सर्दु करिडोरको काम शुरु

धरान । धरानको दुःख सर्दू खोलाको नियन्त्रणको काम सुरु गरिएको छ । सर्दूको वितण्डा रोक्न दीर्घकालीन योजनाअनुरुप निर्माण गर्ने भनिएको सर्दू करिडोरको काम सुरु भएको हो । ठेक्का लागेको दुई वर्षपछि र ठेकेदार कम्पनीसँग सम्झौता भएको ९ महिनापछि काम सुरु भएको छ ।


खोलाको आवश्यक्ता र चौडाइ हेरेर औसत ८७ मिटर खोलाको चौडाइ कायम हुने गरी डिपीआर निर्माण गरेको जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय सुनसरीका डिभिजन प्रमुख चुडाराज ढकाल बताउनुहुन्छ् । सर्दू करिडोरलाई रात्रिकालीन पर्यटकीय स्थल निर्माण गर्ने परिकल्पना अनुसार निर्माण गरिने अपेक्षा गरिएको छ । धरानको विकासका लागि सर्दू र सेउती करिडोरलाई भव्य रुपमा विकास गरेर लाने स्थानीय सरकारको महत्वकांक्षा रहिआएको छ । करिडोर निर्माणपछि धरानमा आर्थिक रुपमा समेत आकर्षक आयोजना सुरु हुने, पर्यटन, दीगो विकास र व्यवस्थित शहरमा रुपान्तरण गर्ने सपना पूरा हुने वडाध्यक्ष मनोज भट्टराई बताउनुहुन्छ् । सर्दू खोला शिरदेखि तिरसम्म नियन्त्रण गर्ने उद्देश्यले गत वर्ष भदौ २ गते तत्कालीन प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले करिडोरको शिलान्यास गरेका थिए ।सर्दू करिडोर परियोजना जलाधार संरक्षणलगायतमा समेत लक्षित गर्ने योजनाअनुरुप अघि बढेको छ । धरानका ११, १३, १६ र १७ नम्बर वडामा करिडोर निर्माणको कार्य सुरु गरिएको हो । सुरुआतमा केही विवाद भएपछि योजनाको काम रोकिएको थियो । प्रारम्भिक काम सुरु गर्ने सहमतिपछि सर्दू खोला पुलदेखि १ किलोमिटरको काम सुरु भएको हो ।
सर्दू खोला नियन्त्रणपछि २० हेक्टर ‘खोला उकास जग्गा’ निस्कने र त्यहाँ नगरपालिकाले पार्कलगायत पर्यटकीय स्थल निर्माण र व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ । करिडोर बनेपछि सर्दूको चपेटामा परेको १२० हेक्टर जग्गा सुरक्षित हुनेछ । ७ सय घर धुरीका १४ हजार जनसंख्या लाभान्वित हुनेछन् ।
आर्थिक वर्ष ०७७÷७८ देखि सुरु हुनुपर्ने योजना कोभिड संक्रमणका कारण रोकिएको थियो । गत वर्ष भदौ २५ गते ठेकेदार कम्पनी प्यासिफिक जलजला जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रदेश सरकारले बहुवर्षे ठेक्का स्वीकृत गरी २५ करोडको लागत स्टिमेट तयार गरेको थियो । ठेकेदार कम्पनीले ४० प्रतिशत ‘बिलो’ मा १० करोड ६५ लाखमा ठेक्का प्राप्त गरेको थियो ।
योजना संघीय सरकार र धरान उपमहानगरले समेत साझेदारी गर्ने गरी २ वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ बजेट व्यवस्थापन गरिएको हो । तत्काल धरान(चतरा सडक खण्डको सर्दूखोला पुल किनारदेखि उत्तर ५ किलोमिटर तटबन्ध गर्ने गरी ड्यामसहितको वाल, १७ सय मिटर प्लम कन्क्रिट र १६ सय ७५ मिटर आरसीसी ढलान हुने छ । खोला नगहिरियोस् भनेर रिभर वेल्ट बार (क्रस वाल) समेत लगाइने योजना छ । २० वटा छोटाछोटा वाल, ५ किमी करिडोर सडकको छेउमा डूेनसमेत निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया