ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी गाउँ सिनाममा सिनाम उच्च मावि भवनको संयुक्त रुपमा समुद्घाटन

फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी (भारत र चीनसँग सीमा जोडिएको) साविकको सिनाम गाउँ पालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको नवनिर्मित सिनाम उच्च माध्यामिक विद्यालय भवनको सोमबार एमाले सांसद योगेश भट्टराई, संविधानसभा सदस्य भुपेन्द्र थेवे र नेपाल स्थित भारतीय राजदुतावासका प्रथम सचिव रोहित मिश्राले संयुक्त रुपमा समुद्घान गर्नुभएको छ ।


समुद्घाटन समारोहमा स्थानीय सरकारका जनप्रतिनिधि, स्थानीय अभिभावक, प्रहरी, प्रशासन, अध्ययनरत छात्रछात्रा र विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।उक्त विद्यालय भवन भारत स्वतन्त्र भएको ७५ बर्ष उत्सव मनाउने क्रममा भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत रहेको र यो बर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो । भारत नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको कूल ३ करोड १० लाखको अनुदान सहयोगमा विद्यालयको भवन निर्माण भएको हो । हाल निर्माण सम्पन्न भएको दुईतले भवनबाट विद्यार्थीहरुले सहज ढंगले पठन पाठनलाई अगाडि बढाउन सक्ने साँसद भट्टराईले विश्वास व्यक्त गर्नुभयो । यसभन्दा अगाडि जीर्ण कच्ची विद्यालयका कारण बर्षातको समय र हिउँदको समयमा विद्यार्थीहरुले कष्ट सहँदै आएका थिए ।
उक्त विद्यालय सन् १९५०मा स्थापना भएको थियो । हाल उक्त विद्यालयमा १६ सय छात्रछात्राहरु अध्ययनरत रहेका छन् । सन् २००३ यता भारत सरकारले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाएकोमा ४ सय ६७ वटा सम्पन्न भइसकेका छन् । यसमध्ये ताप्लेजुङका २ वटा परियोजना गरी प्रदेश नं. १ मा १ सय ७८ वटा त्यस्ता परियोजनाहरु रहेका छन् । यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ जिल्लाको विभिन्न स्वास्थ्य संस्थाहरुलाई हालसम्म ७ वटा एम्बुलेन्सहरु उपहारस्वरुप प्रदान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया