इनरुवा । जिल्ला समन्वय समिति सुनसरीमा नेपाली काँग्रेसबाट सभापति र उपसभापति सहित प्यानलै विजयी भएको छ । सोमबार भएको जिल्ला समन्वय समिति सुनसरीको निर्वाचनमा सभापतिमा नेपाली काँग्रेसकातर्फबाट निवर्तमान इनरुवा नगरपालिकाका प्रमुख तथा युवा नेता राजन मेहता र उपसभापतिमा कमला खतिवडा विजयी हुनुभएको छ ।

जिल्ला समन्वय समिति सुनसरीमा निर्वाचित हुनका लागि नेपाली काँग्रेसको एकल वहुमत हुँदाहुँदै पनि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एस र जसपा बीचमा सदस्यमा भागबण्डा हुँदा जिल्लामा नेपाली काँग्रेसभित्रै निर्वाचित जनप्रतिनिधिबीचमा असन्तुष्टि बढेको थियो । नेपाली काँग्रेसले सभापति र उपसभापति सहित चार सदस्य लिएको थियो भने एक मत मात्र रहेको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई एक एकसदस्य र एक मत समेत नभएको एकीकृत समाजवादीलाई एक सदस्य दिइएको थियो । जिल्ला समन्वय समिति सुनसरीमा ९ सदस्यीय निर्वाचन समिति रहने व्यवस्था छ । सदस्यमा एकल उमे्वारी परेपछि टकप्रसाद गुरुङ, भुपेन्द्र उराँउ, लालकुमारी देवी चौधरी, शेषकुमारी घिमिरे, कलावती माझी, सलिम मिया निर्विरोध निर्वाचित भइसकेका थिए । सभापति, उपसभापति र दलित महिला सदस्यकालािग मात्र सोमबार निर्वाचन भएको थियो । दलित महिला सदस्यमा कुमारी विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा सुनसरीमा भएका १२ स्थानीय निकायका प्रमुख र उपप्रमुहरुले मतदान गर्ने प्रावधान रहेको छ । १२ वटा स्थानीय निकायका २४ जना मतदातामध्ये नेपाली काँग्रेस एक्लैको १३ मत रहेको छ । सुनसरी जिल्लामा नेपाली काँग्रेसले ७ वटा पालिकामा जित हासिल गरेको छ । अर्थात नेपाली काँग्रेसका ७ पालिका प्रमुख छन् भने ६ उपप्रमुख रहेका छन् । यसैगरी नेकपा एमालेले यसपटकको निर्वाचनमा सुनसरीमा ३ पालिका प्रमुख र ५ उपपमुख जितेको छ । यसले उसको कुल मतदाता संख्या ८ रहेको छ । माओवादी केन्द्रले धरान उपमहानगरपालिकाको एक उपप्रमुख मात्र जितेको छ भने, जनता समाजवादीले एक प्रमुख जितेको छ । एक पालिका प्रमुख स्वतन्त्र विजयी भएका छन् । तर निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर निर्वाचन लडेको अवस्थामा भने एकलौटी १३ मत, माओवादी केन्द्रको एक मत र जनता समाजवादी पार्टीको एकमत गरी १५ मत पाउनुपर्ने थियो । निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसले १४ मत मात्र प्राप्त गरेकोले गठबन्धनभित्रैबाट काँगेसलाई अन्तरघात भएको नेपाली काँग्रेस जिल्ला नेतृत्वले आशंका गरेको छ । सभापतिमा मेहताले १४ मत र उपसभापति खतिवडाले पनि १४ मत नै प्राप्त गर्नुभएको थियो । पराजित एमालेका उमेद्वारहरुलाइ ८ मत आउनु पर्नेमा उसले १०÷१० मत ल्याएका थिए । निर्वाचनमा धरान उपमहानगरपालिकाका स्वतन्त्र उमेद्वार हर्कराज राईले पनि मतदान गर्नुभएको थियो । जिल्ला समन्वय समितिको निर्वाचनको परिणामले धेरैले गठबन्धनको भविष्यप्रति आशंका व्यक्त गरेका छन् ।
