धरान । भारत र चीन दुवै देशसँग सीमाना जोडिएको, सामरिक दृष्टिले समेत सबैभन्दा महत्वपूर्ण मानिएको प्रदेश नं. १ को ताप्लेजुङ जिल्लाको मेवा खोलामा पाँचवटा हाइड्रो पावर बन्ने भएको छ ।
जिल्लाको मिरिङ्गदेन गाउँपालिकाको मेवा खोलाका अलग–अलग स्थानमा बन्ने हाइड्रो पावरमध्ये एउटा हाइड्रो पावरको काम शुरु भएको छ । अर्काे एउटाले सम्पूर्ण प्रक्रिया पूरा गरेर निर्माणको काम शुरु गर्न लागेको छ भने तीनवटा अध्ययनका चरणमा रहेका छन् ।

पाँचवटा जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो विद्युत आयोजना हो युनाइटेड मेवा खोला हाइड्रो पावर प्रा.लि. । पचास मेघावाट क्षमताको युनाइटेड मेवा खोला हाइड्रो पावर प्रा.लि.को काम एक बर्ष अगाडिदेखि शुरु भएको हो । आगामी ८०÷८१ भित्रमा काम सम्पन्न गर्ने गरी उक्त आयोजनाको काम भइरहेको निर्माण पक्षले जनाएको छ । आयोजनाका सिभिल इन्जिनियर दिनेश अधिकारीका अनुसार यो आयोजना निर्माण शुरु भएको तीन बर्षभित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।
यस आयोजनाका लागि सन २०२१ जुलाई २२ तारेखका दिन लगानीमा सहमति जुटेको थियो । जसमा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक नेपाल, एसविआई बैंक, मेघा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक सहित सातवटा बैंकले लगानी गर्ने सहमति जनाएका थिए । सातवटा बैंकहरुले यो हाइड्रो पावरमा सात अर्ब लगानी गर्ने भएका हुन् । जसमध्ये ६ अर्ब ७५ करोड आवाधिक कर्जा र २५ करोडको चालु पूँजी रहने भएको छ । युनाइटेड मेघा हाइड्रो पावरमा सिटिजन्स बैंकले १ अर्ब ४५ करोड लगानी गर्दैछ । यसैगरी कुमारी बैंकले १ अर्ब, मेघा बैंकले १ अर्ब नेपाल इन्फ्रास्टचर बैंकले १ अर्ब, नेपाल एसविआई बैंकले ८० करोड लगानी गर्दैछन् । आयोजनाका अनुसार तीन साल भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको र काम तिब्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाले नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय जस्ता नेपाल सरकारका निकायहरुबाट सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर निर्माण कार्य थालेको हो ।
उक्त आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको कोशी करिडोर अन्तर्गतको ताप्लेजुङ्ग जिल्लाको ढुंगेसाघु स्थित शव स्टेशनमा जोडिने भएको छ । आयोजनाले हिउँद याममा ९७.४२४ गिगावाट घण्टा र बर्षा याममा २०५. ३८७ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । नेपाली प्राविधिक र कामदारसँगै युनाइटेड जल विद्युत आयोजनामा चाइनिज प्राविधिक र मजदुहरुले समेत काम गरिरहेको आयोजनाले जनाएको छ ।
यसैगरी मेवा खोलाबाट विद्युत उत्पादनका लागि युनाइटेड मेवा खोला हाइड्रो कम्पनी प्रा.लि.का अलावा मेवा डेभलपर्स कम्पनीको मध्य मेवा जलविद्युत आयोजनाले यसै आर्थिक बर्षदेखि काम अगाडि बढाउने भएका छन् । मेवा डेपलर्स कम्पनीले ४९ मेघावाट विद्युत उत्पादन गर्ने भएको छ । यो आयोजनाले विद्युत उत्पादनका लागि सन २०२० जनवरी २६ मा नेपाल सरकारबाट इजाजत पत्र लिइसकेको मात्र छैन लगानी समेत जुटाइसकेको छ । जसमा हिमालय बैंकको अगुवाईमा नेपाल इन्फ्रास्चटर बैंक, कुमारी बैंक, क्रेडिट एण्ड कमर्श बैंक, एसविआई बैंक, सानीमा बैंकले लगानीको प्रतिबद्धता जनाएका छन् । मध्य मेवा जल विद्युत आयोजनामा ९ अर्ब ५० करोड खर्च हुने जनाइएको छ ।
यसैगरी मेवा खोलामा २३ मेघावाटको युनियन हाइड्रो कम्पनीले मेवा खोला जलविद्युत आयोजनाका लागि नेपाल सरकारको सम्बन्धित निकायमा आवेदन दिइसकेको छ । उता ३१.९२ मेघावाटको अप्पर मेवाखोला ए जलविद्युत आयोजना निर्माणका लागि सूर्य होल्डिङ कम्पनी र मेवा खोला ए ४ मेघावाटका लागि क्युव इनर्जीले सरकारसँग अनुमति लिएर हाल अध्ययन गरिरहेका छन् ।
