धरान । सुदुर पश्चिमले गत हप्ता एक होनेहार साहित्यकार बासुदेव भट्टलाई गुमाएको छ । सुदुरपश्चिमेली साहित्यकारहरुका बीचमा बाबु साहेवको नामले परिचित भट्टको ७८ बर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय भट्टका झण्डै दुई दर्जन विभिन्न विधाका कृतिहरु प्रकाशित भएका छन् भने त्यतिकै संख्यामा अप्रकाशित कृतिहरु रहेका छन् । खास गरेर सुदुर पश्चिमको भाषा, साहित्य कला, संस्कति, इतिहास, पुरातत्वको जगेर्ना र खोजमा जीवनपर्यन्तसम्म भट्ट समपिर्त रहनु भएको थियो ।

कला, साहित्य, इतिहासमात्र नभएर उहाँले शिक्षाको क्षेत्रमा समेत उल्लेखनीय योगदान गर्नुभएको थियो । सदुर पश्चिम विश्वविद्यालय स्थापनामा उहाँको अहम् भूमिका रहेको थियो । उक्त विश्वविद्यालय स्थापनको लागि गठन गरिएको समितिमा उहाँ उपाध्यक्ष रहनु भएको थियो । वि.सं. २००० असार १५ गते हालको दशरथ नगरपालिका ५ वैतडीमा उहाँको जन्म भएको थियो । विगत केही बर्षदेखि दीर्घरोगबाट उहाँ पीडित हुनुुहुन्थ्यो । उहाँको निधनले सुदुर पश्चिमको साहित्यिक क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै महाकाली साहित्य संगमले श्रद्धाञ्जली सभाको आयोजना नै गरेको थियो । संगमका पूर्व उपाध्यक्ष हेमबाबु लेखकले भन्नुभयो भट्टको निधनले सुदुर पश्चिमको कला, साहित्य, सँस्कृति जगेर्नाको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
