किशोर राई । आसन्न स्थानीय निकायको निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका प्रत्यासी । धराने युवाहरुमाझ अत्यन्तै लोकपिय, संघर्षका पर्यायवाची, नगर विकासको स्पष्ट भिजन भएका राईको उमेद्वारीले धरानका मतदाताहरुमा उत्साह पलाएको छ ।
वैचारिक भिन्नता भएका दलहरुसँग पनि संयोजनकारी भूमिका निर्वाह गर्ने खुवी भएका राईले विगत २५–२६ बर्षदेखि खेलकुद र राजनीतिलाई एकसाथ लिएर हिड्नु भएको छ । राजनीति र फुटबल दुई भिन्न पाटा हुन् । दुवैलाई एकसाथ लिएर हिड्नु असम्भव प्रायः हुन्छ । तर राईले यसलाई सहज ढगले अगाडि बढाएका छन् । वि.सं. २०५५ सालदेखि पूर्वाञ्चलमै पहिलो पटक बुढासुब्बा गोल्डकपको आयोजना गर्नुहुने राईले दुईवटा संस्करण विश्वव्यापी कोरोना प्रभावसँगै अन्य विविध कारणले सञ्चालन गर्न सक्नु भएन । नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्ष, प्रदेश नं. १ का अध्यक्षसमेत रहनु भएका राई नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीका सदस्य समेत रहिसक्नु भएका राई नेपाली काँग्रेसका कुशल संगठनकर्ता समेत मानिनुहुन्छ ।
वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा धरान वडा नं. १२ बाट अत्याधिक मतले विजयी हुनुभएका राईले त्यसपछिका दिनमा मुलुकको विषम परिस्थितिका कारण निर्वाचन हुन नसक्दा अर्थात २०६२÷०६३ पश्चात सात दलीय संयन्त्रको संयोजक भएर नगरपालिकालाई नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँकै प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको हो । एन्फा टेक्निकल सेन्टरमा आज कैयौ बाल खेलाडीहरुले आवासीय प्रशिक्षण लिइरहेका छन् । एउटा सफल र कुशल खेलाडीका रुपमा राईले ब्राजिल, दक्षिण कोरिया, मलेसिया, हङकङ लगायत आधादर्जन भन्दा बढी देशको भ्रमण गरिसक्नु भएको छ । सधै फुटबलमा ह्याक्ट्रिक गर्दै आउनु भएका राई यसपटक धरान उपमहानरपालिकाको मेयरमा ह्याट्रिक गर्दै हुनुुहुन्छ । यसपटक हामीले स्थानीय निकाय अन्तर्गत धरान उपमहानगरपालिकाको सशक्त मेयरका प्रत्यासी रहनु भएका राईसँग विशेष वार्ता गरेका छौं प्रस्तुत छन् वार्ताका सारसंक्षेप :-
वैसाख ३० गते स्थानीय तह अन्तर्गत धरान उपमहनगरपालिकाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । गठबन्धनका तर्फबाट तपाई नेपाली काँग्रेसबाट मेयरको प्रत्यासी हुनु भएको छ । तपाईको उमेद्वारी के का लागि ?
–मुलत : मेरो उमेद्वारी समृद्ध धरानका लागि हो । धरान उपमहानगरमा कैयौ समस्याहरु रहेका छन् । विगतका नेतृत्वले समस्या निराकरण भन्दा पनि आफू जनताको सेवा गर्न गएको हुँ भन्ने कुरालाई विर्सेर शासक बनिदिँदा समस्याको चाङ लागेको हो ।
विगतको नेतृत्वहरुले पनि निर्वाचित हुनुभन्दा अगाडि समृद्ध धरानकै नारा दिन्थे । तर निर्वाचित भएर गएपछि सबै कुरा विर्सन्थे । यो कुरा तपाईहरुमा पुनरावृत्ति त हुँदैन ?
–म परिवर्तनको पक्षधर हुँ । नगरपालिकाको नेतृत्वका लागि मात्र म त्यहाँ जान लागेको होइन । नगर भित्रका प्रमुख समस्या, मध्यम समस्या र सामान्य समस्या के के हुन् भनेर मैले नोट गरेको छु । धरानमा व्यवस्थित रुपमा भौतिक संरचनाको निर्माण हुन सकेमा धरानलाई हङकङको झल्को दिने सहर बनाउन सकिन्छ । यद्यपि हामीले धरान बनाउने हो, धरानलाई आहा धरान बनाउने हो । धरान घुम्न आउने पर्यटकहरुले यहाँबाट फर्किएर गएपछि धरानको बयान गरुन । यसका लागि आवश्यक पूर्वाधारको विकास हुनुपर्छ ।
नगरबासीको जीवनस्तर उकास्न तपाईसँग कस्तो योजना छन् ?
