्वास व्यक्त गर्नुभयो । निर्माण सम्पन्न भएको उक्त परियोजनाले भारत र नेपालबीच लामो समयदेखि रही आएको आपसी सहकार्यलाई प्रतिबिम्बित गरेको भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले बताउनुभयो । यहाँ स्मरणीय कुरा के छ भने सन २००३ यता भारत सरकारले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक परियोनजाहरु अगाडि बढाएको छ । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी, कनेक्टीभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा ४७० वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । तीमध्ये नुवाकोट जिल्लामा ७ वटा गरी बागमति प्रदेशमा १०३ वटा रहेका छन् ।
