धरान । धरानमा चुलिएको खानेपानी अभावका कारण पानीबाट चल्ने सबै व्यवसाय चौपट भएको छ ।
विशेष गरेर पानी विना चल्नै नसक्ने नर्सरी व्यवसायी पानीको अभावका कारण व्यवसायहरु समस्यामा परेका छन् । उनीहरु नर्सरी व्यवसाय छोडेर विस्थापित हुने अवस्थामा पुगेका छन् ।
पानी अभावकै कारण क्यामेलिया नर्सरी व्यवसाय सञ्चालन गरेर बसेका दुई दर्जनभन्दा बढी व्यवसायीको व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको छ ।

१० बर्षदेखि धरान ७ शान्तिपथमा क्यामेलिया नर्सरी सञ्चालन गर्दै आउनु भएका राजेश राईले नर्सरी व्यवसाय पानी विना चल्नै नसक्ने बताउनुभयो । उहाले भन्नुभयो ‘यो समस्या अहिलेको मात्र हैन, बर्षेनी हुने गर्छ, सुख्खा मौसमका समयमा खानेपानी वितरण गर्ने जिम्मेवार निकायले हाम्रो कुरा नसुनिदिएका कारण बर्षेनी यस्तो समस्या आएको हो ।’
पानी अभावका कारण लगाएको फूलका विरुवा सुकेर सबै नष्ट भएको उनी गुनासो पोख्छन् । अहिले आकाशबाट पनि पानी नपरेका कारण नर्सरीमा राखिएका फूलका विरुवाका लागि पानी किनेर हाल्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
नेपाल फलोरीकल्चर एसोसिएसन नेपाल सुनसरीका सचिव समेत रहनु भएका राईले पानीकै अभावका कारण विरुवा मर्दा करोर्डौ रुपैया घाटा व्यहोर्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘एक एक बर्षको मात्र हैन, बर्षौदेखिको समस्या हो, यसको समस्या समाधानमा हामीले खानेपानी बोर्डमा पटक पटक कुरा राख्यौ, हाम्रो कुरा कहिल्यै सुनुवाई नै भएन ।’ उहाँ भन्नुहुन्छ ।
धरान ९ पूर्णपथमा एन्जिला नर्सरी सञ्चालन गर्दै आएका रतन वेराको अवस्था पनि राईकै जस्तै छ । उहाँ पनि पानी अभावका कारण आफूले लगाएको विरुवा जोगाउनै गाह्रो भएको बताउँनुहुन्छ । पानी नभएकै कारण एक हप्तामा ६ हजार लिटर पानी किनेर लगाउन उहाँको भनाई छ ।
नेपाल लगायत विदेशबाट समेत आयात गरी ल्याएका विरुवा पानीको समस्याले हुर्काउनै गाह«ो भएको उहाले बताउनुभयो । उहाले भन्नुभयो–‘विदेशबाट पनि फूलका विरुवा ल्याउनपर्ने अवस्था छ, यहा ल्याएर त्यो फूल बेच्न गाह्रो छ, एउटा विरुवाको मूल्य ६ हजारसम्म पर्ने छ, लामो समय विक्री भएन भने हामीलाई धेरै समस्या हुन्छ ।’
एसोसिएसनका अनुसार धरानमा मात्रै २५ वटाभन्दा बढी साना र ठूला नर्सरी सञ्चालनमा छन् । पानीकै अभावले खरिद गरेर ल्याएको विरुवा हुर्काउन नसक्दा व्यवसाय नै चौपट्ट बनेको छ । यहा उत्पादन भएका फूलका विरुवाहरु स्थानीय स्तरमा विक्री हुनेमात्र हैन काठमाण्डौ लगायत भारतका विभिन्न स्थानमा समेत निर्यात हुने गरेका छन् । तर पानीकै अभावका कारण यो पेशाबाट विस्थापित हुने अवस्था आएको छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।
