लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयका शिक्षक मनोज पौड्याललाई आफ्नै छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गर्न गएको प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक प्रहरीको मृत्यु भएको छ भने दर्जन भन्दा बढी प्रहरी घाइते भएका छन् ।

शिक्षक पौड्यालले होलिका बेला कक्षा ७ मा अध्ययन गर्ने एक छात्रालाई घरमै गएर यौन दुव्र्यहार गरेको आरोप लागेपछि विद्यालय प्रशासनले आइतबार स्थानीय जनप्रतिनिधि लगायतसँग छलफल गरेको थियो । लेटाङ नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सूर्य मगरका अनुसार छलफल पश्चात आरोपित शिक्षक पौड्याललाई प्रहरीको जिम्मा लगाउने निर्णय भएको थियो । सोही अनुरुप विद्यालय प्रशासनले प्रहरी बोलाएको थियो । प्रहरी विद्यालय हाताभित्र प्रवेश गर्नासाथ ठूलो संख्यामा जम्मा भएका स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।
आरोपित शिक्षकलार्ई जोगाउने प्रपञ्च भएको भन्दै स्थानीयले विद्यालय हाता बाहिर नाराबाजी गदै आएका थिए । तर एक्कसी अवस्था तनावग्रस्त बन्यो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेपनि प्रहरी जवान उर्मिला श्रेष्ठमाथि छुरा प्रहार हुँदा उनको मृत्यु भएको थियो । भिडले दर्जनौ सवारी साधनमा आगजनी र तोडफोड समेत गरेको थियो । घट्नामा १६ जना प्रहरी घाइते भएका छन् भने लेटाङ ८ का मिलन खड्का र आयुष लिम्बुलाई गोली लागेको छ ।
