सुवास राई स्मृति सुपर ८ फुटबलको उपाधी धरान–१५ लाइ

धरान । सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिताको उपाधी धरान–१५ ले जितेको छ । शनिबार धरान रंगशालामा भएको फाइनल खेलमा वडा नं. ११ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नं. १५ ले उपाधी जितेको हो । उपाधीसँगै वडा नं. १५ ले नगद रु. २ लाख पुरस्कार समेत जितेको छ । उपविजेता भएको ११ नं. वडाले नगद १ लाख पुरस्कारमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनमा पुगेका टिमहरुलाई पनि पुरस्कार दिने घोषणा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गर्नुभएको थियो । १५ नं. वडा व्यक्तिगत पुरस्कारमा समेत अघि रह्यो १५ नं. वडाका गोल किपर प्रविण लिम्बू प्रतियोगिताको उत्कृष्ट गोल किपर घोषित भए । उत्कृष्ट मिडफिल्डर सुगम जिमी, उच्च गोलकर्ता मदन लाबुङ, उत्कृष्ट प्रशिक्षक जुदास राई र फाइनल खेलको म्यान अफ द म्याच बसन्तकुमार बानिया घोषित भए । उनीहरु १५ नं. वडाका खेलाडीहरु हुन् त्यस्तै वडा नं. ११ का अजय विष्ट उत्कृष्ट डिफेन्स घोषित भए । त्यस्तै उत्कृष्ट स्टूाइकर वर्तमान राई घोषित भए । प्रत्येकलाई नगद ५ हजार सहित मेडल प्रदान गरिएको थियो ।


फाइनल खेलमा वडा नं. ११ ले उत्कृष्ट अवसरहरुमा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । वडा नं. ११ का हेमन्त थापा मगरले प्रहार गरेको दुई वटा फ्रिकिक बारमा लागेर फर्किएको थियो । खेलको १३ औं मिनेटमा नै १५ नं. वडाका बसन्त बानियाले विपक्षि गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । त्यस्तै खेलको ५० औं मिनेटमा डिबक्स भित्र ११ नं. वडाका खेलाडीले १५ नं. वडाका सुगम जिमिलाई लडाएपछि पाएको पेनाल्टीमा १५ नं. वडाका मदन लाबुङले गोल गर्दै प्रतियोगिताको उच्च गोलकर्ता भएका थिए । उनले प्रतियोगितामा ५ गोल गरे ।
प्रतियोगिताको आयोजना धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितिले गरेको हो भने व्यवस्थापन धरान भेटूान्स फुटबल क्लबले गरेको थियो । प्रतियोगितालाई गोर्खा ब्रूअरी प्रालिले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगितामा गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी थिए । ८ टिमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा भएको प्रतियोगितामा समुह विजेता र उपविजेता सेमिफाइनलमा पुगेका थिए । प्रतियोगिता फागुन २८ गते सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया