धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान १४ स्थित रहेको पिण्डेश्वर क्याम्पस हाताभित्र बन्ने सरस्वती मन्दिरको शिलान्यास गर्नु भएको छ ।

सरस्वती पूजाको अवसर पारेर आज शिलान्यास भएको सो मन्दिर धरान उपमहानगरपालिकाको सहयोग, विभिन्न दाताहरूको सहयोग र क्याम्पसको लगानीमा ११ लाख रुपैयाँमा प्यागोडा शैलीको मन्दिर निर्माण हुने क्याम्पस प्रमुख काशीनाथ पौडेलले जानकारी दिनुभयो । मन्दिर सिलान्यास गर्नुअघि मेयर राईले सार्वजनिक पुस्तकालय र पब्लिक हाईस्कुल पुगेर सरस्वतीको पुजा समेत गर्नु भएको थियो ।
मन्दिरको विधिवत् शिलान्यासपछि मेयर राईले जुन शिक्षालयमा सरस्वतीको मन्दिर हुन्छ त्यो मन्दिर विद्याको मन्दिर हो भनिन्छ । त्यसैले पिण्डेश्वर क्याम्पस परिसरमा बन्न लागेको मन्दिरमा आफ्नो साथ सहयोग रहने बताउनुभयो । धरानलाई शैक्षिक हब भनिँदै आएकोमा यहाँ रहेका शैक्षिक सङ्घ संस्थाहरूको विकास र उन्नयनमा सबै मिलेर लाग्नुपर्ने समेत मेयर राईले बताउनुभयो ।
यसैगरी कार्यक्रममा विशेष अतिथि समेत रहेका प्रा.डा. टङ्कप्रसाद न्यौपानेले मन्दिर निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा मेयर राईले विद्यार्थीको भोजनका लागि १० हजार रुपैयाँ पनि प्रदान गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सरस्वतीको पूजाको दिन सरस्वतीको मन्दिरको शुभारम्भ भएकोले चाडै निर्माण सम्पन्न हुने बताउनुभयो ।
क्याम्पस प्रमुख काशीनाथ पौडेलको अध्यक्षतामा सम्पन्न मन्दिर शिलान्यास कार्यक्रममा उपमेयर मञ्जु भण्डारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, गोपाल भण्डारी, नारायणदत्त पौडेल, रघुनाथ भण्डारी, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य पुर्वप्राचार्य चन्द्रमणि नेपालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सागरमणि सुवेदीले गरेका थिए ।
