भारतको इतिहासमै जनजाति समुदायबाट पहिलो राष्ट्रपति बन्दै द्रौपदि मुर्मु

भारतको इतिहासमै जनजाति समुदायबाट पहिलो राष्ट्रपति बन्ने भएकी छन् ओडिसाकी ६४ बर्षीया द्रौपदि मुर्मु । भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक एलाइन्सबाट आगामी १५ औ
राष्ट्रपतिको लागि मुर्मुलाई अगाडि सारिएको छ भने सोमबार भएको निर्वाचनको परिणाम साउन ५ गते विहीबार घोषणा हुने भएको छ ।


सन् १९५८ मा ओडिसामा जन्मिएकी द्रौपदि मुर्मु (सन्थाल) सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राजपाल रहेकी थिइन् । त्यसभन्दा अगाडि ओडिसीको मयुरपञ्चको रायगञ्जबाट सन् २००४ र २००९ मा गरी दुई पटक मुर्मु विद्यायक बनेकी थिइन् । मुर्मु भारतको १५ औं राष्ट्रपतिमा विजयी हुने निश्चित छ । सोमबार भएको निर्वाचनमा काँग्रेस आइ सहितका विपक्षी गठबन्धनले त्रिणमुल काँग्रेसका यसवन्त सिन्हालाई मुर्मुको प्रतिष्पर्धीको रुपमा मैदानमा उतारे पनि गठबन्धबीचमै विमति रहेको, सत्तासीन दलको मत बढी रहेकोले मुर्मुको विजय सुनिश्चित देखिएको छ । मुर्मु विजयी भएमा उनी
भारतको दोस्रो महिला राष्ट्रपति हुने भएकी छन् । यसभन्दा अगाडि प्रतिमा पाटिल पहिलो महिला राष्ट्रपति भएकी थिइन् । यहाँ स्मरणीय कुरा के छ भने भारतको राष्ट्रपति निर्वाचनमा लोकसभा, विधानसभा र राज्य सभाका सांसदहरुले मतदान गर्न पाउँछन् । भारतको लोकसभा र राज्यसभामा कुल सांसदको संख्या ७ सय ७६ रहेको छ । यसैगरी ४ हजार ३३ जना विधानसभा सदस्य रहेका छन् । मनोनित सांसदहरुको मताधिकार रहँदैन । एक सांसदको मतभार सातसय तोकिएको छ । कुल सांसदको मतभार १० लाख ८६ हजार ४ सय ३१ रहेको छ । निर्वाचनमा ५० प्रतिशत भन्दा बढी मत ल्याउने राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको छ । रोचक कुरा त भने राष्ट्रपतिको निर्वाचनमा सांसद विद्यायकहरुलाई पार्टीको ह्विप लाग्दैन ।

तपाईको प्रतिक्रिया