धरान । जीटुजी (Goverment to Goverment) व्यवस्था मार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्तिका लागि भारत सरकार र नेपाल सरकारका बीचमा सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । लामो समयदखि नेपाली किसानले भोग्दै आएको मलको अभाव अब स्थायी रुपमै समाधान हुने भएको छ । यसभन्दा अगाडि खेतिपातिको समयमा हरेक बर्ष नेपाली किसानहरुले मलको चरम अभाव झेल्दै आएका थिए ।
नेपाल भारत खुल्ला सीमानाको फाइदा उठाइ तराईका किसानहरुले भारतीय सीमावर्ती बजारहरुबाट साइकल लगायत सवारी साधनमा ल्याइने मलहरु नाकामा तैनाथ सुरक्षाकर्मीहरुले जफत गर्ने, र्गेनिङ्ग गर्ने जस्ता घट्नाले किसानहरु आजित भएका थिए । मलकै विषयलाई लिएर तराईका नेपाल–भारत सीमा नाकाहरुमा प्रहरी र किसानहरुबीच झडप समेत हुँदै आएको थियो । अब भने नेपालका किसानहरुले सहज ढंगले युरिया र डिएपी मल पाउने बाटो खुलेको छ ।

मल आयातका लागि भारत सरकार र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालस्थित भारतीय राजदुतावासले विज्ञप्ती मार्फत दिएको जानकारी अनुसार जीटुजी व्यवस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दीर्घकालीन आपूर्ति हुने भएको छ । जारी विज्ञप्तीमा भनिएको छ समझदारी पत्रमा भारत सरकारका तर्फबाट रसायन एवम् मल मन्त्रालका सचिव राजेशकुमार चर्तुवेदी र नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दपसाद शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा भर्जुअल समाहोका बीच समझदारी पत्रमा हस्ताक्षरसँगै समझदारी पत्रको आदानप्रदान समेत भएको छ । उक्त भर्चुअल समारोहमा दुवै दशेका सम्बन्धित मन्त्रालयका अधिकारीहरु, नेपाली दुतावासका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । समझदारी पत्रमा हस्ताक्षरपश्चात बोल्दै भारत सरकारका रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चर्तुवेदीले भन्नुभयो भारत र नेपाल बीचको निकटता एवम् वहुपक्षीय सम्बन्धको जति चर्चा गरेपनि कम हुन्छ । उहाँले दुइ पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषि क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने छ । विज्ञप्तीमा अगाडि भनिएको छ दुई पक्षबीच भएको समझदारीले नेपालमा बारम्बार दोहोरिरहने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा बृद्धि ल्याई नेपाली किसानहरुले लाभ प्राप्त गर्छन् । समझदारी पत्र भारत र नेपाल बीचको द्विपक्षीय आर्थिक सहकार्यमा कोशेढुंगो सावित रहने अपेक्षा गर्दै यसले भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि प्रतिविम्बित गर्ने कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने सोमबार भएको जीटुजी सम्झौता अनुसार नेपालले आगामी ५ बर्षसम्म भारतबाट युरिया र डिएपी मल आपूर्ति गर्न सक्ने छ । त्यसपछि पुन ः सम्झौता हुने नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय सचिव डा. गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो । समझदरी अनुसार नेपालले चालू आर्थिक बर्ष अर्थात सने२०२२ मा १ लाख ५० हजार टन मल भारतबाट आयात गर्ने भएको छ । जसमा १ लाख टन युरिया र ५० हजार टन डिएपी रहने छ । सन् २०२३ मा १ लाख ७० हजार टन, सन् २०२४ मा १ लाख ९५ हजार टन, सन् २०२५ मा २ लाख १० हजार टन र सन् २०२६ मा समेत २ लाख १० हजार टन नै आयात गरिनेछ ।
