धरान । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाका नवनियुक्त स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई बधाई एवम् शुभकामना दिनुभएको छ ।
भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवर्णेको अवकास पश्चात पाण्डे गत बुधबार भारतीय स्थल सेनाको सेनाध्यक्षमा नियुक्ति हुनुभएको थियो । भारतीय सेनाले ट्वीटरमार्फत दिएको जानकारी अनुसार नेपाली सेनाका प्रधान सेनापतिले स्थल सेनाध्यक्ष पाण्डेलाई भिडियो कन्फ्रेन्स मार्फत बधाई एवम् शुभकामना दिनु भएको हो ।

नेपाली सेना र भारतीय सेना बीचमा आपसी द्विपक्षीय सम्बन्ध अत्यन्तै निकट रहेको छ । नेपाली सेनाका लागि आवश्यक सैन्य सामाग्री भारतीय सेनाले प्रदान गर्दै आएको छ । यसका अलावा संयुक्त सैन्य अभ्यासहरु समेत हुँदै आएका छन् । प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्ष मनोज पाण्डेको कार्यकालमा आपसी द्विपक्षीय सम्बन्ध र सहयोग उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । दुवै देशका सेना प्रमुख एक अर्का देशको मानार्थ सेनापति रहने व्यवस्था छ । प्रधानसेनापति शर्माले केही महिना अगाडि भारत भ्रमणका क्रममा मानार्थ महारथीको सम्मान लिइसक्नु भएको छ । भिडियो कन्फ्रेन्समार्फत गरिएको कुराकानीका क्रममा प्रधानसेनापति शर्माले भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणको निम्ता समेत दिनुभएको थियो । नेपाल भ्रमणका क्रममा पाण्डेले नेपाली सेनाको महारथीको सम्मान लिनुहुनेछ ।
