सत्ता मोहमा निर्लिप्त प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताबाट तिरस्कृत दलहरुसँगको सत्ता गठबन्धनका कारण यतिबेला नेपाली काँग्रेसको संगठन कमजोर हुँदै गएको छ ।
सत्ताको राप र तापले सभापतिले मुलुकमा काँग्रेसको सांगठनिक संरचना कुन अवस्थामा पुगेको छ भन्ने कुराको सामान्य हेक्कासम्म राख्न सकेका छैनन् । उनी आफ्ना निकटका केही अवसरवादी झुण्ड र न हिजो नेपाली काँग्रेसको सारथी बनेका थिए न भोलि सारथी बन्छन् माओवादी केन्द्र, मुलुकभरि संगठन नै भएको नेकपा एस, तराई मधेशमै रित्तिन लागेको जनता समाजवादी पार्टी संयुक्त जनमोर्चालाई काँधमा बोकेर हिँड्ला भोलिका दिन काँग्रेसका लागि कति प्रत्युत्पादक हुन्छ भन्ने कुरा काँग्रेसले समयमै मनन् नगर्ने हो भने पछुुताउनुको विकल्प रहँदैन ।
न्याउरी मारी पछुतोको अवस्था देख्दादेख्दै पनि देउवाले गठबन्धन तोडेर निर्धारित समयमै स्थानीय निकायको निर्वाचन राउनुपर्छ । जाबो एउटा स्थानीय निकायको निर्वाचनमा जान पनि गठबन्धनमा रहेकाहरु हच्किनु नेतृत्वले अर्थात काँग्रेसका सभापतिले उनीहरुको भनाईलाई आत्मसात गर्नु उचित हुँदैन ।
नेतृत्वले मुलुकभरिका आम नेपाली काँग्रेसका कार्यकर्ताको भावनाको कदर गर्नुपर्छ । गठबन्धनको दबाबमा अल्झिने होइन । आज आम कार्यकर्ता नेपाली काँग्रेस एक्लै निर्वाचनमा जानुपर्छ भनिरहेका छन् । नेपाली काँग्रेस एक्लै निर्वाचनमा जानुपर्छ पनि । एउटा विशेष परिस्थितिमा संसदको पूरा अवधि चलाउन गठबन्धन भएको थियो । एमाले अध्यक्ष केपी ओलीसँग व्यक्तिगथ मनमुटावका कारण, सर्वोच्च अदालतले तत्कालीन नेकपा अलग्याउनका लागि दिएको आदेशबाट सरकार सञ्चालन गर्नमात्र गठबन्धन भएको कुरालाई नेपाली काँग्रेसका आम कार्यकर्ताले बुझेका छन् र नेतृत्वले पनि बुझ्नुपर्छ ।
नेपाली काँग्रेस आफैमा एउटा सक्षम, सवल संगठन भएको पार्टी हो । कसैको वैसाखी टेकेर काँग्रेसले निर्वाचनमा जानु पर्र्दैन । काँग्रेस कमजोर छैन तर नेतृत्वले यसलाई कमजोर बनाउने दुस्शाहस गरिरहेको छ । नेपाली काँग्रेसले विगतका नजीरहरुलाई पनि आत्मसात गर्नुपर्छ । विगतमा केन्द्रबाट लादिएको गठबन्धन अर्थात स्थानीय तहको निर्वाचनले काँगे्रसलाई कमजोर बनाएको थियो । भरतपुर, पोखरा लगायतका स्थानको दृष्टान्त पर्याप्त छन् । अहिले एउटा विडम्बना के देखिद ैछ भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपाली काँग्रेसका कार्यकर्ताको आवाजलाई भन्दा पनि गठबन्धन जनताबाट तिरस्कृत र अपाच्य अनुहारहरुको बोलीलाई समर्थन गरेर हिडिरहेका छन् । स्थानीय तहका आम कार्यर्काको भावना विपरीत स्थानीय तहको निर्वाचनमा मात्र होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अहिलेका सत्ता गठबन्धनहरुसँग चुनावी गठबन्धन गरियो भने त्यसको परिणाम प्रत्युत्पादक हुन्छ । नेपाली काँग्रेसका आम कार्यकर्ता स्वतन्त्र छन् । नेतृत्वको दबाबलाई उनीहरु आफ्नो विवेक अन्यत्र प्रयोग गर्न सक्छन् । सत्तामै बसेर पनि चुनावमा जान डराउनेहरुको साथ काँग्रेसले जति सक्यो त्यति छोड्दा उपयुक्त हुन्छ । नत्र भोलिका दिनमा गल्ति गरिएछ भनेर पछुताउनुको विकल्प रहँदैन ।
