मन्त्रिपरिषद्ले निर्णय नगर्दा ताप्लेजुङ ओलाङचुङगोलाको सुकेपानीमा विस्फोटकको काम रोकियो सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भारत–चीन जोड्ने सडकको ट्रयाक खोल्न २.५ किमी बा“की

एस बराल
फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङ ओलाङचुङगोला हुँदै नेपाल–चीन सीमा टिप्तला भन्ज्याङ जोड्ने १२३ किमी सडकको ट्रयाक खोल्ने काम यतिबेला सुकेपानीमा पुगेर स्थगित भएको छ ।
सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भारत–चीन जोड्ने यो सडकको ट्रयाक खुल्न अब २.५ किमी मात्र बाँकी रहेको छ । स्थानीय निकायसगँै ठेकेदार कम्पनीले सुकेपानीको चट्टाने भीरमा नेपाली सेनामार्फत विस्फोट गराउन संघीय सरकारका सम्बन्धित निकायमा प्रस्ताव पु¥याए पनि मन्त्रिपरिषद्ले निर्णय नगरिदिँदा विस्फोट गरी ट्रयाक खोल्ने काम रोकिएको हो ।


ताप्लेजुङ दोभानबाट शुरु भएको यो सडकले हाङदेवा, मित्लुङ शिवा, सिरुवा बजार, तापेथोक लेलेप, बोझेनी, लुङथुङ, फेदी खोला, इला डाँडा, जंगिन गाउँ, सुकेपानी, मगवा, गइरिपाटी, जंगिम, याङमा दोभान, देउराली हुँदै ओलाङचुङगोला भएर टिप्तला भन्ज्याङ जोड्छ । दोभानबाट टिप्तला भन्ज्याङ सम्मको दूरी १२३ किमी रहेको छ । ओलाङचुङ गोलादेखि टिप्तला भन्ज्याङसम्मको ट्रयाक ५ बर्ष अगाडि नै खुलिसकेको थियो । यो सडकको ट्रयाक खोल्ने काम एसडिए एलाइट जेभिले गर्दै आएको छ । ओलाङचुङगोलाबाट देउराली, याङमा दोभान, जंगिम, गइरिपाटी, मगवासम्मको ८ किमी सडकको ट्रयाक समेत खुलिसकेको छ । यता ताप्लेजुङको दोभानबाट जोगिन गाउँसम्मको ८८ किमी सडकको ट्रयाक समेत खुलिसकेको छ ।
उक्त सडकको ट्रयाक खोल्ने जिम्मा पाएको निर्माण कम्पनि एसडिए एलाइट जेभीका प्रतिनिधि राजीव लामिछानेले दिएको जानकारी अनुसार विस्फोटका लागि सम्पर्ण तयारी पूरा भएको छ । विस्फोटक पदार्थ सदरमुकाम फुङलिङमा ल्याएर भण्डारण गरिएको छ । नेपाली सेनामार्फत विस्फोट गराउनुपने प्रावधान भएकोले ६ महिना अगाडि नै सम्बन्धित निकायमा प्रस्ताव लगिएको छ । तर मन्त्रीपरिषद्ले हालसम्म विस्फोटका लागि स्वीकृति दिएको छैन । के कारणले स्विीकृति नदिएको हो आफूहरुले बुझ्न नसकेको छामिछानेले बताउनुभयो ।
सीमावर्ती गाउँपालिकाका अध्यक्ष सरोज एभेङ्गसँग यसै सम्बन्धमा बुझ्न सम्पर्क राख्दा उहाँले पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएपछिमात्र सुकेपानीमा ट्रयाक खोल्ने काम अगाडि बढ्ने बताउनुभयो । चिनियाँ उपकरण, प्राविधिकहरुको सहयोगमा चीनसँग सीमा जोडिएको नेपालको अन्तिम गाउँ याङमा हुँदै ओलाङचुङगोलासम्मका ट्रयाक खुलेको हो । चीनले आफ्नो तर्फ टिप्तला भन्याङसम्म सडक विस्तार गरिसकेको छ । चीनको महत्वकांक्षी आयोजना वान वेल्ट वान रोड इनिसिएटिव अन्तर्गत ताप्लेजुङ ओलाङचुङगोला सडक बन्दै गरेको हो । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गजे सरकारको प्रत्यक्ष सहयोगमा रिउ बजारको टिउकान्टी क्षेत्रबाट निर्माण उपकरणहरु ट्रयाक खोल्नका लागि ल्याइएको हो ।
नेपाल सरकारको मात्र प्रत्यक्ष लगानीमा भनिए पनि ताप्लेजुङ ओलाङचुङगोला टिप्तला भन्ज्याङ सडकमा चीनको सहयोग रहेको छ । ताप्लेजुङ ओलाङचुङगोला सडक खण्डमा साना ठूला दर्जनौ खोलाहरु रहेका छन् । हाल मुख्य खोलामा मोटरेवल पुल बनिसकेका छन् । यो सडक खण्डमा पर्ने बाफ्रे खोलामा वेलिव्रिज पुल बनेको छ । फुङलिङ नगरपालिका र फक्तालुङ गाउँपालिका जोड्ने ३ करोड ७० लाखको लागतमा फुरुम्बु खोलाका पुल बनेको छ । एसडिए एलाइट जेभीका प्रतिनिधि राजिव लामिछानेका अनुसार तावा खोलामा ३ करोड ७ लाख, थिवा खोलामा ४ करोडको लागतमा पुल बनेको छ । उता तापेथोक र लेलेप जोड्ने तमोर नदीमा पुल निर्माण शुरु भएको छ ।
ओलाङचुङगोला ताप्लेजुङको व्यापारिक नाका हो । यहाँ ६० घर परिवारको बसोबास रहेको छ । टिप्तला भन्याङ दक्षिण रहेको ओलाङचुङगोलाका बासिन्दाहरु बलुङ्ग जातिका हुन् । उनीहरु २÷३ सय बर्ष अगाडि तिब्बतबाट माइग्रेट भएर सो ठाउँमा आएर बसेका हुन् । यिनीहरुको बोल्ने भाषा तिब्बती भाषाको एक डाइलेक्ट हो । बलुङ्गहरुको रहनसहन,लवाइखुवाइ तिब्बतीहरुसँग मिल्छ । यिनीहरुको विवाहपनि तिब्बतीहरुसँगै हुने गर्दछ ।

तपाईको प्रतिक्रिया