धरान । राजनीतिक दलहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको आक्रोस पोख्दै ‘नो लालपूर्जा नो भोट’ को अभियानलाई निरन्तता दिएका छन् ।
हरेक राजनीतिक दलको घोषणापत्रमा सुकुम्बासी समस्या समाधानको कुरा उल्लेख भएपनि चुनाव जितिसकेपछि कार्यान्वयन नगर्ने भन्दै अबको स्थानीय चुनाव अघि सुकुम्बासीलाई लालपूर्जा नदिए भोट नहाल्ने भन्दै देशभरका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउदै आएका छन् ।

यसै क्रममा धरानमा पनि आइतबार ‘नो लालपूर्जा नो भोट’ अभियान चलाए । धरान १ छाताचौकबाट निकालेको ¥याली धरान उपमहामनगरपालिकामा पुगेर मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएको थियो । उनीहरुले सुकुम्बासीलाई जहिल्यै आश्वासन दिएर बलीको बोका बनाइने राजनीतिक चरित्रको अन्त्य गर्दै वैसाख ३० गते हुने स्थानीय चनाव अघि नै सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नुपर्नेै माग राखे ।
घोषणापत्रमा सुकुम्बासीलाई स्थानीय बसोबासको व्यवस्था,सुकुम्बासी क्षेत्र विकास कोषको स्थापना गरी बाटो, पानी, विजुली बत्ती लगायतका कुरालाई समेटिएको छ । १० बुदे घोषणापत्र बुझाउदै नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्कीले सुकुम्बासीलाई राजनीतिक दलले चुनाव जित्ने माध्यम बनाएको बताउनुभयो । उहाले भन्नुभयो ‘राजनीतिक दलका लागि सुकुम्बासी सुनको अण्डा पार्ने कुखुरा जस्तै भएको छ, घोषणापत्रमा सुकुम्बासी समस्या समाधानको कुरालाई प्राथमिकतामा राखिएको हुन्छ, चुनाव जितेर गएपछि त्यो मुद्दा नै ओझेलमा पर्छ ।’
उनीहरुले आयोगको झन्झिटिलो प्रक्रियाबाट नभई फाष्ट ट्रयाकबाट लालपूर्जा दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । अध्यक्ष कार्कीले् भन्नुभयो ‘झन्झिटिलो प्रक्रिया भएको आयोगबाट भन्दा पनि सिधा स्थानीय तहको सिफारिसमा जिल्ला नापी कार्यालयबाट जग्गा नाप्ने र जिल्ला मालपोत कार्यालयबाट श्रेष्ता कायम गरी लालपूर्जा वितरणको कार्य गर्नुपर्छ, यसो भएमा मात्र सुकुम्बासीले सहज रुपमा लालपूर्जा पाउँछन् ।’
ज्ञापनपत्र बुझिसकेपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आयोग र नगरपालिकाबीच सुकुम्बासी समस्या समाधानमा सम्झौता भइसकेको र यसै अनुरुप काम समेत अगाडि बढिसकेकोले चाडै समस्या समाधान हुने विश्वास दिलाउनु भयो । उहाले भन्नुभयो–‘यो समस्या सबैको हो सबैले मिलेर समाधान गर्नुपर्छ, धरानलाई सुकुम्बासीमुक्त सहर बनाउनुपर्छ ।’ स्थानीय तह लक्षित ‘नो लालपूर्जा, नोट भोट’ अयिभान हालसम्म देशका १५ जिल्लाका स्थानीय तहहरुमा सकिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
