भारतीय राजदूतावासद्वारा विश्व हिन्दी दिवस सम्पन्न

धरान । नेपाल स्थित भारतीय दूतावासले विगतका बर्षहरुमा झैँ यस पटक पनि जनवरी १० तारेखलाई विश्व हिन्दी दिवसको रुपमा विशेष समारोहको आयोजना गरी मनाएको छ ।
सन् १९७५ जनवरी १० तारेखका दिन भारतको नागपुरमा पहिलो हिन्दी दिवस मनाइएपछि प्रत्येक बर्ष १० जनवरीलाई भारतमा र विश्वका अन्य मुलुकमा रहेका आफ्ना दुतावास, उच्च आयोगहरुले विश्व हिन्दी दिवस विविध कार्यक्रमका साथ मनाउदै आएका छन् ।


भारतीय दुतावासले काठमाण्डौको होटल ¥याडिसनमा आयोजना गरेको विश्व हिन्दी दिवसको दुतावासका प्रवक्ता, प्रेस, सूचना तथा संस्कृति विभागका प्रमुख नविन कुमारले अध्यक्ष्तामा गर्नुभएको थियो । सो अवसरमा प्रवक्ता नविन कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको सन्देश पढेर सुनाउनु भएको थियो । भारतका विदेश राज्यमन्त्री श्रीमति मिनाक्षी लेखिले विश्व हिन्दी दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
नेपालका बरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेशको प्रमु्ख आतिथ्यमा सम्पन्न हिन्दी दिवसका आवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा.डा. उषा ठाकुर विशिष्ट अतिथि रहनु भएको थियो । दुतावासले आयोजना गरेको यस पटकको विश्व हिन्दी दिवसमा विशेष रुपमा हाँस्य कवि सम्मेलन प्राथमिकतामा रहेको थियो । सम्मेलनमा भारतबाट आउनु भएका प्रख्यात तीन कवि सुदीप भोला, विनित पाण्डे, अभिषेक त्रिपाठीले कविता वाचन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा काठमाण्डौ विश्व विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरेका थिए । उनीहरु सबैलाई आयोजकका तर्फबाट पुरस्कृत गरिएको थियो । हिन्दी मासिक पत्रिका ‘द पब्लिक’का सम्पादक विणा सिन्हाद्वारा लिखित लघु कथा संग्रह सुनसान गल्लीहरु, द पब्लिक पत्रिका र नेपालका हिन्दी साहित्यकार कविता झाको कविता संग्रहको पनि सो अवसरमा विमोचन गरिएको थियो । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाण्डौका विद्यार्थीहरुले सुमधुर गीत प्रस्तुत गरेका थिए । प्रमुख अतिथि राम दयाल राकेशले आफ्नो छोटो मन्तव्यमा भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको सदियौँदेखि अहम् भूमिका रहेको टिप्पणी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया