धरान । सोमबार रातिदेखि परेको अविरल बर्षाका कारण सुनसरी, मोरङ, झापाका अधिकांश भूभाग डुबानमा परेको छन् भने पहाडी क्षेत्रमा पहिरोेले सडक अवरुद्ध भएका छन् ।
भारी बर्षाका कारण खोलाको वहाव भरिएपछि पानी मानव वस्तीमा प्रवेश गरेको हो । इटहरीस्थित बुढीखोला, टेंगा खोला, खेति खोलामा पानीको वहाव बढ्दा सडक आवागमन अवरुद्ध भएको छ । तरहरास्थित कृषि अनुसन्धान केन्द्रमा पानी पस्दा पोखिरीमा माछा सडकमा देखिएको तरहराका नविन श्रेष्ठले बताए । सडकमा माछा टिप्ने मानिसहरुको भीड लागेको पनि उनले सुनाए ।

उता दुवहीस्थित बुढी खोलामा आएको बाढी मानव वस्तीमा प्रवेश गर्नुका साथै आवागमन समेत अवरुद्ध भएको छ । सुनसरी र मोरङमा बाढीका कारण जनजीवन अस्तव्यस्त भएको छ भने झापामा समेत मावा खोला,विरिङ खोला, रतुवा खोलामा आएको बाढीले सैयौ घरहरु बगाउँदा कैयौ विस्थापित भएका छन् । उता मेची राजमार्गमा रातिदेखि नै ठाउँ ठाउँमा पहिरो जाँदा इलाम, पाँचथर, ताप्लेजुङ चल्ने सवारी साधनहरु बीचैमा रोकिएका छन् । इलाका प्रहरी कार्यालय चारआलीका अनुसार रातिदेखिको अविरल बर्षा अझसम्म रोकिएको छैन । धेरै ठाउँमा राजमार्ग अवरुद्ध भएको छ । यता कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा समेत अधिकांश स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको जनाइएको छ ।
