धरान । उद्योगी व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन आउन अब १२ दिन बाँकी रहेको छ ।
यही असार २० गते हुने निर्वाचनका लागि संघले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै अ्रध्यक्ष लगायत सदस्यका आकांक्षीहरु उमेद्वारी घोषणा गरेर मत माग्न व्यस्त भएका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरान निर्वाचन उपसमितिद्वारा जारी निर्वाचन कार्यतालिका अनुसार मतदाताको नामावली प्रकाशन असार १० गते विहान १२ बजेसम्म रहेको छ । यसैगरी मतदाता नामावली उपर दाबी विरोध असार १० गते अपारान्ह १२ बजेदेखि ११ गते अपरान्ह ३ बजेसम्म, मतदाताको अन्तिम नामावली प्रकाशन असार ११ गते अपरान्ह ४ बजे, उमेद्वारको प्रथम नामावली प्रकाशन असार १२ गते अपरान्ह ३ः३० बजेसम्म, दाबी विरोधपछि नामावली प्रकाशन असार १३ गते अपरान्ह ४ बजे, उमेद्वारी फिर्ता असार १४ गते अपरान्ह ३ बजेसम्म, उमेद्वारको अन्तिम नामावली असार १४ गते ३ः३० बजेसम्म रहेको छ ।


कस्को पक्षमा व्यवसायीहरु ?
यस पटकको संघको निर्वाचन परम्परा धान्ने खालको अर्थात समूह देखाएर मतदाता प्रभावित पार्ने खालेको नहुने संघका एक सदस्यले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा बताए ।
उनले भने संघको आगामी अध्यक्षको रुपमा यस पटक धरानका उद्योगी व्यवसायीहरुले शिवराज श्रेष्ठलाई रुचाएको देखिन्छ । किन कसैलाई चिढ्याउनु भनेर मतदाताहरु जस्ले हात जोडे पनि हुन्छ भन्दिन्छन् तर भित्री अवस्था फरक छ । उनले भने राम्रो भिजन भएको, व्यवसायीका समस्यालाई सम्बन्धित ठाउँमा पु¥याएर समाधान गर्न सक्ने शिवराज श्रेष्ठ नै देखियो, उनले भने । संघका अर्का सदस्यका अनुसार पुरानो पुस्ताबाट पवन अग्रवालले पनि दाबी गर्दै आउनु भएको छ । तर उहाँले नयाँ सदस्यता थप गर्नु भएको छैन, परिवारसँग रहेको मतदाताका भरमा उमेद्वारी दिनु होला जस्तो लाग्दैन । यसै सम्बन्धमा अध्यक्षमा उमेद्वारी दिने घोषणा गर्नुभएका अग्रवालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो संघको निर्वाचनमा परम्परा नै गलत भयो । अरुको सदस्यता नविकरण गर्ने एक प्रकारको होड नै चलेको छ । अर्काको सदस्यता नविरकण गरेर मत लिने परम्परा अब उद्योग वाणिज्य संघ सुनसरीबाट हटाउनुपर्छ, अग्रवालले भन्नुभयो । तपाई पनि उमेद्वार बन्ने भन्दै हुनुहुन्छ तपाईले पनि सदस्यता नविकरण गराइदिए भइहाल्यो नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो म त्यसो गर्दिनँ । तपाई उठ्ने नै हो त भन्ने जिज्ञसामा उहाँले भन्नुभयो त्यो उमेद्वारी मनोनयनका बेला थाहा हुन्छ ।
संघको सानो टिमको उक्साहटमा विजय
यस भन्दा अगाडि भएको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा ठूलो मतान्तरले वर्तमान अध्यक्ष गिरिधारी सापकोटासँग पराजित भएका विजय श्रेष्ठ यस पटक पुन ः अध्यक्षमा प्रतिष्पर्धामा देखिने भएका छन् । संघका एक साधारण सदस्यका अनुसार पुरानो टिम भनेर चिनिएका मोहनकाजी शाक्य, सरोज श्रेष्ठ, रामस्वरुप शमाले विजयलाई प्रतिष्पर्धामा उतार्न लागेको उनले बताए । अब कसैले उचाल्दैमा मतदाता त्यतैै लाग्छन् भन्ने केही छैन । सरोज श्रेष्ठ र मोहनकाजी अध्यक्ष रहँदा विजय महासचिव भएका थिए । त्यसबेला कोषाध्यक्ष रामस्वरुप शर्मा भएका थिए । अघिल्लो निर्वाचनमा राम स्वरुप शर्मा सदस्यमै पराजित भएका थिए । यही तीन चार जनाको टिमले विजयलाई उचालेका छन् ।
अध्यक्षमा पाँच जनाको चर्चा
यसपटक हुने सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा अ्रध्यक्षका लागि पाँच जना आकांक्षीहरुको नाम यतिबेला चर्चामा रहेको छ । जसमा वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष पवन अग्रवाल, श्याम सोनी, उपेन्द्र चाम्लिङ र विजय श्रेष्ठ । संघका वर्तमान एक सदस्यका अनुसार व्यवसायीको हित र सघलाई अगाडि बढाउने हो भने शिवराज श्रेष्ठको विकल्पै देखिदैन । उमेद्वार जो कोही पनि हुनसक्छ । अबका मतदाता विगतमा झै हात जोडेको भरमा मत दिने पक्षमा छैनन् । उमेद्वारको कार्यक्षमताको मूल्यांकन गर्ने मतदाता उद्योगी व्यवसायी सक्षम भइसकेका छन् अशोक ताम्राकार लगायत पुराना अध्यक्षहरु सबै शिवराज श्रेष्ठलाई आगामी संघको अध्यक्षको रुपमा हेर्न चाहेका छन् । उनले भने निर्वाचनमा केही व्यक्तिहरु व्यक्तिगत आक्षेप लगाएर मत माग्ने गरेको समेत सुन्नमा आएको छ । यो राम्रो होइन । चुनावमा कसैप्रति व्यक्तिगत आरोप, प्रत्यारोपले संस्थाको गरिमा बढाउँदैन । उनले भने आफ्नो कमी कमजोरी लुकाउन अरुमाथि आक्षेप लगाउँदा उसैलाई वेफाइदा हुन्छ ।
सदस्यमा उमेद्वारी दिने तयारीमा को को छन् ?