–म कामको थालनी गर्नुभन्दा अगाडि त्यसको दीर्घकालीन प्रभावका बारेमा विज्ञहरुसँग राय सुझाव र सल्लाह लिन्छु । स्थानीय निकायमा सही नेतृत्व निर्वाचित भएमा धेरै कम गर्न सकिन्छ । खासगरी नगरबासीको जीवनस्तर उकास्नका लाग गरिब, महिलाहरुलाई सीप विकासको तालिम दिनुपर्छ । तालिम दिएर उनीहरुलाई उत्पादन क्षेत्रमा लगाउन स्रोत साधनको व्यवस्था गरिदिनुपर्छ । समय समयमा उनीहरुको कामको मनिटरिङ्ग गर्ने, बजार सहजीकरणका लागि एउटा संयन्त्र बनाएर सहयोग गर्ने, उनीहरुका नानीहरुको शिक्षामा जोड दिने गर्न सकिएमा विस्तारै नागरिकको जीवनस्तर उकासिन्छ ।
तपाई निर्वाचित भएर गएपछि कस्ता किसिमका विकास निर्माण पहिलो प्राथमिकतामा रहन्छन् ?
–त्यो नगरबासीको आवश्यकता अनुसार निर्धारण गरिने कुरा हो । मैले अघि नै भनिहाले अव्यवस्थित ड्रेन, सडक हुन् । त्यसपछि सुकुम्बासीको समस्या, खानेपानीको समस्या छ जुन धरानबासीको दैनिकीसँग गाँसिएको छ । त्यसलाई प्राथमिकताका साथ कार्यान्वयमा लैजानुपर्छ । यसमा मेरो सबैभन्दा ठूलो जोड रहन्छ । हुन त मैले गठबन्धनका तर्फबाट अपिल गरेको छु । कामको पाँच बर्षेे फेहिरिस्त धरानका जनतामाझ ल्याइसकेको छु । बर्षौ देखिको अव्यवस्थित बसपार्कको समस्या जुन हाल सुन्दर बस्तीमा निर्माण शुरु भएको छ त्यसलाई थप व्यवस्थित बनाउने, धरानमा एयरपोर्टको आवश्यक छ त्यसको कार्यान्यन पक्षमा जोड दिने । धरानमा एयरपोर्ट नहुँदा धनकुटा, तेह्रथुमसम्मका मानिसहरु विराटनगर पुग्न बाध्य छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश नं. १ को मात्र नभएर मुलुककै प्रतिष्ठित प्रतिष्ठान हो । त्यसलाई सुदृढ बनाउन हर सम्भव मेरो प्रयास रहने छ । सर्दु करिडोर निर्माण, जलाधार क्षेत्रको संरक्षण, यहाँका मठमन्दिर देवालयको संरक्षण र हरेक बालबालिकाको शिक्षामा पहुँच लगायत काम सदैव मेरो प्राथमिकताा रहन्छ ।
धरानमा भएका अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा दिने भनेर यसभन्दा अगाडिका नगर नेतृत्वले आश्वासन दिँदै आए । तर धनीपूर्जाको सट्टा २०७२ को मापदण्ड निर्धारण
गरेर उनीहरुलाई विस्थापित गराउने सम्मको निणय गरे । तपाई निर्वाचित हुनुभयो भने के गर्नुहुन्छ ?
–अव्यवस्थित बसोबासीहरुलाई नगरपालिकाले व्यवस्थित गराउनुपर्छ विस्थापित गर्ने होइन । २०७२ को मापदण्ड निर्धारण गरेर उनीहरुलाई विस्थापित गराउन खोज्नु आपत्तिजनक कुरा हो । म निर्वाचित भएँ भने उनीहरुलाई व्यवस्थित गर्छु । सुकुम्बासी वस्तीभित्रको कारुणिकता मैले दखेको छु, अनुभूति गरेको छु । आयोग बनाएर उनीहरुलाई धनीपूर्जाको व्यवस्गा गर्छु । उठाउनै पर्ने अवस्थामा रहेकाहरुलाई पनि उचित विकल्प दिएर मात्र स्थानान्तरण गर्नुपर्छ । कसैको थाँतथलो त्यसै मास्न पाइदैन । नागरिक सरकारले उनीहरुको सम्पत्तिको संरक्षण गर्नुपर्छ । नगरपालिका पनि स्थानीय सरकार भएकोले उनीहरुको संरक्षण गर्छ ।
यहाँ निर्वाचन अगाडि एउटा कुरा बोल्ने निवाचित भएपछि अर्को काम गर्ने प्रवृत्तिको विकास भएको छ नि ?
