धरानमा एक दर्जन बढी नेपाली कांग्रेस प्रवेश

धरान । धरानमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
सोमबार नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान ८ स्थित आयोजना गरेको टोल समिति गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ जना कांग्रेस प्रवेश गरेका हुन् । राजकुमारी गजमेर, देविका राई, सुनिता श्रेष्ठ, रविन तामाङ, स्नेह गुरुङ, समिप खड्का, प्रशान्त राई, राजिव तामाङ, बिजु भूजेल, आषिश खान, सहनबाज खान, अनिष लिम्बु, अस्मित मगर, रेस्मा घिमिरे, देबिका राई कांग्रेस प्रवेश गरेको छ । उनिहरुलाई मेयर तिलक राई, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोख्रेल, कांग्रेस सुनसरी जिल्ला सहसचिव गणेश सुब्बा लगायत नेताहरु अबिर र खदा लगाएर स्वागत गरेका थिए । श्याम श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको कांग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।


कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कार्यक्रममा शुभकामना दिदै खानेपानी समस्या समाधान गर्न अहोरात्र रुपमा खटिरहेको बताउनुभयो । यसवर्ष माघ महिनादेखि दिन बिराएर खानेपानी वितरण गरिरहेको मेयर राईले जनाउनुभयो । मेयर राईका अनुसार खानेपानीको पाईपलाईनमा लिकेज भएकोलाई वेल्डिङ गरेर टाल्ने कामहरु पनि निरन्तर रुपमा भईरहेको छ । मेयर राईले भन्नुभयो, ‘खानेपानी संस्थान र ठेकेदार मात्र हुँदाखेरी महिनौ लाग्थ्यो बनाउनु । अहिले हाम्रो कर्मचारीहरुले रातको समयमा पनि काम गरिरहेको छ । मेशिनरी सामग्रीहरुको मर्मत कार्य भईरहेको छ ।’ अहिले सुख्खा मौसमका कारण खानेपानीको समस्या रहे पनि दिन बिराएर खानेपानी वितरण गरिरहेको मेयर राईको भनाई थियो ।
नगर सभापति श्याम पोख्रेलले नगर कार्यसमितिको पहिलो बैठक र वडा सभापतिहरुको संयूक्त बैठकबाट फागुन मसान्तभित्रमा सबै वार्डको सबै टोलमा टोल समिति गठन गर्ने निर्णय गरिएको जनाउँदै त्यही अनुरुप धरानका धेरै वार्डहरुमा टोल समिति गठनको प्रक्रिया अगाडी बढिरहेको बताउनुभयो । सभापति पोख्रेलले भन्नुभयो, ‘१४ औं महाधिवेशनपछि पार्टीको विधानमा टोल समिति गठन गर्ने भनेको छ । यसलाई तपाईहरुले चुनावी टोल समिति नसम्झिनु होला । यो तपाईको ५ वर्षे पूर्ण कार्यकालको समिति हो । यो संगठन निर्माण र हाम्रो विधानत गर्नुपर्ने टोल समिति हो ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले धरानमा नेपाली कांग्रेसको आवश्यकता भएर नै उपनिर्वाचनमा कांग्रेसको विजय भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया