यतिबेला नेपालमा अनावश्यक विषयले राष्ट्रिय चर्चा पाएको छ । जुन चर्चाको विषय नै होइन तर सत्ता स्वार्थको राजनीतिले यसलाई चर्चामा ल्याएको हो । लोकतन्त्रको मेरुदण्ड मानिएको स्थानीय तहको निर्वाचनलाई पर धकेलेर अझ केही समय संविधान र कानुनको दायरा बाहिर गएर सत्ताको रसास्वादन लिन लालायित गठबन्धन भित्रका केही दलको नियतले राष्ट्रिय चर्चा बटुलेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न पाए पुग्छ । वि.सं. २०७४ मा भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि नेपाली काँग्रेसले लज्जास्पद जुन हार व्योहो¥यो त्यसको प्रमुख जिम्मेवार शेरबहादुर देउवा नै थिए । हैसियत नभएका, जनतामा कुनै प्रभाव नभएका , केवल आफ्नो वरिपरि घुम्नेहरुलाई जिम्मेवारी सुम्पिने, लाभका पदहरुमा आसिन गराउने, संगठनमा रातदिन दौडनेहरुको मान मर्दन गर्ने, आफ्ना वरपरका सीमित व्यक्तिहरुको मात्र विश्वास गर्र्ने, कुरा सुन्ने उहाँको सबैभन्दा कमजोर पक्ष हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विर्सनु हुँदैन र छातीमा हात राखेर लोकतन्त्रप्रति विश्वास गर्ने सबैले स्वीकार्नुपर्छ वर्तमान गठबन्धन सरकार विशेष परिस्थितिमा केही समयका लागि मात्र बनेको हो । जनादेशबाट बनेको सरकार होइन । सर्वोच्च अदालतको आदेश परमादेशबाट बनेको हो । संसदमा गठबन्धनमा रहेका दलहरुले देउवालाई प्रधानमन्त्री बनाएका होइनन् । संविधानलाई ट्रयाकबाट बाहिरिन जान नदिन तत्कालीन परिस्थतिमा अदातलतले त्यस्तो आदेश दिएको र उसले यो सन्देश पनि दिएको हो आगामी दिनमा संविधान बाहिर कोही नजाउन् । तर आज आवधिक निर्वाचन जस्तो कुरालाई पछाडि धकेल्न गठबन्धनका माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले देउवालाई दबाब दिइरहेको अवस्था जुन देखियो त्यो दुर्भाग्यपूर्ण हो ।
संविधानले स्थानीय निकाय जुन प्रतिनिधिविहीनको कल्पनासम्म गरेको छैन । यस्तो अवस्थामा गठबन्धनका चार दलले निर्वाचन पर धकेल्न कुन नैतिकताले दबाब दिएको हो ? वर्तमान गठबन्धन दीर्घकालीन होइन । दीर्घकालीन रहनु पनि हुँदैन । माओवादी एस, जसपा, जनमोर्चासँग नेपाली काँग्रेस जति समय रहन्छ त्यति नै नेपाली काँग्रेस आम नेपाली मतदाताको नजरबाट पतनोन्मुख हुँदै जान्छ । आज सम्पूर्ण नेपाली काँग्रेसका कार्यकर्ता नेपाली काँग्रसका शुभचिन्तक मतदाताहरुले अन्य दलहरुबाट अर्थात वर्तमान गठबन्धन तोडिएको हेर्न चाहेका छन् । आफनै मूल्य, मान्यता, अदर्श र सिद्धान्त रहेको नेपाली काँग्रेसले माओवादी केन्द्र, एस, जसपा, जनमोर्चासँग निर्वाचनमा गठबन्धन गर्नु नहुने धारणा सार्वजनिक गरिरहेका छन् । पार्टी सभापति तथा प्रधानमन्त्री
शेरबहादुर देउवाले आम कार्यकर्ता र मतदाताहरुको धारणाको सम्मान गर्नुपर्छ ।
वर्तमान अवस्थामा नेपाली काँग्रेसलाई निर्वाचनमा जान सिद्धान्तहीन कुनै दलको वैसाखी आवश्यक छैन र नेपाली काँग्रेसले पनि कुनै दललाई टेको लगाउनु आवश्यक छैन । तर नेपाली काँग्रेसको टेकोमा आगामी तीनै तहको निर्वाचनमा आफ्नो अस्तित्व जोगाउन माधव नेपाल, प्रचण्ड जस्ताहरुलाई नेपाली काँग्रेसले समयमै चिन्नु आवश्यक भएको छ । एउटा विशेष परिस्थितिमा सरकार गठनका लागि भएको गठबन्धनकालाई आम नेपाली काँग्रेसका कार्यकर्ता र मतदाताहरुलाई चोट पु¥याउने काम नेपाली काँग्रेसले गर्नुहुँदैन । काँग्रेस एक्लै निर्वातनमा जानुपर्छ छिटो भन्दा छिटो गठबन्धन तोड्नुपर्छ ।
