नेपाली काँग्रेसका एक धरोहरको निधन

धरान । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का बलियो धरोहर धनबहादुर कटुवालको सोमबार दुःख निधन भएको छ ।
पार्टी प्रतिबन्धित अवस्थादेखि नै निरन्तर नेपाली काँग्रेसमा समर्पित कटुवाल बीपीको आदर्शबाट प्रभावित भएर नै नेपाली काँग्रेसमा आवद्ध हुनु भएको थियो । वि.सं. २०१२ सालमा जन्मनु भएका कटुवाल चौध बर्षको उमेरदेखि नै नेपाली काँग्रेसको गतिविधिमा सक्रिय रहँदै आउनु भएको थियो ।


शालीन र भद्र स्वभावका कटुवालले वि.सं. २०३४ सालदेखि नेपाली काँग्रेसमा अझ सक्रिय बन्दै जानुभयो । ६६ बर्षिय कटुवालले २०३४ सालमा धरान उपमहानगरपालिका वडा नं. ५ साविकको पाँचकन्या गाविसको अध्यक्षमा जनपक्षीय उमेद्वार भएर निर्वाचन नै लड्नु भएको थियो । तर तत्कालीन पञ्चहरुले उहाँलाई विजयी हुन दिएनन् । वि.सं. २०४३ सालमा गिरिजा प्रसाद कोइरालाले निर्वाचनलाई उपयोग गर्ने रणनीति लिनुभएपछि उहाँ पाँचकन्या गाविसको प्रधानपञ्चमा जनपक्षीय उमेद्वारको रुपमा प्रतिष्पर्धी बन्नुभयो । पञ्च इतरका उमेद्वारलाई त्यसबेला पहरी प्रशासन, सिडियो, अञ्चलाधीशले विजयी हुन नदिने नीति नै बनाएका थिए । त्यसबेला उहाँले ९ सय ८६ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिद्वन्द्वी पदमबहादुर कार्कीले ६ सय ३० मत ल्याउँदा पनि विजयी घोषणा गरिएको थिएन ।
वि.सं २०४६ सालको परिवर्तनपश्चात उहाँले लामो समय सम्म क्षेत्रीय सदस्य, पाँचकन्या गाविसको नेपाली काँग्रेसको अध्यक्ष, क्षेत्रीय उपसभापतिको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्नुभयो । मुलुक संघीयतामा गएपछि प्रदेशसभा ‘क’ को उहाँ संयोजक भएर पार्टी संगठनमा सक्रिय रहँदै आउनु भएको थियो । विगत केही समयदेखि पेटको क्यान्सरबाट पीडित कटुवालको चैत्र ७ गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन हुन पुग्यो । उहाँका चार छोरी, एक छोरा र श्रीमति रहनु भएको छ ।

तपाईको प्रतिक्रिया