बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान टाँट पल्टियो † पदाधिकारी सबै काठमाण्डौ, चलाउने कस्ले ? सरकार बजेट दिँदैन, विमाले ३१ करोड दिन बाँकी, कर्मचारीको तलब भत्तामा मात्र मासिक १३ करोड

धरान । प्रदेश नं. १ को मात्र नभएर मुलुककै गौरवको रुपमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राज्यका सबै अंगमा पहुँचवाला मेडिकल माफिया नक्कली प्राध्यापक डा. ज्ञानेन्द्र
गिरी नियुक्त भएर आएपछि प्रतिष्ठान यतिबेला पूर्ण रुपमा ध्वस्त भएको छ । प्रतिष्ठानका प्रशासनतर्फका एक कर्मचारीले भने प्रतिष्ठान पूर्ण रुपले टाँट पल्टिएको छ । पदाधकारी विरलै यहाँ बस्छन्, कस्ले चलाउने ? विमा कम्पनीले विमा वापतको रकम उपलब्ध गराएको छैन, सरकारले चालु खर्चका लागि बजेट दिँदैन । मेडिकल माफियाहरुको हाली मुहाली छ । अब त प्राध्यापक, चिकित्सक, कर्मचारीहरुको तलब खुवाउन सक्ने अवस्था समेत प्रतिष्ठानसँग छैन । उनले भने प्रतिष्ठान सुद्धिकरणका लागि चिकित्सक, प्राध्यापक, इमानदार कर्मचारीहरुले विगत दुई बर्षदेखि सुद्धिकरण अभियान चलाउँदै आएका छन् । राज्यका तर्फबाट पटक पटक छानविन आयोग बने, कहिले मन्त्री स्तरीय छानविन आयोग बन्यो, कहिले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा आयोग बन्यो, उनीहरुका प्रतिवेदन सार्वजनिक भए । उपकुलपति लगायतका पदाधिकारी दोषी ठहर भए । अख्तियारले समेत छानविन अगाडि बढायो, करोडौ अनियमितता भएको प्रतिवेदन तयार ग¥यो तर भ्रष्ट पदाधिकारी र कर्मचारीमाथि कार्वाही भएन । उनले भने यही अवस्था रहे केही समय पछि प्रतिष्ठान पूर्ण रुपले विघटन हुन्छ ।


कर्मचारीले तलब खान नपाउने

प्रतिष्ठान कतिसम्म टाँट पल्टिएको छ भने अब प्राध्यापक, चिकित्सक, कर्मचारीहरुले तलब खानै नपाउने भएका छन् । आर्थिक प्रशासन शाखाका एक कर्मचारीले भने प्रतिष्ठानसँग कर्मचारीलाई तलब खुवाउने पैसा छैन । प्रतिष्ठानले १ अर्ब २७ करोड दायित्व तिर्न बाँकी छ । सरकारले प्रतिष्ठानका कर्मचारीका लागि कुनै दायित्व बोध गर्दैन । आगामी आर्थिक बर्षका लागि पूँजीगत खर्चका लागि २२ करोड विनियोजन गरेको छ । जुन रकम एमसिएच भवन निर्माणका लागि ८  करोड, ल्यावकिटको सामान खरिदका लागि ७ करोड ५० लाख, बच्चाहरुको उपचारका लागि ३ करोड र अपांगहरुको उपचारका लागि १ करोड ५० लाख छुट्याएको छ । उनले भने विद्यार्थीको पढाई वापतको रकम चिकित्सा विभागले कहिले दिन्छ थाहा छैन । विमित रकम दिँदैन । बीपी त अब डुब्यो यसलाई बचाउनका लागि सक्षम र इमान्दार पदाधिकारीको आवश्यकता छ, उनले भने ।
गिरीको अर्को अनियमितताको पर्दाफास

