भारतको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा महात्मागान्धी अस्पताल

भोजपुर । भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण भएको महात्मा गान्धी मेमोरियल अस्पतालको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदुतावासकी नियोग उप–प्रमुख नामाग्य सि खम्पाले चैत्र ३ गते विहीबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
भारत सरकारको २ करोड १६ लाख रुपैयाको लागतमा उक्त परियोजना निर्माण भएको हो । उद्घाटनका अवसरमा भारतीय राजदुतावासका अधिकारी, षडानन्द नगरपालिकाका जनप्रतिनिधि, भोजपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एवम् स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

भारत स्वतन्त्र भएको ७५ औं उत्सव मनाउन भारत सरकारले अगाडि सारेको अजादीका अमृत महोत्स अन्तर्गत यस बर्ष नेपालमा भारतीय सरकारबाट निर्माण गरिएका राहत वितरण लगायतका ७५ वटा
परियोनाहरुमध्ये भोजपुरको षडानन्द नगरपालिकामा निर्माण सम्पन्न भएको महात्मागान्धी मेमोरियरल अस्पताल पनि एक हो । उक्त अस्पतालबाट भोजपुर जिल्लासँगै आसपासका अन्य जिल्लाका स्थानीयहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो भारत सरकारको निरन्तर सहयोग प्रति आभार व्यक्त गर्दछु ।
१५ शैøया क्षमता भएको उक्त अस्पतालमा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित प्रसुति कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, अस्पतालमा उपचारार्थ आउने महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय, आवश्यक फर्निचर तथा अस्पतालका लागि चाहिने उपकरणहरुको व्यवस्था गरिएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएकोमा ४ सय ६७ वटा परियोजनाहरु सम्पन्न भइसकेका
छन् । यसमध्ये भोजपुरमा चार वटा त्यस्ता परियोजनाहरु सम्पन्न भएका छन् । प्रदेश नं. १ मा १ सय ७८ वटा परियोजना रहेका छन् । यसका अलावा भारत सरकारले भोजपुर जिल्लामा तीन वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ । महात्मागान्धी मेमोरियल अस्पतालको उद्घाटन गर्दै भारतीय राजदुतावासकी नियोग उप–प्रमुख नामग्य सि खम्पाले भन्नुभयो भारत र नेपालबीचको वहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाणका रुपमा अस्पताल भवन रहेको छ ।

तपाईको प्रतिक्रिया