धरान । उमेरले डाँडा काटेपनि आफ्नो कर्मलाई नछोड्नै नसक्ने जेष्ठ नागरिकको धरानमा कुनै कमी छैन । घरमा बसेर आराम गरेर नातिनातिना हेर्ने उमेरका जेष्ठ नागरिक अहिले पनि तातो घाम र पानी केही नभनी आफ्नो कर्मलाई निरन्तता दिँदै आएका छन् ।

उमेरल ६५ बर्ष पुगेकी देवी राई विहान झिसमिसेमा उठ्नुहुन्छ । विहानको नित्य कर्म सिध्याएर उहाँ धरान १३ मा रहेको कृषि बजार पुग्नुहुन्छ । सर्वसाधारणको भान्सामा नभई नहुने भेराइटी सब्जी खरिद गनुृहुन्छ र डोकोमा हालेर घर घर विक्री गर्नुहुन्छ । यो कर्म उहाँको अहिलेदेखिएको भने होइन उहाले यस्तो काम गरेको २५ बर्ष भन्दा बढी भइसक्यो । सरकारी जागिरे हो भने उहाँको पेन्सन आउँथ्यो, घरमा आधा तलब खाएर आनन्द जीवन विताउनुहुन्थ्यो तर उहालाई यो काम गर्न बाध्यता रहेको छ । धरान १५ फूलबारी मार्गमा बस्दै आउनु भएकी राईले परिवारको गुजारा टार्नकै लागि यस्तो काम गरेको बताउनुहुन्छ । हुन त यही कर्म गरेर छोरीको विवाह सक्नुभएको छ भने छोरा अहिले १२ कक्षाम अध्ययन गर्दै गरेको उहा सुनाउनुहुन्छ । पछिल्लो समय श्रीमानले चौकीदार गर्दा दुवैले आर्जन गरेको रकमले घर खर्च गर्न केही सहज भएको उहाँ बताउनुहुन्छ । देवी राईमात्र हैन धरान ६ पानबारीकी ६० बर्षीय रेनुका विष्टको पनि दिनचर्या देवी राईको भन्दा फरक छैन । उहाँ त झन ५ किमी टाँटा रहेको आफ्नै गाउँ उब्जाएको सागसब्जी धरान बजारमा ल्याएर घर घरमा विक्री गर्नुहुन्छ । यसरी सब्जी डोकोमा डुलाएर बेचेको पनि उहाँले २० बर्ष भन्दा बढी भइसक्यो । छोराछोरीलाई लालनपालनसँगै शिक्षादिक्षा समेत सब्जी डोकोमा बेचेर चलाउदै आउनुभएकी विष्टलाई अहिले भने केही सहज भएको बताउनुहुन्छ । छोराले मिस्त्री काम गरेर घर खर्चका लागि केही सहयोग गरेपछि भने घर खर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ । यी त प्रतिनिधिपात्र हुन्, यस्ता धेरै जेष्ठ नागरिकहरु डोकोमा सब्जी डुलाएर जीविकोपार्जन गर्नेको संख्या धेरै छ ।
