वडाबासीसँग समन्वय गरेर अगाडि बढ्छु : मुरारी भट्टराई, वडा नं. १६ का वडाध्यक्षका प्रत्यासी
तपाईको उमेद्वारी के का लागि हो ?
–वडा नं. १६ मा हिजोको नेतृत्वमा जुन वेथिति देखा परेको थियो त्यसलाई व्यवस्थित गर्नुपर्ने छ । हरेक कुरा पारदर्शी हुनुपर्छ भन्ने मेरो मान्यता छ । जनप्रतिनिधि भएर गएपछि यो साँच्चै नै वडाबासीको अभिभावक रहेछ भन्ने कुराको अनुमूति गराउनु पनि हो । मनपरी ढगले ४÷५ जना मानिसको मात्र जीवन स्तर उकास्ने काम विगतमा भयो । जनताको विकासका लागि आएको बजेट ४÷५ जना मानिसले कमाउने भाँडो बनाए । पारदर्र्शी ढंगले जनतासँग सम्वाद समन्वय गेर स्थानीय उपभोक्ताले नै काम गर्ने गरी परिपार्टी बनाउन पनि मेरो उमेदवारी हो । अर्को कुरा शान्ति सुरक्षाको टड्कारो आवश्यकता छ । १६ नं. वडा धेरै ठूलो भएको छ । एउटा प्रहरी चौकीको आवश्यकता छ । कुनै घट्ना हुँदा डेड दुई घण्टामा पनि प्रहरी आइपुग्न नसक्ने समस्या छ । यसको समाधान गर्नु आवश्यक छ । धरान १६ मा धेरै सामुदायिक विद्यालयहरु छन् । ती विद्यालयहरुमा राजनैतिक खिचलो छ त्यसबाट मुक्त गर्नपर्छ । शिक्षाको गुणस्तर बढाउनुपर्ने छ । खहरे करिडोरमा जुन तटबन्ध बनिरहेको छ त्यसलाई अझ व्यवहारिक र बलियो बनाउनुपर्ने छ । सीमाना टोलको सुरक्षाका लागि तटबन्ध आवश्यक छ । अव्यवस्थित बसोबास भएको बस्तीमा पानीको पहुँच प¥याउनुपर्ने छ । स्वास्थ्यको, शिक्षाको पहुँच पु¥याउनु पर्ने छ । धेरै बालबालिकाहरुले आर्थिक कारणले पढ्न नपाइरहेको अवस्था छ । त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा म केन्द्रित हुन्छु । यसका लागि राज्यले, वडाले लगाउनुपर्ने स्रोत, साधन परिचालन गर्न सकिन्छ । जेहेन्दार विद्यार्थीहरुले खर्चको कारणले पढ्न नपाइरहेको अवस्था छ । अर्को कुरा बृद्ध बृद्धाका लागि बस्ने चौतरीको पनि आवश्यक छ । पूर्वाञ्चलकै गहना रंगशाला यही वडामा छ । यसलई थप व्यवस्थित बनाउन वडाकै मात्र बजेटले पुग्दैन होला तर नगरपालिका, प्रदेश र केन्द्रसँग पहल गरेर बजेटको व्यवस्थापन गर्न सकिन्छ । रात्रीकालीन खेल खेल्न सक्ने अवस्था बनाउनुपर्छ । हिजो जे जति कुराहरु आए तर कहिल्यैै जनतालाई खबर भएन । तालिमका कुरा आए, महिला उद्यमीका कुरा आए, महिलाको जीवनस्तर उकास्ने धेरै कार्यक्रम आए, ड्राइभिङ्ग प्रशिक्षणका कुरा आए तर कहिल्यै १६ नं. वडाबासीलाई हिजोको नेतृत्वले जानकारी समेत गराएन । अब हामी त्यसलाई पारदर्शी गरेर वा जनता र जनप्रतिनिधिको संवादबाट अगाडि बढ्ने मेरो मुख्य लक्ष्य हो ।
वडा नं. १६ को मुख्य समस्याचाहिँ के हो ?
–सबैभन्दा मुख्य समस्या भनेको जनताले पाउने सेवा सुविधाको अपरदर्शिता भएकोले पारदर्शी ढंगले जनतालाई कहीँ पनि अप्ठेरो नहुन गरी काम गर्नुपर्ने हुन्छ । जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ । जनप्रतिनिधि भइसकेपछि कसैप्रति काखा पाखा नगरी काम गर्नुपर्छ । भोलि नेपाली काँग्रेसले वडामा जित्यो भने काँंग्रेसलाई मात्र होइन हामीले सबै राजनीतिक दल, सबै वडाबासीहरुलाई समान ढंगले हेर्नुपर्छ । हामीले यो चाहिँ हाम्रो साच्ँचैको अभिभावक रहेछ भन्ने अनुभूति दिलाउने कुरामा कही कतै कन्ज्युस्याई गर्नु हुँदैन । सबैभन्दा पहिला पानीको व्यवस्थापन गर्नुपर्छ । पानीमा बजेट हालेर भोलि नै पानी ल्याउन सक्दैनौं । त्यो कुरा ययार्थ हो तर जहाँ कमीकमजोरी भएको छ । जहाँ चुहावट भएको छ । वितरण प्रणालीम जहाँ त्रुटी भएको छ त्यसलाई तत्काल सुधार गर्न खानेपानी बोर्डलाई दबाब दिएर काम गर्छौं । अहिले कहीँ पानी आएको छ कही आएको छैन । एउटै लाइनमा कही आएको छ अर्कौ ठाउँमा आएको छैन । यसमा आफू पनि खटेर दह«ो लाग्छौं ।
आफ्नो जितमा कतिको सुनिश्चित देखिनुहुन्छ ?
–हिजोको अवस्था अहिले छैन । म सुनिश्चित छु । हिजो चुनाव हारेर पनि हामी निरन्तर जनताको सेवामा लागिरहेका छौ । आज हामी कामै नगरी चुनावमा भोट दिनस् भनेर गएका छैनौ । हामीले निरन्तर काम गरिहेका छौं । हो हामी कलम चलाउने ठाउँम बस्न पाएनौ होला तर हाम्रो बलबुता र हाम्रो सोर्सफोर्सले गर्र्ने कामहरु जनताबीचमा गएर निरन्तर ५ बर्षदेखि गरिरहेका छौं । त्यसैले वडा न. १६ का जनता हिजो हामीले गल्ति ग¥यौ, यसपटक हामीले काँग्रेसलाई जिताउनुपर्छ । मुरारी भट्टराईलाई जिताउनुपर्छ, गठबन्धनबाट मेयरमा काँग्रेसका किशोर राईलाई, उपमेयरमा आइन्द्रविक्रम बेघालाई जिताउनुपर्छ भनेर वैसाख ३० गते पर्खेर बसेको अवस्था हामीले महसुस गरिरहेका छौं ।
वडा नं. १ मा काँग्रेसको जित सुनिश्चित छ :यज्ञमणि आचार्य, वडा नं १ को वडाध्यक्षका प्रत्यासी
वडामा तपाईको उमेद्वारी के का लागि ?
–मेरो उमेद्वारी यो वडाको विकासका लागि हो । म पदमा नहँुदापनि वडाको विकासमा लागिरहेको थिए । मैले
राजनीतिलाई समाजसेवाको रुपमा लिएरकाम गर्दे आएको छुँ । स्थानीय बासिन्दालाई जुनसुकै अप्ठेरो पर्दा पनि मैले आफ्नो तर्फबाट सहयोग पु¥याएको छु । मैले जित भने अझ सक्रिय भएर काम गर्नेे छु ।
तपाइको वडामा सबैभन्दा ठूलो समस्या भनेको के हो ?
–पहिलो बाँदर हो । दोस्रो पानीको समस्या हो । पानीको हाहाकार मच्चिएको छ । ट्राफिक लाइट, अव्यवस्थित तारहरु, सरसफाइको समस्या छ । पार्किङ्गको अव्यवस्था छ । सडकका दुवै पट्टि सवारी पार्किङ गरिन्छ । त्यसलाई व्यवस्थित बनाउनुपर्छ ।
तपाई आफ्नो जितप्रति कतिको सुनिश्चित हुनुहुन्छ ?
–म विश्वस्त छु । यो वडामा पहिला पनि काँग्रेसले नै जितेको थियो । फेरि पनि मैले पदमा नरहँदा गरेको विकासको काम वडाबासीले नजिकबाट नियालेका छन् त्यसैले पनि मेरो जीत सुनिश्चित छ ।
वडाको समग्र विकासका लागि मेरो उमेद्वारी : राजकुमार थोप्रा नेपाली काँग्रेस वडा नं. १९ का वडाध्यक्षका प्रत्यासी
नेपाली काँग्रेसका तर्फबाट वडा नं. १९ को धरान उपमहानगरपालिकाको वडाध्यक्षको प्रत्यासी बन्नु भएको छ । के कस्ता योजनाहरु लिएर तपाई प्रत्यासी बन्नुभएको हो ?
–मेरो उमेद्वारी वडाको विकास र समृद्धिका लागि नै हो । यस भन्दा अगाडिको नेतृत्वले वडा विकास र वडाबासीको समस्या समाधानमा जनताको अपेक्षाकृत समधान गर्न सकेन । वडामा के कस्ता र कति समस्या छन् भन्ने कुराको पहिचान गरेर म त्यसैमा समर्पित रहन्छु ।
वडाको टड्कारो समस्या के के छन् ?
–यहाँ धेरै समस्या छन् । कुन समस्यालाई प्राथमिकतामा राख्ने, कुन समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भन्ने खालका छन् । यतिबेला धरान १९ मा अहिले खोनपानीको चरम अभाव छ । यो समस्या वडा नं.े १९ को मात्र होइन पूरै धरानबासीको हो । यसको दीर्घकालीन समाधानका लागि यस वडाबाट गर्नुपर्ने पहल पहिलो प्राथमिकतामा रहन्छ । यसका अलावा सडक, ड्रेन, विद्युत पोलका समस्या छन् ।
विगतका नेतृत्वले यी समस्याहरुको समाधान गरेनन् ?
–पहलसम्म गरेको देखियो । तर पूर्ण समाधानका लागि काम नगरेको देखियो । यसलाइ पूरा गर्ने मेरो लक्ष्य छ ।
तपाई आफ्नो विजयप्रति निश्चित हुनुहुन्छ ?
–म पूर्ण रुपमा सुनिश्चित छु । धरान वडा नं. १९ का बासिन्दाले परिवर्तनको अपेक्षा राखेका छन् । नेतृत्व परिवर्तन नभई विकासले तिब्रता पाउदैन भन्ने उहाँहरुको मान्यता छ । म विगतमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका काममा समर्पित भएको थिएँ । उहाँहरुको दुःखसुखमा साथ दिएको छु । यसैलाई वडा नं. १९ का बासिन्दाले नजिकबाट नियाल्नु भएको छ । त्यसैले म आफ्नो विजयप्रति सुनिश्चित छु ।
तपाईले मतदाताहरुको रेस्पोन्स कस्तो पाउनुभएको छ ?
–असाध्यै राम्रो पाएको छु । उहाँहरु मप्रति विश्वस्त हुनुहुन्छ । उहाँहरुले विगतमा गरेको गल्ति दोहो¥याउन चाहँदैनौ भन्दै हुनुहुन्छ ।
खानेपानी समस्या समाधान पहिलो प्राथमिकतामा : सुधिरसिंह लिम्बु, वडा नं. २ वडाध्यक्षका प्रत्यासी
आसन्न स्थानीय निकायको निर्वाचनमा अन्तर्गत धरान उपमहानरपालिकाको वडा नं. २ बाट वडाध्यक्षमा नेपाली काँग्रसका तर्फबाट प्रत्यासी हुनु भएको छ । तपाईको उमेद्वारी के का लागि ?
–मेरो उमेद्वारी वडा नं. २ को विकास र सम्बृद्धिका लागि हो । वडा नं. २ मा विभिन्न समस्याहरु छन् । पानीको सबैभन्दा ठूलो समस्या छ । जस्तै ट्राफिक व्यवस्थापन गर्नुपर्ने छ । यो वडामा भौतिक निर्माणको काम प्राय ः सिद्धिएको छ । धेरै गर्नुपर्ने छैन । देशीलाइनको बाटो, भौडी पार्क, ट्याक्सी स्टेन्ड बनिसकेको छ । त्रिभुवन पथमा सौन्दर्ककरण गरिसकेक छौं । सिंहदेवी मन्दिर पनि सौन्दर्यकरणको काम भइरहेको छ । सिसी क्यामेरा जडान गरिसकेका छौं ।
पानीको समस्या धरानका २० वटै वडामा छ । तपाईहरुको पानीको लागि के योगदान रहन्छ ?
–पानीको लागि वडा नं २ ले एउटा ट्यांकर स्टेन्डवाई राख्छौं । जुन जुन स्थानमा पानी आउँदैन त्यस ठाउँमा ५ हजार लिटरदेखि १० हजार लिटरसम्मका प्लाष्टिकका ट्यांकीहरु राख्छौ । यसबाट वडाबासीले आंशिक भएपनि राहत पाउँछन् ।
–त्यस्तो ठूलो समस्या त केही छैन । भानुचौकमा बढी भिडभाड हुन्छ । यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । म मेरो जीतमा सुनिश्चित छु । पहिले पनि काँग्रेसले जितेको वडा हो । जितेपछि काँग्रेसेले यो वडामा धेरै काम गरको छ । कोरोना कालमा पनि यहाँ धेरै काम भयो । पार्टी अफिस पनि हामीले त्यसै बेला बनाएका हौ । मैले नै गणेश मन्दिरको अध्यक्ष भएर मन्दिर बनाएको हो । घण्टाघरमा पनि निर्माण समितिको सदस्य भएर काम गरेको हो । भौतिक निर्माणमा आफै सहभागी भएर काम गरेको हुँ ।
वडाको विकृति विसंगति हटाउन मेरो उमेद्वारी : नर्सिङ राई, वडा नं. १७ का वडाध्यक्षका प्रत्यासी
तपाईको उमेद्वारी के का लागि ?
–मेरो उमेद्वारी भनेको धरान १७ मा जुन अहिले चलेको वेथिति, भ्रष्टाचार, लुटतन्त्र मनपरीतन्त्र , सिण्डिकेट छ त्यसको अन्त्यको लगि हो । विकास निर्माणका काममा अत्यन्तै ठूलो अनियमतिता भएको छ । अब युवाले वडाको नेतृत्व सम्हाल्न आउनुपर्छ । भएका विकृतिविरुद्ध लड्नसक्ने व्यक्ति अब वडामा आउनुपर्छ भन्ने मेरो धारणा हो र यसैको लागि मेरो उमेद्वारी हो । वर्तमान वडा नेतृत्वले २०७२ को मापदण्ड राखेर सुकुम्बासीलाई उठाउने जुन षड्यन्त्र गरेको छ त्यो घोर निन्दनीय छ । हामी उहाँहरुलाई विस्थापित हुन दिँदैनौं । कथंकदाचित उहाँहरुलाई हँटाउनै प¥यो भने पनि बसोबासको विकल्प दिएर मात्र हँटाउनुपर्छ ।
वडा नंं १७ मा टड्कारो समस्या के हो ?
–यहाँको टड्कारो समस्या भनेको शैक्षिक क्षेत्रमा देखिएको विकृति हो । शैक्षिक क्षेत्रमा हालका जनपतिनिधिले यहाँका पाँच वटा सामुदायिक विद्यालयमा आफनो पार्टीका मान्छेलाई जागिर लगाउने, कार्यकर्ता पोस्ने, सञ्चालक समितिमा आफ्ना मान्छे नियुक्त गरेर अराजकता मच्चाएका छन् । समस्याको समाधान भन्दा पनि समस्यामा धकेल्ने काम गरेका छन् । शैक्षिक क्षेत्र लथालिंग भएको छ । चरम भ्रष्टाचार भएको छ । आएको बजेट सही ठाउँमा लागेको छैन । वडा नं. १७ धेरै ठूलो एरिया छ । यहाँ सप्तरंगी पार्क रहेको छ । यसलाई सही सदुपयोग गर्नेतर्फ वर्तमान नेतृतवले कहिल्यै चासो दिएन । यतिमात्र होइन यहाँका बासिन्दाहरु विकास, स्वरोजगारबाट बञ्चित रहेका छन् । वडा नं. १७ मा लागू औषध दुव्र्यसनीहरुको समस्या छ । यसको समाधानका लागि स्पष्ट भिजन अनुसार म काम गर्छु । यहाँ सुशासनको अभाव छ । विकास निर्माणमा चार पाँच वटा सिण्डिकेट लगाइएको छ । जनताले वडाबाट समान्य सेवा सुविधा पनि पाएका छैनन्, यसका लागि म निरन्तर समाधानमा लाग्छु ।
तपाई आफ्नो विजयपति कत्तिको सुनिश्चित हुनुुहुन्छ ?
–म पूर्ण रुपमा सुनिश्चित छु । हालसम्म ८० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छु । सबै मतदाताहरुले राम्रो रेस्पोन्स गर्नुभएको छ, माया गर्नुभएको छ । वडाबासीहरु पुरनो नेतृत्वबाट आजित भइसक्नु भएको छ । अहिले नेपाली काँग्रेसको पक्षमा अर्कै खालको वातावरण बनेको छ । अन्य पार्टी छाडेर सैयौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरी सघाउँदै हुनुहुन्छ । त्यसैले मेरो विजय सुनिश्चित हुन्छ भन्ने लागेको छ ।
मतदाताहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
–अब यही वैसाख ३० गते हुने निर्वाचनमा वडाबासीप्रति समर्पित, हर समय वडाबासीको दुःख सुखमा साथ दिने उमेद्वारलाई मतदान गरी विजय बनाउन म आग्रह गर्दछु । म एउटा युवा पनि हुँ । मेरो युवा जोश, जाँगर ऊर्जा यही वडा न. १७ को समृद्धिका लागि खर्चिन चाहन्छु । त्यसैले पनि म पुनः आग्रह गर्न चाहन्छु वैसाख ३० गते हुने निर्वाचनमा रुख चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्दछु ।





