भारतद्वारा मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरीका पिछडिएका परिवारलाई राहत उपलब्ध गराइने

धरान । भारत सरकारको आर्थिक सहयोगमा नेपालको मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका परिवारलाई एल.पी.ग्याँस सिलिण्डर र खान पकाउने चुल्हो लगायत अन्य अत्यवश्यक घरायसी सामाग्री उपलब्ध गराइने भएको छ ।
यसका लागि नेपालस्थित भारतीय राजदूतावास र नेपाल भारत महिला मैत्री समाजबीच फाल्गुण २५ गते बुधबार आन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भारत सरकारले नेपाली मुद्रा दुई करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेश प्रदशेका तीन जिल्लामा तीन हजार एलपी ग्याँस सिलिण्डर र ग्याँस चुल्हो लगायतका सामाग्री नेपाल भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराउने भएको हो । यो योजना भारत स्वतन्त्र भएको ७५ बर्षको उत्सव मनाउन भारत सरकारले आगामी सन् २०२३ सम्म अगाडि सारेको अजादीका अमृत महोत्सव अन्तर्गत यसबर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक हो ।


भारतीय राजदूतावास काठमाण्डौले गत बुधबार एक विज्ञप्ती प्रकाशित गरी मधेश प्रदेशका तीन जिल्लामा त्यस्ता सामाग्री पिछडिएका परिवारलाई उपलब्ध गराउने जानकारी गराएको हो । तराईका यी जिल्लाहरुमा खान पकाउने इन्धनको ठूलो समस्या रहँदै आएको छ । दाउरा, कोइला, गुइँठा, रुखका पात, धानको भुस जस्ता परम्परागत इन्धनमा घरका गृहणीहरुले खाना पकाउन निर्भर रहँदै आउनु परेको छ । ग्रामीण क्षेत्रका पिछडिएका परिवारसम्म एलपी ग्यास जस्ता सफा खान पकाउने इन्धनको पहुँच विस्तार गर्ने हेतुले भारत सरकारले ल्याएको प्रधानमन्त्री उज्वला योजनाबाट यो योजना प्रेरित रहेको छ ।
सन् २००३ यता भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य खानेपानी तथा सिँचाई, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अगाडि बढाइसकेको छ । तीमध्ये सर्लाहीमा १९, रौतहटमा ५, सप्तरीमा ९ गरी मधेश प्रदेशका ८ जिल्लामा ८१ वटा रहेका छन् । यस अतिरिक्त भारत सरकारले सर्लाही, रौतहट र सप्तरीमा हाल सम्म ८७ वटा एम्बुलेन्स, तीन वटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ । नेपालको अत्यन्तै निकटको छिमेकी भएको नाताले भारत र नेपालबीच वहुपक्षीय एवम् वहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । विज्ञप्तीमा भनिएको छ यो
परियोजनाको कार्यान्यनले जनताको जीवन स्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिविम्वित गर्दछ ।

तपाईको प्रतिक्रिया