सुनसरी उद्योग वाणिज्य संघको असार २० गते हुने निर्वाचनमा पुरानासँगै नयाँ अनुहारहरु पनि उमेद्वारी दिने मनस्थितिमा देखिएका छन् । पुराना अनुहारहरुमा सीताराम आचार्य, काजी गिरी, रामस्वरुप शर्मा, प्रभाव खतिवडा, अशोक डाँगा, पियुस आचाय, गोपाल श्रेष्ठ, दिनेश राई लगायत पुराना धेरैले सदस्यमा उमेद्वारी दिँदै छन् । नयाँमा सन्दिप शाक्य, अमित अग्रहरी, मदन तोदी, विवेक अग्रवाल, भोला श्रेष्ठ लगायत यसपटक नयाँ अनुहार आउने देखिएको छ ।
संघको कार्यसमितिको ढाँचा
सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा अध्यक्ष एक, निवर्तमान १ जना, प्रथम उपाध्यक्ष एकजना, द्वितीय उपाध्यक्ष एकजना, कोषाध्यक्ष एकजना, महासचिव एकजना, उद्योग सचिव एक जना, वाणिज्य सचिव एक जना, प्रचारप्रसार सचिव एक जना लगायत २५ जना रहने व्यवस्था छ । निर्वाचन हुँदा अध्यक्ष एकजनाको, ८ जनाको वाणिज्यतर्फबाट खुल्ला र एक जना महिला, चार जना उद्योगमा खुल्ला र एक महिला, एसोसिएटमा ६१ जना सदस्य संख्या भएमा ३ जना र त्यसभन्दा माथि जति भए पनि ३ जना नै रहने व्यवस्था छ । वस्तुगतमा १५ देखि माथि भएमा २ जना रहने व्यवस्था छ । जसमा एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।
सदैव सदस्यमा मात्र भोट माग्नुपर्ने बाध्यता
सुनसरी उद्योग वाणिज्य संघको कार्यसमिति २५ जना रहने प्रावधान रहेको छ । अध्यक्ष र बाँकी सबै सदस्यको निर्वाचन हुने र पछि कार्यसमितिले पद निर्धारण गर्ने प्रावधान रहेको छ । सदस्यमा उठ्नेले सदैव मतदातासँग सदस्यकै लागि मत माग्नुपर्ने बाध्यता छ ।
वर्तमान कार्यसमितिका एक सदस्यले भने यसै पटक विद्यान परिवर्तन गर्न शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यसमिति समेत बनेको थियो । विधान संसोधनको समितिले साधारण सभाबाट नभएर विशेष साधारण सभाबाट गर्नुपर्नेै थियो । के के बुँदामा परिवर्तन गर्ने भनेर छलफलबाट निचोड पनि निकालेको थियो । तर विशेष साधारणसभा बस्न सकेन । नत्र यसै पटक अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, प्रचारप्रसार सचिव, उद्योग सविच, वाणिज्य सचिवको प्रत्यक्ष निर्वाचन नै हुने थियो । यसो हुँदा जो जुन पदमा लड्ने हो त्यसैमा मत माग्ने थियो । अब नयाँ कार्यसमिति आएपछि विधान संसोधन गर्नैपर्ने हुन्छ । हाल सुनसरी उद्योग वाणिज्य संघमा ४५ सय सदस्य रहेका छन् । आषाढ ९ गतेसम्म कतिले नविकरण गर्नुहुन्छ त्यसैको आधारमा भोटर संख्या थाहा हुन्छ ।
असार ७ गतेसम्म २१ सयले नविकरण गरिसकेका छन् । ती सदस्यले भने यसपटक मोटामोटी ४ हजार सदस्य संख्या पुग्ने अनुमान गरिएको छ ।