–म निर्वाचित भएँ भने जनताको सेवा गर्ने प्रणका साथ जान्छु । कसैमाथि शासन गर्न होइन । म आफूले बोलेको कुरा पूरा गर्छु । आम धराने नागरिकले अबचाहिँ धरान नगरले सही नेतृत्व पायो भन्ने कुराको अनुभूत गराउँछु । मैले विगतमा नगर र पार्टीको पदमा नरहँदा पनि गरेको कामको धराने जनताले मुल्यांकन गरेका छन् । आफ्नै निजी स्रोत साधन खर्चेर औषधि उपचार, उपचार गर्न नपाएकाका लागि उपचार खर्च, बृद्धबृद्धालाई आवागमनमा सहज होस् भनेर वरुण टोलमा फलामे सिढी, उपचारको अभावमा बीपी प्रतिष्ठनमा पुगेकाहरुलाई भनसुन गरेर औषधि, आइसियुको व्यवस्था गरिदिएको छु । यस्ता जनहितका काममा मैले आफ्नो राजनैतिक धरातल भन्दा माथि उठेर काम गरेको छु । तसर्थ काँग्रेसका तर्फबाट किशोर राईलाई जिताएर व्यर्थ गरिएछ भन्ने स्थिति नै म आउन दिन्नँ ।
तपाइसँग धरानका समृद्धिका लागि धेरै योजना छन् । यसका लागि सरकारले दिएको सिलिङ बजेट र स्थानीय करले मात्र पग्दैन होला ? स्रोत साधन कसरी जुटाउनुहुन्छ ?
–म भगवानप्रति आस्था राख्ने मान्छे पनि हुँ । भगवानले भन्नु हुन्छ रे तँ चिता म पु¥याउछु । काम गर्नेका लागि स्रोत साधनको कमी हुँदैन । स्रोत जुटाउने सामाथ्र्य मसँग छ । स्थानीय निकाय माथि दुई तह छन् । प्रदेश सरकार र संघीय सरकार । हामीले निर्माणको शुरुवात गछौैं । तर दुवै सरकारलाई बजेटका लागि आग्रह गछौं । त्यसबेला एक्लो किशोर राई मात्र होइन सिंगो नगर नेतृत्व नै डेलिगशन जान्छ । राम्रो कामका लागि उहाँहरुले बजेट दिन बाध्य हुनुपर्छ । अर्कोतर्फ विभिन्न दातृ निकायहरु छन्, एनजिओ आइएनजिओहरु छन् । हाम्रा योजनाहरु उनीहरलाई दिन्छौं । साधन, स्रोत उपलब्ध गराउन आग्रह गर्छौैं । त्यसैले काम गर्न स्रोत साधनको कमी हुन दिन्नँ ।
धरान उपमहानगरपालिकाले नेपालका अन्य स्थानीय निकायको तुलनामा अत्याधिक कर असुल्ने गरेको, पटक पटक नागरिकबाट कर कटौतीका लागि आग्रह गर्दापनि सुनुवाई नभएको जन गुनासो छ, यसमा तपाई के भन्नुहुन्छ ?
–यस भन्दा अगाडिको नेतृत्वले के ग¥यो के गरेन भन्दा पनि म निर्वाचित भएर गएँ भने त्यस्ता फजुल कर कटौति गर्छु । फजुल खर्च नियन्त्रण गर्छु, फजुल शीर्षकका बजेट विनियोजन हुनै दिन्नँ । धराने जनताको राय अनुसार काम गर्छु ।
एउटा घर नक्सा पास गर्न लाखौ रुपया खर्च गर्नुपर्ने, जन्म, मृत्यु, विवाह दर्ता, गराउँदा शुल्कसँगै घुस खुवाउनुपर्ने, नगरपालिकामा पियन (सहयोगी) हुँदा हुँदै एउटा टेवलका फाइल अर्को टेवलमा सेवाग्राहीले नै बोकेर लैजानुपर्ने जस्ता कैयन गुनासा नगरबासीको छ । यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?
–अन्य नगरपालिकाले घर जग्गा नक्सा पास निःशुल्क गर्ने भनिसकेका छन् । हामी सोको अध्ययन गरेर सोही अनुसार जान्छौं । सिफारिस, जन्म, मृत्यु, विवाह दर्तालाई निःशुल्क बनाउँछौं । सेवाग्राहीको कामलाई चुस्त र दुरुस्त बनाउँछौं । यदि म नगर नेतृत्वमा गएँ भने नागरिकले त्यस्ता गुनासा गर्नै नपर्ने अवस्थाको सिर्जना गर्छु ।
तपाई फुटबलमा झै राजनीतिमा ह्याट्रिक गर्दै हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?
–हा..हा..हा.., मैले फुटबलमा ह्याट्रिक गरेरै सफलता पाएको हुँ । अब राजनीतिमा ह्याट्रिक गर्न धरानका आम सर्वसाधारणले मलाई साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।
धरानका आम मतदाताललाइ तपाइ के भन्न चाहनुहुन्छ ?
–धरानका आम मतदाता जो मेरा भाई बहिनी, मेरा सहकर्मी बुबा, आमाहरुलाई धरानको समृद्धिका लागि विरासतको राजनीति नेतृत्व परिवर्तन नगरे धरानले समृद्धि प्राप्त गर्न सक्दैन यसका लागि रुख छापमा मतदान गरी धरानको समृद्धिलाई अगाडि बढाउन आग्रह गर्दछु ।

