आसन्न स्थानीय निकायको निर्वाचन हुन अब २४ दिन बा“की रहेको छ । नेपालको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली काँग्रेसको इमान्दार कार्यकर्ता, नेपाली काँग्रेसलाई मतदान गर्दै आएका सर्वसाधारण, विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरु खिन्न छन् । उनीहरुमा खिन्नताको एउटै कारण हो नेपाली काँग्रेसको नेतृत्व नसुध्रिए नेपाली काँग्रसले भारतीय काँग्रस आइको नियति भोग्ने भयो । झण्डै ६० बर्ष सत्ताको बागडोर सम्हालेको काँग्रेस आइ आज करिब करिव विलुप्त हुने अवस्थामा पुगेको छ । यसको प्रमुख कारण सत्ता प्राप्तिका लागि फरक विचार, फरक धारणा, फरक आदर्श, फरक संस्कृति अंगालेका दलहरुसँगको गठबन्धन ।
इतिहासले कुनै न कुनै कालखण्मा युग पुरुष जन्माउँछ । नेपालको सन्दर्भमा पनि बीपी कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, बोधराज उपाध्याय धनवर्ण राई, योगेन्द्रमान शेरचन, नारदमुखी थुलुङ लगायका मुलुकका लागि निष्ठाको राजनीति गर्नेहरुबाट स्थापित नेपाली काँगेस आज वर्तमान नेतृत्वको गलत रवैयाका कारण धुलिसात हुने अवस्थामा पुगेको छ । आफ्नै ओजपूर्ण इतिहास भएको आफ्नै आदर्श र विचार भएको, मुलुकका कुना कन्दरासम्म संगठन भएको काँग्रेस यतिबेला विचारविहीन भएर भड्किएको छ । नेतृत्वको केवल एउटै लक्ष्य छ अपवित्र गठनन्धन
गरेर भएपनि सत्ताबाट विमुख हुनु नपरोस् । राजनीतिको अन्तिम लक्ष्य सत्ता प्राप्ति हो यसमा दुई मत छैन । तर आफ्ना सम्पूर्ण मूल्य मान्यता, आदर्शलाई तिलाञ्जली दिएर प्राप्त गरिने सत्ता क्षणभंगुर हुने र पार्टीलाई धरासायी बनाउने मात्र हुन पुग्छ । हिजो आफूलाई प्रधानमन्त्री बन्न सहयोग गरे भन्दैमा पार्टीलाई इतिहासको कठघरामा उभ्याउने जुन दुचेष्टा भएको छ त्यो क्षमायोग्य छैन । एउटा परिस्थितिमा विचार नमिल्ने, उद्देश्य नमिल्ने, आदर्श नमिल्ने, वर्वरतापूर्ण इतिहास बोकेकाहरुसँग गठबन्धन गर्ने र त्यसलाई मुलुकभरिका कार्यकर्ताहरुले मान्नुपर्छ भनी उर्दी जारी गर्नु लज्जाको विषय हो । नेतृत्वले विगतलाई हेरेर भविष्यका लागि वर्तमान निर्णय लिनुपर्छ तर त्यो खुशी वर्तमान नेतृत्वमा शून्य देखियो ।
विगतमा एमालेलाई आफ्नो स्वार्थका लागि छिन्नभिन्न बनाएको शक्तिसँग काँग्रेस नेतृत्वले हिमचिम बढाएपछि काँग्रेसको अधोगतिको यात्रा शुुरु भएको छ । धन्न एमालेको वर्तमान नेतृत्वले आफ्नो संगठनलाई भताभुंग हुन दिएन, थप सशक्त बनाउँदै लग्यो । एमाले छिन्नभिन्न बनाउन खोज्नेहरु आफै छिन्नभिन्न हुन पुगे । उनीहरुलाई एउटा दब्रिलो छहारीको आवश्यकता थियो जसको परिपूर्ति नेपाली काँग्रेसका वर्तमान सभापति जो सत्ता स्वार्थभन्दा माथि कहिल्यै उठ्न सकेनन, उठ्ने छनक पनि कहिल्यै देखाएनन् र उठ्ने सामाथ्र्य पनि राख्दैनन् उनैले आश्रय दिए । आज समग्र काँग्रेसका लागि स्थानीय निर्वाचनमा जुन अपवित्र गठबन्धन गरिदैछ त्यो अत्यन्तै महंगो पर्ने निश्चित छ ।
नेपाली काँग्रेसका मुलुकभरिका तमाम कार्यकर्ता वर्तमान कांग्रेस नेतृत्वको गुलाम होइनन् । बीपी लगायतका आदर्श पुरुषको प्रेरणाबाट काँग्रेस भएका हुन् । वर्तमान नेतृत्वको निर्देशन, चेतावनी त्यस्ता इमान्दार कार्यकर्ताका लागि कुनै माने रहँदैन । स्वार्थका लागि नेतृत्वको वरिपरि घुम्ने, पद प्रतिष्ठा आर्जन गर्ने लालसा बोकेर काँग्रेस भइ टोपलेकाहरुले नेतृत्वको चेतावनी मान्लान् निर्देशन मान्लान । तर आम इमान्दार कार्यकर्ता त्यो चेतावनी र निर्देशन मान्ने पक्षमा छैनन् । आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । एउटा कुरा निश्चित छ आसन्न स्थानीय निकायको निर्वाचनमा इमान्दार र निष्ठावान कार्यर्काले अपवित्र गठबन्धमा गर्दैनन्, त्यसपछिको चुनावी परिणामको जिम्मा नेतृत्वले लिनुपर्छ । एकपटक ठेस नलाई चेत खुल्दैन पनि ।
