धरान । कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोनका कारण हरेक क्षेत्र प्रभावित बनेका छन् । हरेक क्षेत्र प्रभासिवत बनेसंगै खेल क्षेत्र समेत प्रभावित बनेको छ । कोरोना संक्रमणले पूर्वकै सबै भन्दा ठूलो रनिङ प्रतियोगिता नेवा च्यारेटी १० के धरान रनलाई समेत प्रभावित बनाएको छ ।

फागुन ७ गते हुने प्रतियोगिता ओमिक्रोनकै कारण १५ दिन पछि सरेको आयोजकले जनाएको छ । आयो्जकका अनुसार फागुन ७ गते हुने प्रतियोगिता फागुन २१ गते सरेको हो ।
धरान रनले सोमबार पत्रकार सम्मेलनको आयोजना प्रतियोगिता सरेको जानकारी दिएको हो । धरान रनका अध्यक्ष रोमु राईले पछिल्लो समय तेस्रो लहरको कोरोना महामारी अझै कायमै रहेकोले स्वास्थ्य मापदण्डको पुर्णपालना गर्नुपर्ने, कोरोनाकै कारण सहभागीहरूले पनि कम नाम दर्ता गराएको र प्रशासनले पनि ठूलो भिडभाड हुन नदिने भएकोले १५ दिन पछि कार्यक्रम सारिएको बताउनुभयो । उहाले भन्नुभयो ‘प्रतियोगितालाई ढिलै सारेर भए पनि विगतकै जस्तो भव्य र राम्रो बनाउने हाम्रो सोच हो ।’ अहिले सम्म हजार भन्दा बढीले १० के धरान रनका लागि नाम दर्ता गराई सकेको र पछिल्लो समय
कोरोना संक्रमणदर कम भएसँगै नाम दर्ता गर्नेहरूको संख्या पनि बढ्दै गएको अध्यक्ष राईले बताउनुभयो । यसपालि १० औँ संस्करणलाई वृहतरुपमा आयोजना गर्ने धरान रनले जनाएको छ । धरान रन १० वर्ष पूरा भएको अवसरमा यस पटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने बताउँदै आएकोमा यस पटक कोरोना महामारीले पनि प्रभावित बनाएको बताइएको छ । यसपालि नेपालकै धेरै धावकधाविकहरु सहभागी गराइने लक्ष्य लिइएको र जनचेतनामूलक कार्यक्रम सहित विह्वल चेयर रेस पनि आयोजना गरिने अध्यक्ष राईले बताउनुभयो ।
खेलाडीहरूलाई दर्ता शुल्क ४ सय र विद्यार्थीहरूलाई ३ सय तोकिएको छ । साथै, प्रतियोगितामा १७ वर्षदेखि ३९ वर्षसम्म भित्रका खुल्ला दौडमा अघिल्लो संस्करणको भन्दा १० हजार पुरस्कार राशि पनि वृद्धि गरिएको छ ।
मुख्य प्रतिस्प्रर्धामा प्रथम, दोस्रो र तेस्रो हुने धावकहरुले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन् । १२ वर्षमुनिको समूहमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार दिइनेछ भने १२ देखि १६ वर्षसम्म भित्रकाले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछन् ।
यस्तै, ४० वर्षदेखि माथिका भेटूान दौडका विजेताले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछन् । यस पटक कम्तीमा ३ हजार भन्दा बढी धावक धाविकालाई सहभागी गराइने बताइएको छ । यसपटक यस भन्दा पहिले धरान रनमा विजेता भएका धावकहरू, भारतीय धावक, दार्जिलिङ र सिक्किमका धावक धाविकाहरूको पनि सहभागिता हुने धरान
रनले जनाएको छ ।