तीन बर्ष अगाडि नियुक्ति भएर आएकै दिनदेखि विवादित बन्दै आएका उपकुलपति डा. गिरीको अनियमतिताको अर्को काण्ड पर्दाफास भएको छ । उनले सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्देशन र आफ्नो पहिलाको निर्णयलाई लत्याउँदै १६ करोडको सामान खरिद गरेका छन् । खरिद शाखाका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने भेन्टिलेटर सुविधा सहितको ३० वेड आइसियु तयार गर्न चाहिने उपकरण खरिद गर्ने क्रममा उनले सर्वोच्च अदालतको अल्पकालीन आदेशलाई आधार बनाएका छन् । आइसियु खरिदका लागि बोलपपत्र पेश गरेका कम्पनीमध्ये सबैभन्दा कम मूल्य उल्लेख गर्ने कम्पनीलाई पन्छाएर उपकुलपति गिरीले कमिशनकै लागि बढी मूल्य उल्लेख गरेको धरानको एक कम्पनीबाट सामान लिएका छन् ।
स्वास्थ्य विमावापतको ३१ करोड

स्वास्थ्य विमा वापतको ३१  करोड रुपैया विमा बोर्डले प्रतिष्ठानलाई भुक्तानी गर्नुपर्ने भएपनि उक्त रकमको असुलीका लागि उपकुलपति गिरीले पहल नगर्दा प्रतिष्ठानको उपचार पद्धति डावाडोल बन्न पुगेको छ । रकम अभाव देखाउँदै स्वास्थ्य विमावापत उपचार सेवा उपलब्ध गराउन नसक्ने भन्दै यही आषाढ २० गतेबाट सेवा बन्द गर्ने डेपुटी अस्पताल निर्देशक प्रा.डा जगत नारायणले पुन ः सबैको आग्रहमा साउन ७ गते सम्म बढाइएको बताउनु भयो । उहाँले भन्नुभयो समस्या समाधान भएको छैन । दुई तीन पटक बोर्डसँग मिटिङ बस्दा उहाँहरुले प्रतिबद्धता जनाउनु भएको छ । एकदुई दिनमै सर्टआउट हुने नभएकोले हामीले स्वास्थ्य विमाको सेवा अवधि बढाएका हौं ।
निर्देशक नारायणले भन्नुभयो विमा कम्पनीबाट प्रतिष्ठानले ३१ करोड पाउन बाँकी छ । विमा लागू भएको २०७४ सालदेखि हो । शुरुका दिनमा भुक्तानी नियमित आएको थियो । तर २०७७÷०७८ अर्थात कोभिड टाइमको पैसा बाँकी छ । उहाँले भन्नुृभयो अहिले वार्ताहरु भइरहेका छन्, पोजेटिव कुरा आइरहेको छ । डकुमेन्ट्सहरु कम पुगेको गुनासो पनि छ । तर पहिला जुन तरिकाले भइरहेको थियो त्यही तरिकाले नै गरेका छौं । वार्ताका क्रममा बोर्ड र प्रतिष्ठानबीचमा एउटा सहमति भएको छ । हाम्रा सबै ओरिजिनल डकुमेन्ट्स प्रमाणित गर्ने र छिनोफानो गर्ने । आफ्नै पैसा माग्न पनि खुट्टा ढोग्नुपर्ने अवस्था भएको छ ।
संग्रौलालाई रजिष्ट्रार नियुक्ति गरी प्रमसँग सम्बन्ध बढाउदै

हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी मध्ये दुई पदाधिकारी अस्पताल निर्देशक र कुल सचिव (रजिष्ट्रार) को पद रिक्त रहेको छ ।
्यसका लागि उपकुलपति डा. गिरीले प्रधानमन्त्रीसँग सम्बन्ध बढाउन नेपाली काँग्रेसकी नेतृ डिला संग्रौलासँग श्रीमान डा. सूर्यप्रसाद संग्रौलालाई रजिष्ट्रारमा नियुक्ति गर्ने तयारीमा छन् । नेतृ डिला संग्रौला देउवा निकट भएकोले डा. गिरीले आफ्नो बाँकी कार्यकाल सहज बनाउन डा. सूर्य संग्रौलालाई नियुक्ति गर्न लागेका हुन् । यही प्रयोजनका लागि डा.गिरी यतिबेला काठमाण्डौ बसेका छन् ।
पूर्वाञ्चल विश्व विद्यालयमा एक्जाम डिन रहँदा आलोचित र विवादित संग्रौला रजिष्ट्रारमा नियुक्ति भएमा थप दुर्दशामा पुग्ने प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरु बताउँछन् । प्रतिष्ठानभित्रै प्रतिष्ठानलाई बुझेका इमान्दार व्यक्ति प्रतिष्ठानमा हुँदाहुँदै बाहिरबाट रजिष्ट्रार ल्याउनु नहुनेमा उनीहरुले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया