जबरजस्ती राजनेैतिक नेतृत्वले भागबण्डा पु¥याउन लादिएको र औचित्यहीन सावित भइसकेको प्रदेशको नाममा समेत सहमति जुटाउन नसक्ने प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको केही दिन अगाडिको अभिव्यक्ति खेदजनक रहेको छ । प्रदेश एकको नाम किराँत वा किराँत लिम्बुवान राख्नुपर्ने भन्दै दबाब दिँदै आएका खम्बुवान र लिम्बुवानका कार्यकर्ताहरुको ज्ञापनपत्र बुझ्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश नं. १ को नाम किराँत प्रदेश नभए आन्दोलनको ज्वारघाटा उठ्ने चेतावनी अन्य राजनीतिक दललाई दिनु कत्तिको उचित हो ?मुख्यमन्त्रीजस्तो पदमा आसिन व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिनु नैतिक पतनको पराकाष्ठा हो । विधिसम्मत ढंगले, वहुमत सदस्यले जुराएको नाम प्रदेशको नाम रहन्छ भनेर अभिव्यक्ति दिएको भए त्यो उचित हुने थियो । त्यसबेला किराँत, किराँत लिम्बुवान, सप्कोशी, सथगरमाथा जेमा पनि सांसद सदस्यहरु सहमत हुन सक्छन् । आफ्ना एजेन्डामा सहमत
गराउन आफूलाई पहिचानवादी हौ भन्नेहरुले पहल गर्नुपर्छ । उदण्डता र अराजकत शैली अपनाउँदा त्यसले दीर्घकालीन रुपमा असर पार्ने निश्चित छ ।
भारतमा पनि केही राज्यहरु पहिचानका आधारमा नामांकान भएका छन् । तर त्यहाँ वहुमत सदस्यहरुको मतको आधारमा नामाकरण गरिएका हुन् । चर्को नाराबाजी, आन्दोलन नामका लागि गर्नै पर्दैन । अर्कोतर्फ हामी प्रदेश नं. १ को नामलाई भन्दा पनि त्यहाँ बस्ने नागरिकको समृद्धिका लागि सोच्नुपर्ने आवश्यकता छ । कति नागरिक गरिबीको रेखाुमुनी छन्, त्यसका लागि प्रदेशले के कस्ता योजना पस्कनुपर्छ भन्ने कुरा प्रदेशका शासकहरु केन्द्रित हुनुपर्नेमा उनीहरु नामका लागि एउटा समूहलाई उचाल्ने काममा लागेका छन् । प्रदेश नं. १ मा कति जातजातिको बसोबास छ ? यहाँ बस्ने हरेक जातको कुनै न कुनै रुपमा आफ्नै विशिष्ट पहिचान छ । तराईका थारु समुदाय आदिमकालदेखिको धर्ति पुत्र हुन् । भोलिका दिनमा सुनसरी, मोरङ, झापामा उनीहरुले विद्रोह गर्न सक्छन् । झापामा मात्र सन्थाल, राजवंशी, धिमाल आदिमकालदेखिका रैथाने हुन् । उनीहरुले झापामा आन्दोलन गर्न सक्छन्, पहिचानकै लागि । नामकै लागि एक अर्काको वितृष्णा जगाउने, विभेद बढाउने काम कसैले कहीँ कतैबाट गरिनुहुँदैन ।
नामले मात्र प्रदेश एकका बासिन्दा समृद्ध हुन सक्दैनन् । हामीलाई समृद्धि चाहिएको छ । आफ्नै देशमा रोजगारीका सम्भावनाको खाजी गरिनुपर्छ, दैनिक हजारौ युवाहरु रोजगारीकै लागि आफ्नो जायजेथा बेचेर, ऋण लिएर विदेश जान बाध्य छन् । उनीहरुको ऊर्जा यही खपत गर्ने वातावरण सिर्जना गर्नुपर्छ । तर यसतर्फ कसैको ध्यान जान सकेको पाइँदैन । यही प्रदेशका जनताले तिरेको करबाट सत्तामुख भोग गरिरहेका प्रदेश साँसद, प्रदेश सरकारका जिम्मेवार व्यक्तिहरु एकथरिलाई उचाल्ने र अर्को थरिलाई नामकै कारण पछार्ने काम गरिरहेका छन् । उनीहरुको त्यस्तो छद्म प्रवृत्तिले एक आपसमा भातृत्वपूर्ण सम्बन्ध स्थापित गरेका बसेकाहरुलाई विखण्डित गर्ने प्रयास भइरहेका छन् । यसलाई तुरुत रोक्नुपर्छ अन्यथा परिस्थितिको जिम्मा उनीहरुले नै लिनुपर्छ ।
