धरान । रोजगारी, शिक्षा लगायतका अवसरको खोजीमा विभिन्न कालखण्डमा धनकुटा जिल्लाका विभिन्न स्थानबाट बसाई सरेर धरान आइ बसोबास गरेकाहरुले शनिवार धरान–धनकुटा एकता समाज गठन गरेका छन् ।
धरानमा रहेर पनि आफ्नो पुख्र्यौली थलोको लागि आगामी दिनमा कुनै न कुनै रुपमा सहयोग गर्ने उद्देश्यले समाजको गठन गरिएको जनाइएको छ ।

समाजसेवी एवम् कृषि विकास बंैंकका पूर्व क्षेत्रीय प्रवन्धक गंगाप्रसाद रेग्मीको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय धरान–धनकुटा एकता समाज गठन गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकका पूर्व क्षेत्रीय प्रवन्धक एवम् समाजसेवी वीरेन्द्र सिंह थापाको निवासमा भएको छलफलले उपाध्यक्षमा जयप्रसाद निरौला, सचिवमा राजकुमार थापा (राजु), सह सचिवमा कल्पना रोइला (ढकाल), कोषाध्यक्षमा पूर्व प्रद्यानाध्यापक बासुदेव भण्डारी र सदस्यहरुमा ज्ञानु थापा, विनोद घिमिरे, नविन रेग्मी, रामबहादुर थापा, श्याम कार्की निलकुमारी गिरी (थापा)लाई चयन गरिएको छ । यसैगरी समाजलाई आवश्यक सल्लाह सुभावका लागि ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा वीरेन्द्रसिंह थापा, लक्ष्मणबहादुर थापा, दिपबहादुर कार्की, श्यामा रेग्मी, हिरण्य प्रसाद घिमिरे र हर्ष सुब्बा रहनु भएको छ ।
समाज गठन गर्नुको मुख्य उद्देश्य के हो त भन्ने सवालमा अध्यक्ष रेग्मीले भन्नुभयो धरानमा धनकुटाबाट आइ बसोबास गर्नेहरु जो धनकुटामै जन्मेका हुनुुपर्छ भन्ने छैन तर पैतृक थलो हो पुर्खाहरु, धनकुटामा छन् धनकुटाबाट धरान बसाई सरेर आएकाहरु बीचमा एकता, मिलन, भेटघाटसँगै एक अर्कामा सहयोग आदानप्रदान होस् भन्ने उद्देश्यले यो समाजको गठन भएको हो । समाजले आगामी दिनमा सामाजिक गतिविधिलाई अगाडि बढाउने, कसैलाइ केही पर्दा, अप्ठेरो पर्दा आर्थिक सहयोग जुटाउने पनि लक्ष्य समाजको रहेको छ । समूहका सदस्यहरुलाई मात्र यस प्रकारको सहयोग गर्ने पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो आगामी दिनमा आ आफ्नै ठाउँमा पुख्र्यौली थलोमा पहिचान बनाएर के गर्न सकिन्छ त्यसमा पनि छलफल भएको थियो । खासगरी सामाजिक कार्यक्रम स्वास्थ्य शिविर, प्रौढलाई टेवा पु¥याउने चेतनामूलक कार्यक्रम हामी गछौं । यसका लागि बजेटको व्यवस्था कसरी गर्नहुन्छ भन्ने सवालमा अध्यक्ष रेग्मी भन्नुहुन्छ तत्काल हामी साधारण सदस्यबाटै केही संकलन गर्छौं । हामी फन्डिङ्गका लागि नगरपालिका, प्रदेश सरकारसँग समन्वय गर्ने, संघीय सरकारसँग पनि कुरा लिएर जान्छौं । धरानमा अनुमानित कति धनकुटेलीहरु हुनुहुन्छ भन्ने सवालमा उहाँले भन्नुभयो १० हजार भन्दा बढी छौं । सबैलाई एकैपटक समेट्न सक्दैनौं भद्रगोल हुन्छ । शुरुमा वडा नं. ं१ बाट धनकुटेलीहरुको तथ्यांक सकलन शुरु गर्छौै । समाज गठन गने सोचचाहिँ कसरी आयो त भन्ने सवालमा उहाँले भन्नुभयो प्रारम्भिक प्रस्ताव भनौ या भिजन चाहिँ समाजका वर्तमान सचिव राजकुमार थापाकै हो । उहाँले यस्ता समाज अन्यत्र पनि गठन भएको देख्नु भएको रहेछ । अब धनकुटे सरोकार समाज गठन गरौ भन्नुभयो । यहाँका सबै अग्रजले सकारात्मक रुपमा लिनुभयो र धरान धनकुटे एकता समाजको गठन भएको हो ।
