खापुङ्गको भाषा, साहित्य र सँस्कृति मोह

विराटनगर । प्रदेश न. १ का प्रमुख पर्शुराम खापुङ्गले भानु जयन्तिका अवसरमा दिएको गहकिलो अभिव्यक्तिले उनमा भाषा, साहित्य र संँस्कृतिप्रतिको मोह झल्काएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तिका अवसरमा प्रदेश प्रमुख खापुङ्गले देशभित्र बोलिने जुुनसुकै भाषा, जुनसुकै सँस्कृति र जनुसकै साहित्य होस् त्यो देशको सम्पत्ति भएको बताउनु भएको छ ।


भानुकला केन्द्र विराटनगरद्वारा आयोजित वहुभाषिक कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बारम्बार भाषा, साहित्य, सँस्कृति देशको सम्पत्ति भएकोले यसको जगेर्ना गर्न सबै लागि पर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । प्रमुख खापुङ्गले भन्नुभयो नेपालीहरुमाझ वहु भाषा, वहु सँस्कृति भए पनि दब्रिलो एकता छ । यसले हामी बीचको एकतालाई बलियो बनाएको मात्र छैन लोकतन्त्रलाई समेत बलियो बनाएको खापुङ्गको धारणा रहेको थियो । हरेक जातजातिको भाषा, सँस्कृति,साहित्य पहिचानको मानकमात्र नभएर वहुमूल्य नीति पनि हो । तसर्थ विना पूर्वाग्रह, भेदभाव सबै एक अर्काका भाषा, साहित्य, सँस्कृतिको जगेर्नामा लाग्दा नै राष्ट्रिय एकता बलियो हुन्छ, खापुङ्गले भन्नुभयो । भानुकला केन्द्रकी अध्यक्ष माया देवी पौड्याल, साहित्यकार एवम् समालोचक दधिराज सुवेदी र सम्मानितन हुनु भएका घनश्याम नेपालले भाषा, सँस्कृति र साहित्यले मुलुकको सम्पन्नता झल्कने बताउनुभयो । भाषा, सँस्कृति र साहित्य मुलुकको मेरुदण्ड भएको कुरामा उहाँहरुले जोड दिनुभयो । कार्यक्रममा प्रदेश नं. १ का प्रमुख पर्शुराम खापुङ्गले यस बर्षको भानु पदकबाट डा. घनश्याम न्यौपाने, डा. विजय पण्डित, भानु पत्रकारिताबाट मोहन मानन्धर, स्वर्गीय बरिष्ठ कलाकार चतुर्भुज आशावादी सम्मानबाट मातृकाप्रसाद संग्रौला र मिलनसिंह मधुर र राम किशोर उपाध्यायलाई भानुपदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा ताजपुरिया, तामाङ्ग, चाम्लिङ्ग राई, मैथिली, उर्दु, मगर, भोजपुरी, लिम्बु, राजवंशी भाषामा कवि तथा कवियत्रीहरुले कविता वाचन गरेका थिए । भानुकला केन्द्रले हरेक बर्ष भानु जयन्तिको अवसरमा वहुभाषिक कविता गोष्ठीको आयोजनासँगै स्रस्टा सम्मान कार्यक्रम समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया