१२ औँ इटहरी गोल्डकप चैत्र १९ बाट

धरान । आगामी चैत्र १९ बाट इटहरी गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएको छ । गोल्डकपको १२औँ संस्करण आगामी चैत १९ गतेबाट हुने आयोजक राष्ट्रिय जागृति क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । इटहरी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ३ क्लबसहित ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ


प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङदी क्लब,  न्युरोड टिम (एनआरटी), झापा–११, मोरङ–११ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एफसी भारत र एभरनिर एफसी क्यामरुनको सहभागिता रहने आयोजक क्लबका सदस्य कोवितजंग कार्कीले जानकारी दिनुभयो ।
चैत २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर र उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलइडी टिभी हात पार्नेछ। प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद १० हजार र विधागत उत्कृष्टलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका संयोजक अनुरोध थापाले जानकारी दिनुभयो । प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गर्ने भएको छ । यसअघि २०७५ माघ १२ देखि १९ गतेसम्म इटहरी रंगशालामा मदन भण्डारी इटहरी गोल्डकप संचालन भएको थियो । प्रतियोगितामा मनाङलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।  पछिल्लो समय मोफसलमा प्रतियोगिता धमाधम भइरहेका छन् ।

तपाईको प्रतिक्रिया