हत्या गरेर घरभित्रै शव पुुरियो

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ४ छारागाउँकी ५२ बर्षीया सीता श्रेष्ठको शव घरभित्रै खाल्डो खनेर पुरिएको अवस्थामा सोमबार फेला परेको छ ।


पौष १६ गतेदेखि हराइरहेकी श्रेष्ठको उनकै पति सीताराम श्रेष्ठले हत्या गरी घरको भुइँतलामा खाल्डो खनी पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सुरज कार्कीले धरान साप्ताहिकलाई जानकारी दिए । सीता श्रेष्ठ पौष १६ गतेदेखि हराइरहेको भएपनि पाँच दिनपछि पौष २१ गते उनी हराएको बारेमा प्रहरीमा उजुरी परेको थियो । उजुरीपश्चात प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरी खोजतलास शुरु गरेको थियो । डिएसपी कार्कीले भने सीताको हत्या घरायसी विवादले भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पति पत्नी दुवै मादक पदार्थ सेवन गर्ने र झैझगडा गर्ने गरेको स्थानीयका भनाईलाई आधार मानेर अनुसन्धान अगाडि बढाइएको र सीतारामलाई काठमाण्डौस्थित छोरीको घरबाट प्रक्राउ गरी ल्याइएको समेत उहाँले बताउनुभयो । लाश सडेको अवस्थामा रहेकोले जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया