मुलुक यतिबेला चौतर्फी घेराबन्दीमा परेको छ । राजनीतिक घेराबन्दी, आर्थिक घेराबन्दी, विदेशीहरुको कुटनैतिक घेराबन्दीले एक प्रकारको त्रासको वातावरण सिर्जना भएको छ ।
भिन्न राजनैतिक पृष्ठभूमि, भिन्न चरित्र रहेकाहरु जो सत्ताका लागि एक ठाउँमा उभिएका छन्, उनीहरु देश र जनताप्रति फिटिक्कै उत्तरदायी छैनन् । विदेशीका अगाडि नतमस्तक हुन्छन्, पारिवारिक विरासत अगाडि बढाउँछन्, , अर्थात सबै महाराज महारानीको पथमा अग्रसर भएका छन् ।
विगतमा अयोग्य भएका अयोग्यता वा अक्षमताको पगरी गुथेका शेरबहादुर देउवा र उनको पारिवारिक सक्रियता केवल सत्ता प्राप्तिका लागि मात्र केन्द्रित छ । यसका लागि सहयोगको भूमिका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपाल देखिएका छन् । प्रचण्ड र नेपाल आफ्नो राजनैतिक सुनिश्चितताका लागि देउवासँग नजिकिएका मात्र हुन् । यिनै तीनजनाको अधिनायकवादको भुँवरीमा मुलुक अनिश्चिततातर्फ अगाडि बढेको छ । यिनको कसैले विरोध गरे त्यसलाई लोकतन्त्र विरोधीको पगरी गुथाइन्छ ।
हिजो राजा अयोग्य भनेर जनमत विपरीत फाल्ने काम भयो । तर तिनै राजाको मन्त्री मण्डलमा रहेका प्रधानमन्त्री, मन्त्रीहरु आज योग्य भएका छन् । देशको शासन सत्ता तिनैले चलाइरहेका छन् । लोकतन्त्रमा जनभावनाको कदर हुन्छ, नागरिकको आधारभूत आवश्यकताको जिम्मा राज्यले लिनुपर्छ, हरेक काम कार्वाही पारदर्शी हुनुपर्छ । तर यहाँ त्यो छैन । सबै कुरा उल्टो छ । आग्रह, पूर्वाग्रह, भागबण्डा, भ्रष्टाचार, कमिशनका लागि मात्र सत्ता प्राप्तिको माध्यम बनेको छ । केही दिन अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पतालको बार्षिक कार्यक्रममा जाँदा सडकमा सवारी साधनमात्र बन्द गरिएन अस्पतालका सबै सेवा बन्द गर्न सर्कुलर जारी भयो । दैनिक तीन हजारको हाराहारीमा उपचारार्थ आएका विरामीहरुले उपचार पाउनबाट बञ्चित हुनुप¥यो । आखिरी अस्पताल सेवा नै बन्द गरेर के सन्देश दिन खोजिएको हो ?
एक बर्ष अगाडि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा अध्यादेशको विरोध गर्ने, राष्ट्रिय अनुसन्धान, राजस्व आफ्नो मातहतमा राख्दा संसद अवरुद्ध गर्ने, विरोध गर्नेहरु नै आज ओलीपथमा हिडिरहेका छन् । नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा यो कुरा जोडदार रुपमा उठेको् छ । खास गरेर युवा महामन्त्रीद्वय, उपसभापति धनराज गुरुङ्ग लगायतले यो कुरा उठाउँदा देउवाका किचेन क्याविनेटकाहरुलाई हजम हुन सकेन । गलत कामलाई प्रोत्साहन गर्दै देउवाको साथ दिनु दुर्भाग्य हो । नेतृत्वले यसमा मनन गर्नुपर्छ, आफ्ना कदम सच्याउनुपर्छ । अर्कोतर्फ यतिबेला नेपाली काँग्रेसको भातृ संगठन, शुभेच्छुक संघ संस्थामा विगत लामो समयदेखि नेतृत्वविहीन छ । सभापति देउवाले एकतर्फी रुपमा तदर्थ समितिको नाममा आफ्ना निकटकालाई भर्ति गर्ने काम भइरहेको छ । आन्तरिक प्रतिष्पर्धामा रहेका दलभित्रका अरु प्रभावशाली नेताको अस्तित्व स्वीकार गर्नुपर्नेमा उल्टै एकटमासले खेद्ने काम भएको छ । यसले पार्टी थप कमजोर बन्ने, विधिसम्मत ढंगले नचल्ने प्रष्ट हुन्छ । आखिरी सत्तामा बस्ने सबै महाराज महारानीको पथमा हिडेपछि अगाडिको दुर्दिन निकट हुन्छ नै ।
