भारत सरकारको आर्थिक सहयोगमा सिन्धुलीमा टेक्निकल इस्टिच्युट भवन निर्माण

सिन्धुली । भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ मा निर्मित सिन्धुली सामुदायिक टेक्निकल इस्टिच्युट भवनको गत मंगलबार एक समारोहबीच समुद्घाटन गरिएको छ । नेपाल स्थित भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ्ग लामाले नवनिर्मित टेक्निकल इस्टिच्युट भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।


भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत  भारत सरकारको ४ करोड ४१ लाखको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । नव निर्मित यो परियोजना भारत स्वतन्त्र भएको ७५औं बर्षको उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत रहेको र चालु आर्थिक बर्षमा नेपालमा उद्घाटन गरिने ७५ परियोजनामध्येकै एक हो । सिुन्धुली सामुदायिक टेक्निकल इस्टिच्युटको स्थापना सन् २०१४ मा भएको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदार संस्थाको रुपमा रहेको उक्त इस्टिच्युटले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ । यसैगरी सिन्धुली सामुदायिक टेक्निकल इस्टिच्युटले काठमाण्डौ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा समेत सञ्चालन गर्दै आएको छ । उक्त इस्टिच्युटमा हाल २९२ जना भन्दा बढी विद्याथीहरु अध्ययनरत रहेका छन् । जसमा ३० प्रतिशत छात्राहरुको संख्या रहेको छ । भारत सरकारको सहयोगमा भएको नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण निर्माण गर्ने दुतावासका द्वितीय सचिव वसन्तकुमार सोनाले विश्वास व्यक्त गर्नुभयो । यहाँ स्मरणीय कुरा के छ भने सन् २००३ यता भारत सरकारले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाएकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टीभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाको क्षेत्रमा गरी नेपालका सातवटै प्रदेशमा ४७० वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । ती मध्ये सिन्धुली जिल्लाका ४ वटा गरी बागमती प्रदेशमा १०३ वटा परियोजनाहरु रहेका छन् । नेपाल र भारत बीचमा वहुपक्षीय विकास साझेदारी रहँदै आएको छ । यस्ता वहुपक्षीय साझेदारी कार्यक्रमले दुईदशेबीचको जनतालाई थप निकट बनाएको जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ्ग लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया