अखिल नेपाल फुटबल संघ (एन्फा) मा पूर्वेली पञ्कज विक्रम नेम्बाङको उदय

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पूर्वीली पञ्कज विक्रम नेम्बाङ विजयी हुनु भएको छ । आषाढ ६ गते सोमबार भएको निर्वाचनमा नेम्बाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्नुभएको थियो ।
एन्फाको कुल मतदाता ८४ रहेको छ । नेम्बाङले ४५ मत पाउनु भएको थियो भने दास्रो कार्यकालमा लागि प्रत्यासी बनेका शेर्पाले ३९ मत पाएका थिए । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नरेन्द्र विक्रम नेम्बाङका सुपुत्र अध्यक्ष नेम्बाङ दुई दशक अगाडि केन्द्रीय सदस्यका रुपमा एन्फामा प्रवेश गर्नुभएको थियो ।


नेपाली फुटबलको राजनीतिमा झण्डै दुई दशकसम्म निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई साथ दिँदै आउनु भएका नेम्बाङ र शेर्पाबीचमा पछिल्लो समय सम्बन्धमा तिक्तता आएको थियो । पूर्व अध्यक्ष गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले भ्रष्टाचार अभियोग लगाएर प्रतिबन्ध गरेपछि नेम्बाङ एन्फाको अध्यक्षमा शेर्पार्ल जिताएका थिए । झापाको धुलाबारी स्थित चर्चित रोलिङ क्लबको तीन कार्यकाल अधयक्षको जिम्मेवारी समेत सम्हाली सक्नु भएका नेम्बाङले क्लबको भवन निर्माणका लागि आफैले धुलाबारी बजारमा १० धुर जग्गा प्रदान गर्नुभएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा निर्वाचित हुनु भएपछि नेपाली फुटबलको विकासमा सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । एन्फा अध्यक्षका अर्का प्रत्यासी राजीव पौड्यालले एक मत समेत पाउनु भएको थिएन । यसैगरी एन्फाको बरिष्ठ उपाध्यक्षमा नेम्बाङकै प्यानलका बीरबहादुर खड्काले ४४ मत प्राप्त गर्नुभएको थियो भने शेर्पा प्यानलका शिक्षित पराजुलीले ४० मत प्राप्त गर्नुभएको थियो । यस्तै चार उपाध्यक्षमा नेम्बाङ प्यानलका तीन जना निर्वाचित भएका छन् । जसमा दावा लामा, दिपक खतिवडा, विराटजंग शाही छन् भने एक जना शेर्पा प्यानलका दुर्गाबहादुर केसी विजयी भएका छन् । यस्तै महिला सदस्यमा सरिता श्रेष्ठले ४६ र पेमा डोन्मा लामाले ४३ मत प्राप्त गरी नेम्बाङ प्यानलबाट विजयी भएका छन् । उता शेर्पा प्यानलबाट प्रतिष्पर्धामा रहेका दुई महिला सदस्य विना श्रेष्ठले ४० र विन्द्रा देवानले ३९ मत ल्याई पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया