हरेक पटकको निर्वाचनमा राजनैतिक पार्टीका नेताहरु आश्वासनका पुलिँन्दा बोकेर मतदातामा जाने गरेका छन् । चाहे त्यो स्थानीय निर्वाचनमा होस्, चाहे प्रदेशको निर्वाचनमा होस् वा प्रतिनिधिसभाको निर्वाचनमा होस् तिनले लिएर जाने मुद्दा हरेक पटक एकै खालको हुने गरेका छन् ।
सुकुम्बासी समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, करको घटाउने, शान्ति सुरक्षाको व्यवस्था, जेष्ठ नागरिकलाई सम्मान, बाल उद्यान, खेलकुदको विकास लगायतका अनगिन्ती मुद्दाहरु आफ्ना घोषणापत्रमा अटाई नअटाई लेख्छन् । तर निर्वाचित भएपछि उनीहरु आफूले उठाएका मुद्दाहरु विर्सन्छन् । आफूले उठाएका मुद्धाहरुप्रति उदाशीन देखिन्छन् । आफ्ना मतदाता र आफूले उठाएका मुद्धाप्रति उनीहरु अलिकति उत्तरदायी देखिन्थे भने हरेक निर्वाचनमा एकैखालको मुद्दा उठाउनुपर्ने आवश्यकता नै थिएन । पाँच बर्षको अवधिमा उनीहरु आफूले गरेका प्रतिबद्धाहरु पूरा गरेर नविन मुद्दाहरु लिएर मतदाता समक्ष जाने थिए । जनताका सामाजिक र आर्थिक सवाललाई दलहरुले बर्षौदेखि मजाक बनाउँदै आएका छन् । जसका कारण पाँच पाँच बर्षमा हुने निर्वाचनमा मतदातामा उत्साह जाग्न छाडेको छ नेतृत्व त्यसका दलप्रति मतदाताको वितृष्णा जाग्न थालेको छ ।
धरानकै सवालमा भन्नुपर्दा धरानमा हजारौ अव्यवस्थित सुकुम्बासीहरुको बासोबास रहेको छ । यसभन्दा अगडि धरान नगर नेतृत्वले सुकुम्बासीका समस्या समधान गर्ने प्रतिबद्धता जनाएको थियो । उनीहरुको बासोबासलाई व्यवस्थित बनाउने, जग्गा धनीपूर्जा वितरण गर्ने आश्वासन बाँडेका थिए । तर ती समस्या आज पनि ज्यूका त्यू रहेको छ । हजारौ सुकुम्बासीहरुले निर्वाचनको मुखैमा नो लाल पूर्जा नो भोट भन्दै नाराबाजी गर्दै जुलुस निकाले । उता धरान नगरपालिकको नेतृत्वमा रहेकाहरु २०७२ को मापदण्ड राखेर सुकुम्बासीहरुलाई विस्थापित गराउने निर्णयमा पुगे । जसबाट सुकुम्बासी मतदाताहरुमा दल र नेतृत्वप्रति आक्रोसित बन्न पुगे । फेरि पनि उनीहरुले आश्वासन पाएका छन् । हरेक राजनैतिक दलका उमेद्वारहरु पुन ः उनीहरुका घर घरमा गएर आश्वासन बाँडिरहेका छन् । विगतमा धरानका अव्यवस्थित बसोबासहरु नेकपा एमालेको भोट बैंकको रुपमा प्रयोग गर्दै आएका थिए । तर एमालेबाट नै उनीहरुलाई उपेक्षित रहँदै आएका छन् ।
अर्कोतर्फ धरानको खानेपानी संस्थानलाई विस्थापित गरी बोर्डमा गाभ्ने काम एमाले नेतृत्वले नै गरेको धरानका आम मतदाताको बुझाई छ । आज धरानमा खानेपानीको चरम अभाव छ । संस्थान विस्थापित गरेपछि बोर्डमा गाभ्ने काम एमालेले नै गरेको हो । ३ अर्ब २९ लाखको आयोजना आज पूर्ण रुपमा असफल भएको छ । चरम भ्रष्टाचारका कारण धरानको खानेपानी आयोजना असफल भएको हो । आज एमाले पुनः खानेपानीको मुद्दालाई अगाडि सारेर हिडेको छ । तर धरानमा मतदाताहरु एमालेको खोक्रा आश्वासनलाई पत्याउने पक्षमा देखिँदैनन् । जसका कारण निर्वाचनमा उसले धम्का व्यहोर्नु पर्ने देखिएको छ ।
विगतदेखि नै एमालेले धरानमा खोलो तरेपछि लौरो विर्सिने गरेको छ । नाम वर्चस्व भएको ठाउँ भन्दै हिजोका वामहरु आज एकै ठाउँमा उभिने अवस्था धरानमा छैन । चुनाव जितेपछि आफूले उठान गरेका मुद्दा विर्सिदिँदा एमालेकै कार्यकर्ता दल र स्थानीय नेतृत्वप्रति आक्रोसित छन् । यसको प्रत्यक्ष प्रभाव अर्थात यसको लाभ धरानमा अन्य दलले लिने संकेत देखिएको छ ।
