धरान । पटक पटक अवरुद्ध भएको धरान उपमानगरपालिकाको कार्यपालिकाको बैठक सौहाद्र्धपूर्ण ढंगले सम्पन्न भएको छ ।धरान उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकबाट धरान उपमहानगरपालिकाको ०७८÷०७९ को नगर सभा (बर्खे अधिवेशन) असार ८ गते बस्ने निर्णयसहितका अन्य निर्णय गर्दै सम्पन्न भएको हो । सार्वजनिक भवन, पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रक्रियाको विषयमा यस भन्दा अगाडिको वैठकमा विवाद भएका थियो तर आइतबार बसेको बैठकल ठेक्का सम्बन्धी एजेन्डामा व्यापक छलफलपछि नगरपालिका स्वयमले संकलन गर्ने सम्मत पारित गरिएको थियो ।

यसैगरी उपमहानगरपालिकामा एक जना प्रवक्ता रहने प्रावधान अनुसार कार्यपालिका बैठकले कार्यपालिकाको प्रवक्तामा धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) लाई सम्मत ढंगले तोकिएको छ ।सो अवसरमा बोल्दै मेयर हर्क साम्पाङले हरेक काममा दलाली प्रक्रिया हाबी भएका कारण सबै उपमहानगरपालिकाले नै गर्न सके सबैलाई सुविधा हुने बताउनुभएको थियो ।आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी तथा सरसफाईलाई प्राथमिकताको आधारमा राख्ने निर्णय कार्यपालिका बैठकले सर्वसम्मत ढंगले पारित गरेको छ । धरानाको पुर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद् व्यवस्थापनलाई पनि बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकता दिने निर्णय बैठकले गरेको छ ।
यता वैठकमा सहभागीपछि बोल्दै मेयर साम्पाङको कार्यशैलीप्रति आफूहरु प्रभावित भएको बताएका थिए । उनीहरुले धरानको समग्र विकासले नया गति लिने अपेक्षा लिएको बताएका छन् । धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले आइतबारको कार्यपालिकको बैठक सौहाद्र्धपूर्ण ढंगले सम्पन्न बताए ।
वैठकले धरानमा बर्षौदेखिको समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानलाई बढी प्राथमिकतामा राखेर निर्णय गरेको छ । निर्णयहरु सकारात्मक भएका कारण नया कार्यसमितिबाट धरानेहरुले ठूलो अपक्षा समेत राखेका छन् ।
