विराटनगर । मासिक अरबौ रुपैया घाटा भएको भन्दै नेपाल आयल निगम केन्द्रीय कार्यालयको निर्देशन अनुसार नेपाल आयल निगम प्रदेश नं. १ कार्यालयले डिलरहरुलाई यसभन्दा अगाडि गदै आएको आपूर्ति कटौती गर्ने संकेत गरेपछि व्यवसायीहरु त्यसो नगर्न आग्रह गरेका छन् ।

पेट्रोलियम डिलर्स एसोसिएसन कोशीका अध्यक्ष दुर्गाबहादुर बस्नेतले नेपाल आयल निगम प्रदेश नं. १ का प्रमुख अशोक साहले त्यस्तो संकेत गरेपछि आफूहरुले त्यसो नगर्न आग्रह गरेको बताउनुभयो । वर्तमान अवस्थामा सवारी साधनको चाप अत्याधिक बढेको छ । डिलरहरुलाई दिँदै आएको परिणममा अझ बृद्धि गर्नुपर्ने अवस्था छ । कटौती गर्दा थप समस्या उत्पन्न हुन्छ बस्नेले भन्नुभयो ।
यसै सम्बन्धमा आयल निगम प्रदेश नं. १ कार्यालय प्रमुख अशोक साहसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हामीले कटौती गरेका छैनौं । गत बर्षको विक्रीको आधारमा दिने हो । गत बर्ष कति
परिमाणमा डिलरहरुले इन्धन बेचे त्यसैको आधारमा दिने हो । यसमा पनि १० प्रतिशत हामीले थप गरेर दिएका छौं । माग बढेको बेलामा आपूर्ति कटौति गर्दा त्यसले कस्तो असर पार्छ त भन्ने सवालमा प्रमुख साहले भन्नुभयो खेतिपातिको सिजनमा माग बढ्छ । अहिले त्यस्तो अवस्था छैन । यतिबेला पूर्वाञ्चलमा ८ सय केलदेखि ९ सय केलसम्म डिलरहरुलाई निगमले डिजल आपूर्ति गरिरहेको छ । कहिलेकाँही एक हजार केल पनि पुग्छ । पेट्रोल ३ सयदेखि ४ सय केल बिक्री भइरहेको छ भने मट्टीतेलको माग नै छैन । मुस्किलले एक गाडी विक्री हुन्छ ।
नेपाल आयल निगम प्रदेश नं. १ कार्यालयले विगत केही महिनादेखि डिजल अमलेखगञ्जबाट ल्याउने गरेको छ । भारतको वरौनीबाट जोगवनी नाका हुँदै आयात गदै आएकोमा हाल सिलुगुडीबाट पेट्रोल आयात गरिदै आएको छ । निगमलाई हाल प्रतिदिन कति रुपैया घाटा छ त भन्ने सवालमा त्यो केन्द्रीय कार्यालयको वितरण शाखालाई मात्र थाहा हुने बताउनुभयो । यसै सम्बन्धमा बुझ्न निगमका प्रवक्ता दिलिपकुमार उपाध्यायसँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन ।
