सुमन राई
सोलुखुम्बु । झण्डै एक महिना अगाडि सिके साउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले भ्रष्टाचारको अभियोगमा खानेपानी धनुषाका इन्जिनियरलाई नांगेझार पारी कालो मोसो दली बजार घुमाएकै शैलीमा सोमबार नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वका कार्यकर्ताले शिक्षा विकास समन्वय इकाई सोलुखुम्बुका शव इन्जिनियरलाई भ्रष्टाचारको आरोपमा जुत्ताको माला लगाई कालो मोसो दलेका छन् ।
शव इन्जिनियर पवनकुमार यादवले विद्यालय भवनहरु निर्माण गर्दा लाखौ भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका कार्यकर्ताहरुले जुत्ताको माला लगाएर कालो मोसो मात्र दलेनन् हातपात समेत गरेका छन् ।
ठूलो समूहमा सम्मिलित विप्लवका कार्यकर्ताहरु सोमबार शिक्षा विकास समन्वय इकाई कार्यालयमै पुगेका थिए । नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को व्यानरमा कार्यालय पुगेका विद्यार्थीहरुसँगै जिल्ला तहका नेता कार्यकर्ताहरु समेत सम्मिलित रहेका थिए । सोमबार अपरान्ह मास्क लगाएर उनीहरुले भ्रष्ट शव इन्जिनियर मुर्दाबाद, भ्रष्टलाई कार्वाही खोइ भन्दै कार्यालय परिसरभित्र नारा लगाउँदै शव इन्जिनियर यादवको कार्यकक्षमा प्रवेश गरेका थिए । यसै सम्बन्धमा शव इन्जिनियर यादवसँग सम्पर्क राख्दा पहिला उनी बोल्न चाहेनन् । तपाईले भ्रष्टाचारजन्य कसुर गरेको भन्दै विप्लवका कार्यकर्ताले कालोमोसो दली जुत्ताको माला लगाइ हातपातसम्म गरेछन् नि त भन्ने सवालमा उनले भने एक्कासी कार्यालयभित्र प्रवेश गरेका उनीहरुले आफूलाई बोल्ने मौका नै दिएनन् । कार्यकक्षमै झम्टिएर उनीहरुले कालो मोसो दले, जुत्ताको माला लगाए र हातपात गरे । उनले भने मैले विद्यालय निर्माण गर्दा कहीँ भ्रष्टाचार गरेको छुइन । सम्बन्धित विद्यालयमा बुझ्दा हुन्छ । सम्बन्धित निकायले छानविन गर्दा हुन्छ । यो राष्ट्रसेवक कर्मचारीको मनोवल गिराउने काम हो ।

विप्लवका कार्यकर्ताहरुले शव इन्जिनियर यादवमाथि कालो मोसो जुत्ताको माला र हातपात गरेपछि नाराबाजी गर्दा शिक्षा समन्वय समितिको कार्यालयमा एक प्रेस विज्ञप्ती समेत टाँस गरेका थिए । क्रान्तिकारी विद्यार्थी संगठन सोलु संयोजक एकराज राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, शव इन्जिनियर यादव र नविनकुमार सिहले जिल्लाका विभिन्न स्थानमा अनुदानमा निर्माण भएका विद्यालयहरुबाट भ्रष्टचार गर्ने गरेकोले कार्वाही गरिएको हो । पछिल्लो पटक जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रमा विद्यालय भवन निर्माण गर्दा आर्थिक अनियमितता गरेको, आफूहरुले बारम्बार अनियमितता गरेको रकम विद्यालयलाई फिर्ता गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकोले हाललाई सांकेतिक रुपमा मात्र कार्वाही गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै विज्ञप्तीमा भनिएको छ सांकेतिक कार्वाहीपश्चात पनि अनियमिता भएको रकम तुरुन्त सम्बन्धित विद्यालयलाई फिर्ता नगरे भौतिक कार्वाहीको विकल्प रहँदैन ।
विज्ञप्तीमा अगाडि भनिएको छ शव इन्जिनियर पवनकुमार यादव र नविनकुमार सिंहले महाकुलुङ गाउँपालिका स्थित कैलाश आधारभूत विद्यालयको भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ आधारभूत विद्यालय भवन निर्माण गर्दा ५० हजार, बाखोर आधारभूत विद्यालय निर्माण गर्दा ३५ हजार, चेपेल आधारभूत विद्यालय निर्माण गर्दा ३५ हजार, खिरौल आधारभूत विद्यालय निर्माण गर्दा ७५ हजार भ्रष्टाचार गरेका छन् ।
सांकेतिक कार्वाही पश्चात विप्लवका कार्यकर्ताहरु भागेका थिए । घट्नाको जानकारी ढिलो भएका कारण समयमै प्रहरी पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ । हाल उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
